कांग्रेस उपसभापतिमा मिनेन्द्र रिजालको उम्मेदवारी
काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा डा. मिनेन्द्र रिजालले उपसभापति पदमा उम्मेदवारी दिने भएका छन्। उनले पार्टीभित्रका फरक विचार, समूह र पुस्तालाई समेटेर कांग्रेसलाई अघि बढाउन आफूले भूमिका खेल्न चाहेको बताएका छन्।
रिजालले महाधिवेशन प्रतिनिधिहरूलाई आफ्नो उम्मेदवारीलाई सहयोग गर्न आग्रह गर्दै पार्टीलाई एकताबद्ध बनाउने जिम्मेवारी लिन तयार रहेको बताएका छन्। उनका अनुसार कांग्रेसले अब अनुभव र नयाँ पुस्ताको ऊर्जालाई सँगसँगै लिएर अघि बढ्नुपर्ने आवश्यकता छ।
‘अनुभव पनि चाहिन्छ, नयाँ पुस्ताको आवाज पनि बोक्नुछ’ भन्दै उनले पार्टीभित्र पुस्ताबीचको समन्वय आवश्यक रहेको उल्लेख गरेका छन्।
उनले कांग्रेसलाई अनुभवी मार्गदर्शनसँगै सक्रिय र गतिशील संगठनका रूपमा अघि बढाउने विषयमा महाधिवेशनमा गम्भीर बहस हुनुपर्ने बताए। ‘कांग्रेसलाई परिपक्व मार्गदर्शन र वायुपंखी संगठनका लागि के गर्नुपर्ला ? १५औँ महाधिवेशनमा जमेर बहस गरौँ’, उनको भनाइ छ।
रिजालले उपसभापतिमा उम्मेदवारी दिने निर्णय गरिसकेको जानकारी दिँदै महाधिवेशन प्रतिनिधिबाट सल्लाह, सुझाव र सहयोगको अपेक्षा गरेका छन्। पार्टीभित्र रहेका विभिन्न धार र पुस्तालाई जोड्ने भूमिकामा आफूलाई अघि सार्दै उनले कांग्रेसलाई थप एकताबद्ध बनाउनुपर्नेमा जोड दिएका छन्।
राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मामिलामा लामो अनुभव भएका रिजालको उम्मेदवारीसँगै कांग्रेसमा नयाँ पुस्ताको नेतृत्व र अनुभवी पुस्ताको भूमिकाबीच सन्तुलन कसरी कायम गर्ने भन्ने बहस पनि थप पेचिलो बनेको छ।
कांग्रेसको नयाँ नेतृत्वमा युवा पुस्तालाई अघि बढाउँदै अनुभवी नेताको राजनीतिक ज्ञान र मार्गदर्शनलाई पनि उपयोग गर्नुपर्ने धारणा पार्टीभित्र उठिरहेको छ। यही सन्दर्भमा रिजाललाई उपसभापतिका रूपमा अघि बढाउन सभापति गगन थापा र महामन्त्री विश्वप्रकाश शर्मासमक्ष समेत केही नेताले सुझाव र दबाब दिइरहेका छन्।
रिजालको उम्मेदवारीले कांग्रेस महाधिवेशनमा पुस्तान्तरण, संगठन पुनर्संरचना र आन्तरिक एकताको मुद्दालाई थप चर्चामा ल्याउने देखिएको छ। नयाँ नेतृत्वसँग अनुभवी पुस्ताको सहकार्यबाट पार्टीलाई अघि बढाउने चुनौती कांग्रेससामु छ।
