बाढीले क्षतिग्रस्त कोल्पुखोला पुल[तस्वीरहरू]
काठमाडौं । गत भदौ १० गते भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको बाढीले धादिङ र नुवाकोटको सीमामा रहेको कोल्पुखोला पुलमा ठूलो क्षति पुर्यायो।
गल्छी–त्रिशूली–मैलुङ सडकखण्डअन्तर्गत पर्ने यो पुल धादिङ, नुवाकोट हुँदै रसुवा जोड्ने महत्वपूर्ण सडकमा पर्छ।
कोल्पुखोलामा पुरानो र नयाँ गरी दुईवटा पक्की पुल छन्। बाढीको तीव्र बहावले पुरानो पुल ढल्किएको छ भने नयाँ पुलको जिप र ढलानसमेत छुट्टिएको छ। पुलको पिलरमाथि दुवैतर्फ रहने जिपले पुलको मुख्य संरचनालाई दायाँबायाँ सर्न वा खस्नबाट जोगाउने काम गर्छ।
पुलमा क्षति पुगेपछि पनि स्थानीयवासी जोखिम मोलेर यही बाटोबाट आवतजावत गरिरहेका छन्। बाढी प्रभावित क्षेत्रमा खाद्यान्न, राहत सामग्री र औषधि पुर्याउने सवारीसाधनसमेत यही सडक प्रयोग गर्नुपर्ने अवस्था छ।
बाढी गएको एक महिना बितिसक्दा पनि पुलको मर्मत तथा सम्भारको काम जारी छ। क्षतिग्रस्त संरचनाबाटै आवतजावत गर्नुपर्दा स्थानीय तथा बाढी प्रभावित क्षेत्रमा जाने यात्रु जोखिममा छन्।








