‘बालेन सरकार ! हाम्रो पीडा बुझिदेऊ’
कालिकोट । सुर्खेतदेखि जुम्लासम्म ट्रयाक जोडिएको दुई दशक भइसक्दा पनि कर्णाली राजमार्गको यात्रा सहज छैन । साँघुरो, भिरालो बाटोमा जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यता कर्णालीबासीले वर्षौंदेखि झेलिरहेका छन् । त्यसमाथि राजमार्गमा खसिरहने पहिरोले झनै जोखिमको अवस्था छ ।
राजमार्गको गगने खोला क्षेत्र पहिरोग्रस्त ठाउँकै रूपमा परिचित छ । कालिकोटको शुभकालिका गाउँपालिका–१ मा पर्ने यो भीरमा सामान्य वर्षामै लेदोसहितको पहिरो खस्छ । कहिले ग्याबिन जाली हाल्ने कहिले पानीको निकास बनाउने काम पनि भयो । तर, कुनै उपाय काम लागेन । पहिरोको समस्या समाधान गर्न सडक डिभिजन जुम्लाले दुई वर्षअघि तीन करोड रूपैयाँ लगानीमा ग्याबिन जाली लगाएको थियो । पहिरो थेग्न नसक्दा त्यो जाली पनि बगायो ।
वर्षा सुरू हुनेबित्तिकै पहिरो खस्ने र सडक अवरुद्ध हुने समस्या वर्षौंदेखि दोहोरिँदै आएपनि यसको स्थायी समाधान हुन सकेको छैन । पछिल्लोपटक असोज ९ देखि ११ गतेसम्मको वर्षाले तीन दिन पहिरोले गगने खोलामा आवागमन ठप्प भएको थियो ।
गाउँपालिका अध्यक्ष भन्छन् : बालेन सरकार ! हाम्रो पीडा बुझिदेऊ
गगने खोलाको पहिरोले शुभकालिकाका जनप्रतिनिधि पनि आजित छन् । पानी परेपछि जनप्रतिनिधि र सुरक्षाकर्मी गगने खोलामा खटिन्छन् ।
आफ्नो आर्थिक सामथ्र्यले भ्याउने अवस्था नभएपछि उनीहरूले प्रदेश, संघ सरकारलाई समस्या नसुनाएका होइनन् । तर, पटकपटक माथिल्लो सरकारलाई ध्यानाकर्षण गराउँदा पनि कुनै समाधान निस्किएको छैन ।
पहिरोग्रस्त गगने खोला क्षेत्र पर्ने शुभकालिका गाउँपालिका अध्यक्ष गोविन्दप्रसाद आचार्य आफूहरू एक्लैले लगानी गरेर गगने खोला पहिरोको समस्या समाधान गर्न नसक्ने बताउँछन् ।
करोडौँको स्याउ, जडीबुटी बाटोमै कुहिने, रारा हिँडेका स्वदेशी–विदेशी पर्यटक, चालक र कर्णालीबासी पानी परेपछि बीच बाटोमै अड्किनुपर्ने समस्या रहेको उनको भनाइ छ । ‘करोडौँको स्याउ, जडीबुटी त्यहीँ सड्छ । स्याउका गाडी ५/७ दिनसम्म त्यहीँ रहन्छ भने के हुन्छ ? अर्गानिक स्याउ कुहिएर जान्छ । उपभोग गर्नेलाई असर पर्छ,’ उनले भने । पहिरो खस्ने ठाउँमाथि १९ घरपरिवार विस्थापित भइसकेको उनले बताए । त्यसैले शुभकालिका–१ लाई विपद्ग्रस्त क्षेत्र नै घोषणा गरिएको अध्यक्ष आचार्यले बताए ।
२०४९/५० सालतिर नै सर्खुेत र जुम्लालाई जोड्ने गरी ट्रयाक निर्माण थालिएको थियो । कडा चट्टानी पहाड फोर्दे २०६३ सालको अन्तिममा जुम्लासम्म यो ट्रयाक जोडिएको थियो ।







