`

अनलाइनबाट विद्युत् महसुल तिर्ने घरेलु ग्राहकलाई थप ०.५० प्रतिशत ‘स्मार्ट पे रिवार्ड’

Nepal One HD २२ असोज २०८३ १९:३९
अर्थ समाचार

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विद्युत् महसुलको डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्दै सेवा ग्राहकको घरसम्म पुर्‍याउने व्यवस्था विकास गर्नुपर्नेमा जोड दिएका छन्।

मन्त्री श्रेष्ठको पहलपछि नेपाल विद्युत् प्राधिकरणले अनलाइनबाट महसुल तिर्ने घरेलु ग्राहकलाई थप ०.५० प्रतिशत ‘स्मार्ट पे रिवार्ड’ दिने निर्णय गरेको छ। यो सुविधा पहिलो चरणमा ६ महिनासम्म लागू हुनेछ।

मिटर रिडिङ भएको सात दिनभित्र महसुल तिर्दा पाइँदै आएको २ प्रतिशत छुट यथावत् रहनेछ। त्यसबाहेक अनलाइन माध्यमबाट जुनसुकै समयमा महसुल भुक्तानी गर्ने घरेलु ग्राहकले थप ०.५० प्रतिशत रिवार्ड पाउनेछन्।

प्राधिकरणका अनुसार हाल करिब ५९ लाख २७ हजार ग्राहक छन्। तीमध्ये मासिक औसत करिब १७ लाख ग्राहक अनलाइन भुक्तानी प्रणालीमा आबद्ध छन्। कुल ग्राहकमा घरेलु ग्राहकको हिस्सा करिब ९१ प्रतिशत छ।

प्राधिकरणले देशभर ६५५ वटा महसुल संकलन काउन्टर सञ्चालन गर्दै आएको छ, जहाँ ९३२ कर्मचारी कार्यरत छन्। काउन्टर सञ्चालन र सम्बन्धित काममा वार्षिक करिब ५९ करोड ७९ लाख रुपैयाँ खर्च हुँदै आएको छ।

डिजिटल भुक्तानी बढाएर काउन्टरको संख्या घटाउन सके वार्षिक करिब २६ करोड रुपैयाँ खर्च बचत गर्न सकिने प्राधिकरणको अध्ययनले देखाएको छ। त्यसैले ग्राहकको समय र खर्च बचतसँगै प्राधिकरणको प्रशासनिक खर्च घटाउन डिजिटल भुक्तानीलाई प्राथमिकता दिइएको हो।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *