कांग्रेस बदल्न संस्कार र कार्यशैलीमा परिवर्तन आवश्यक छ – गगन थापा
काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नयाँ बनाउन संस्कार, सोच्ने तरिका, संगठन सञ्चालन, निर्णय प्रक्रिया र जवाफदेहितामा परिवर्तन आवश्यक रहेको बताएका छन् ।
शनिबार सानेपास्थित कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा बोल्दै थापाले आफ्नो विजय व्यक्तिगत नभई पार्टी परिवर्तनप्रतिको विश्वास भएको बताए । उनले चमत्कार गर्ने वाचा नगरे पनि इमानदार प्रयास गर्ने र कठिन प्रश्न तथा कठोर निर्णयबाट नभाग्ने प्रतिबद्धता व्यक्त गरे ।
थापाले महाधिवेशनबाट नेतृत्व परिवर्तन हुँदैमा पार्टी स्वतः परिवर्तन नहुने उल्लेख गर्दै कांग्रेसलाई नागरिकसँग पुनः जोड्न काम गर्ने शैली नै बदल्नुपर्ने बताए । उनले महाधिवेशनमा भएको प्रतिस्पर्धा समाप्त भएकाले अब सबै नेता–कार्यकर्ता एकताबद्ध भएर अघि बढ्नुपर्नेमा जोड दिए ।
सभापतिका प्रतिस्पर्धी श्यामकृष्ण खड्गीप्रति आभार व्यक्त गर्दै उनले निर्वाचनमा पराजित भएका नेताहरूको भूमिका पनि महत्वपूर्ण हुने बताए । महाधिवेशन प्रक्रियामा सहभागी नभएका नेताहरूलाई समेत पार्टीको मूलधारमा जोडेर अघि बढ्ने उनको प्रतिबद्धता थियो ।
थापाले कांग्रेस र नागरिकबीच टुटेको विश्वास पुनः स्थापित गर्न सबैलाई साथमा लिएर अघि बढ्ने बताए ।
