`

चाडपर्वमा चोरी हुन सक्ने भन्दै सजग रहन पर्सा प्रहरीको अनुरोध

Nepal One HD २५ असोज २०८३ २१:३२
समाचार

पर्सा। जिल्ला प्रहरी कार्यालय पर्साले चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती र लुटपाट जस्ता आपराधिक क्रियाकलापबाट बच्न तथा आफ्नो धनमाल सुरक्षित राख्ने सन्दर्भमा आवश्यक सावधानी अपनाउन जिल्लाबासीलाई अनुरोध गरेको छ।

कार्यालयले आज विजयादशमीको शुभकामना व्यक्त गर्दै चाडपर्वको समयमा हुन सक्ने चोरी, डकैती र लुटपाट जस्ता आपराधिक क्रियाकलापबाट बच्न तथा आफ्नो धनमाल सुरक्षित राख्नका लागि आवश्यक सावधानी अपनाउनुहुन सबैमा अनुरोध गरेको हो।

प्रहरीले चाडपर्वमा आफन्तकोमा वा बजार जाँदा घरका झ्याल ढोकाहरू सुरक्षित रूपमा बन्द गरौँ, छिमेकी वा स्थानीय प्रहरीलाई आफ्नो अनुपस्थितिको जानकारी दिन र सुनचाँदीका गहना, महँगा इलेक्ट्रोनिक्स सामान र धेरै नगद रुपैयाँ घरमा अलपत्र नछोडौँ, सुरक्षित लकर वा बैंकमा राख्ने व्यवस्था मिलाउनसमेत अपिल गरेको छ।

प्रहरीले भनेको छ, “आफ्नो छरछिमेकमा कोही अपरिचित वा शङ्कास्पद व्यक्तिहरू बिना काम डुलिरहेका देखेमा वा असामान्य गतिविधि पाएमा तुरुन्तै एक-अर्कालाई खबर गरौँ र सम्भव भएसम्म घर, पसल वा व्यावसायिक प्रतिष्ठानमा सिसीटिभी क्यामेरा र सुरक्षित आधुनिक लक प्रणाली जडान गरी चोरीको जोखिम कम गरौँ।”

कार्यालयका प्रहरी नायब उपरीक्षक तथा प्रवक्ता चक्रबहादुर मल्लले यात्रा गर्दा वा सार्वजनिकस्थलमा अपरिचित व्यक्तिले दिएको खानेकुरा वा पेयपदार्थ नखान र नशालु पदार्थ मिसाएर लुटपाट हुन सक्ने हुनाले सधैँ सजग रहन सबैमा अनुरोध गरेका छन्।

प्रहरीले ओसारपसार र बिक्री वितरण पूर्णरूपमा प्रतिबन्धित भयकले, यस्ता कार्यमा संलग्न नबन्न, आफ्नो मोटरसाइकल वा गाडी जथाभाबी नमिलाइ पार्किङ नगरौँ, सुरक्षित पार्किङस्थलमा ह्विल लक वा थप सुरक्षा प्रविधि प्रयोग गरेर मात्र राख्न आग्रह गरेको छ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *