बाढीप्रभावित लाङटाङका सबै परिवारलाई हेलिकप्टरमार्फत खाद्यान्न वितरण
रसुवा। गत भदौ १० गतेको विनाशकारी बाढीबाट सडक र पैदलमार्ग अवरुद्ध भएपछि सङ्कटमा परेका रसुवाको लाङटाङ क्षेत्रका सबै घरधुरीका लागि हेलिकप्टरमार्फत खाद्यान्न ढुवानी गरी वितरण गरिएको छ ।
जिल्लाको गोसाइँकुण्ड गाउँपालिका-४ मा पर्ने प्रमुख पर्यटकीय तथा दुर्गम हिमाली बस्ती लाङटाङका हरेक परिवारलाई खाद्यान्न सङ्कट हुन नदिन पालिका र सरोकार भएका निकायको सक्रियतामा राहत पुर्याइएको हो। बाढीले स्थानीयवासीको मुख्य व्यापारिक केन्द्र स्याफ्रु बजारमा पूर्ण क्षति पुर्याउनुका साथै सडक र पुलसमेत बगाएपछि ढुवानीको एकमात्र विकल्प हेलिकप्टर बनेको थियो।
गोसाइँकुण्ड गाउँपालिका-४ का वडाध्यक्ष डिन्ढुप तामाङका अनुसार विश्व खाद्य कार्यक्रम (डब्लूएफपी) को हेलिकप्टरमार्फत हालसम्म १० टन खाद्यान्न लाङटाङ पुर्याएर स्थानीय सबै घरधुरीलाई आवश्यकता अनुसार न्यायोचित रूपमा वितरण गरिसकिएको छ।
सदरमुकाम धुन्चेबाट दुई दिनको पैदल दूरीमा रहेको यस क्षेत्रका सबै बासिन्दाले गाउँमै खाद्यान्न पाएपछि ढुक्क भएका छन्। सडक सञ्जाल पुनः सञ्चालन नहुँदासम्मका लागि यो ढुवानीले लाङटाङका सम्पूर्ण परिवारको दैनिक जीविकोपार्जनमा ठूलो राहत मिलेको वडा कार्यालयले जनाएको छ।
