`

भोटेकोशी बाढीपछिको उद्धार र पुनःस्थापना उत्कृष्ट समन्वयको नमुना : नेपाली सेना

Nepal One HD १ कार्तिक २०८३ १८:४५
प्रमुख खबर

काठमाडौँ । नेपाली सेनाले भोटेकोशी बाढीपछि विपद्का घटनामा गरिएको खोज, उद्धार तथा पुनःस्थापनालाई समन्वय, सहकार्य र आपसी सहयोगको उत्कृष्ट संयोजनको संज्ञा दिएको छ । बाढीपहिरो प्रभावित क्षेत्रमा सडक र पुल भत्किएर आवागमन ठप्प भएको बेला बदलिँदो परिस्थितिअनुसार प्रविधिको उपयोग गर्दै विपद् प्रतिकार्यलाई प्रभावकारी बनाउन सेनाले देखाएको तत्परता र व्यावसायिक क्षमतालाई प्रतिबिम्बित गरेको स्पष्ट पारेको छ ।

सैनिक प्रवक्ता राजाराम बस्नेतका अनुसार प्रतिकूल मौसम, दुर्गम भूगोल र चुनौतीपूर्ण परिस्थितिका बाबजुद कठिन घडीमा नागरिकको जीवन रक्षालाई उच्च प्राथमिकतामा राखेर गरिएको खोज, उद्धार, राहत र स्थानान्तरणमा सुरक्षा फौज समन्वयका साथ सक्रिय रूपमा परिचालित थियो । जोखिमपूर्ण परिस्थितिमा परिचालित सैनिकहरूको साहस, कर्तव्यनिष्ठा, व्यावसायिक दक्षता र सेवाभावले जनताको सुरक्षा तथा कल्याणप्रतिको प्रतिबद्धतालाई व्यवहारमै अभिव्यक्त गरेको सेनाले जनाएको छ ।

भदौ १० गते भोटेकोशीको भीषण बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार तथा पुनःस्थापनाको कार्य जारी रहेकै अवस्थामा असोजमा भएको अविरल वर्षाले बागलुङ, पर्वत, म्याग्दी, मनाङ र मुस्ताङलगायत जिल्लामा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । विपद्को कठिन घडीमा नेपाली सेनाले स्थल तथा हवाई साधन, स्वास्थ्यकर्मी र इन्जिनियरिङ फौजसहित हजारौँ सैनिकलाई चौबिसै घण्टा परिचालन गरी विपद् प्रतिकार्यलाई तीव्र बनाएको थियो । जोखिमपूर्ण स्थानमा रहेका १२७ जनालाई हवाई साधनमार्फत सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै सडक अवरुद्ध भएका स्थानमा उद्धार मेसिनमा इन्धन आपूर्ति गर्न ड्रोनको समेत प्रयोग गरिएको थियो ।

यसैक्रममा मनाङको चामेस्थित मस्र्याङ्दी नदीको बहाव पूर्ववत् सञ्चालनमा ल्याउन, अस्थायी पुल निर्माण गरी माथिल्लो मनाङसँगको आवागमन सुचारु गराउन र नार्फाभूमिस्थित हिम्लुङ हिमालमा हिमपहिरोमा परी मृत्यु भएका पर्यटकहरूको शव उद्धार गर्न सेना सक्रिय रह्यो । असोज २५ गते बुढीगण्डकी नदीमा आएको बाढीपछि एमआई–१७ सहित चारवटा हेलिकप्टर तथा स्थलमार्गबाट विदेशीसहित एक हजार १०६ जनाको उद्धार गरिएको थियो ।

प्रभावित क्षेत्रमा करिब १८ हजार ६८० किलोग्राम खाद्यान्न ढुवानी गर्नुका साथै आरुघाटस्थित क्षतिग्रस्त पुलको स्थानमा बेलिब्रिज जडानको तयारी अघि बढाइएको छ । यसअघि भोटेकोशी बाढीबाट क्षति पुगेको सडक सुचारु गर्न देविघाटस्थित तादी खोला र बेत्रावतीस्थित फलाकु खोलामा एक्रोब्रिज जडान गरी रसुवालाई सडक सञ्जालसँग जोड्ने कार्य गरिएको थियो ।

नेपाल सरकारको निर्देशनमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, स्थानीय प्रशासन र समुदायबीच स्थापित समन्वयले विपद् व्यवस्थापनलाई थप प्रभावकारी बनाएको छ । भौगोलिक अवस्था, सीमित एयर स्पेस र थुनिएका टनेलजस्ता चुनौतीपूर्ण अवस्थामा पनि त्रुटीरहित ढङ्गबाट उद्धार कार्य सम्पन्न गर्न सफल भएको भन्दै सेनाले जस्तोसुकै परिस्थितिमा पनि नागरिकको सेवा र सुरक्षाका लागि प्रतिबद्ध रहेको जनाएको छ ।


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *