मुक्तिनाथदेखि त्रिवेणीधामसम्म रथयात्रा, २३ दिनमा मेची-महाकाली परिक्रमा
काठमाडौँ । वैदिक सनातन धर्मको संरक्षण, आध्यात्मिक चेतनाको विस्तार तथा राष्ट्रिय धार्मिक र सांस्कृतिक एकताको सन्देश फैलाउने उद्देश्यले मेची-महाकाली राष्ट्रव्यापी श्रीमुक्तिनाथ रथयात्रा-२०८३ सञ्चालन हुने भएको छ। कात्तिक ८ गते मुक्तिनाथबाट सुरु हुने रथयात्रा कात्तिक ३० गते नवलपरासीको त्रिवेणीधाममा पुगेर समापन हुनेछ।
मुक्तिनाथपीठाधीश्वर स्वामी कमलनयनाचार्य श्रीजी महाराज (मुक्तिनाथ बाबा)को सत्सङ्कल्पअनुसार आयोजना हुने रथयात्राले पूर्वदेखि पश्चिमसम्मका प्रमुख धार्मिकस्थल, मठमन्दिर, आश्रम र तीर्थधामलाई जोड्नेछ।
रथयात्रामार्फत मुक्तिनाथ, पवित्र कालीगण्डकी र मुक्तिक्षेत्रको धार्मिक महिमा देशविदेशसम्म फैलाउने लक्ष्य राखिएको छ। यसले धार्मिक पर्यटन प्रवर्द्धन, तीर्थस्थलबीचको सम्बन्ध विस्तार, सनातन संस्कृतिको संरक्षण र आध्यात्मिक जागरणमा योगदान पुर्याउने अपेक्षा गरिएको छ। साथै, विविधतायुक्त नेपाली समाजमा राष्ट्रिय एकता र सहकार्यको भावना बलियो बनाउने लक्ष्य पनि राखिएको छ।
निर्धारित कार्यक्रमअनुसार कात्तिक ८ गते मुक्तिनाथबाट जोमसोम र गलेश्वर हुँदै बेनीको कुन्डुलेफेदीमा रात्रि विश्राम गरिनेछ। कात्तिक ९ गते पञ्चकोट, बागलुङ, मालढुङ्गा, कुश्मा र नौडाँडा हुँदै पोखरा नगर परिक्रमा गरी रामघाटस्थित श्रीमुक्तिनाथ सनातन सेवाश्रममा विश्राम हुनेछ।
कात्तिक १० गते पोखराबाट दमौली, डुम्रे, मुग्लिन, धादिङ र थानकोट हुँदै काठमाडौँ पुग्ने रथयात्रा गोल्फुटारस्थित श्रीमुक्तिनाथ बाबा सेवाश्रममा विश्राम गर्नेछ। कात्तिक ११ गते काठमाडौँ नगर परिक्रमा गरी भक्तपुरस्थित श्रीपञ्चमहालक्ष्मी मन्दिर र श्रीवनधाममा रात्रि विश्राम गरिनेछ।
कात्तिक १२ गते भक्तपुरबाट साँगा, बनेपा, धुलिखेल र खुर्कोट हुँदै सिन्धुली पुग्ने रथयात्रा कात्तिक १३ गते भीमान, कटारी, गाईघाट र बराहक्षेत्र हुँदै चतराधामस्थित श्रीमुक्तिनाथ मन्दिर पुग्नेछ।
कात्तिक १४ गते चतराबाट धरान, इटहरी, विराटचोक, बेलबारी, लेटाङ, पथरी, उर्लाबारी र दमक हुँदै झापाको गौशालामा विश्राम गरिनेछ। कात्तिक १५ गते बिर्तामोड, अर्जुनधारा, बुधबारे, चारआली, भद्रपुर र काँकडभिट्टा हुँदै माइधारस्थित श्रीयोगीराज कमलनयनाचार्य आश्रममा रात्रि विश्राम हुनेछ।
त्यस्तै, कात्तिक १६ गते माइधारबाट रङ्गेली हुँदै विराटनगर नगर परिक्रमा गरी पाञ्चालीस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा विश्राम गरिनेछ। कात्तिक १७ गते विराटनगर, दुहबी, इटहरी र लहान हुँदै जनकपुरधाम पुग्ने रथयात्राले कात्तिक १८ गते जनकपुरधाम परिक्रमा गरी ढल्केवर, बर्दिवास, हरिवन, चन्द्रनिगाहपुर, निजगढ र पथलैया हुँदै सिमरामा रात्रि विश्राम गर्नेछ।
कात्तिक १९ गते सिमराबाट पथलैया र अमलेखगञ्ज हुँदै हेटौँडा नगर परिक्रमा गरी चिसापानीस्थित श्रीकस्तुरी रङ्गनाथ मन्दिरमा विश्राम हुनेछ। कात्तिक २० गते मनहरी, वसन्तपुर, भण्डारा र टाँडी हुँदै भरतपुर महानगरपालिका परिक्रमा गरी लङ्कुमा रात्रि विश्राम गरिनेछ।
कात्तिक २१ गते नारायणगढ, गैँडाकोट, रजहर, दलदले, कावासोती, चोरमारा, दुम्कीवास र बर्दघाट हुँदै श्रीलक्षेश्वर शिवालयमा विश्राम गरिनेछ। कात्तिक २२ गते बर्दघाट, भूमही, सुनवल र बुटवल हुँदै रुपन्देहीको रेसेन्डुपुरस्थित श्रीबालहंस साङ्वेद स्वर्गद्वारी आश्रम पुग्ने कार्यक्रम छ।
कात्तिक २३ गते खरेन्द्रपुर, चन्द्रौटा, लमही र कोहलपुर हुँदै नेपालगञ्ज पुगेर रथयात्रा विश्राम गर्नेछ। कात्तिक २४ गते नेपालगञ्जबाट टीकापुर हुँदै लम्कीचुहा क्षेत्रमा र कात्तिक २५ गते पुनर्वास हुँदै महेन्द्रनगरस्थित श्रीराधाकृष्ण मन्दिरमा रात्रि विश्राम हुनेछ।
कात्तिक २६ गते महेन्द्रनगरबाट भलारी र अत्तरिया हुँदै धनगढीस्थित श्रीलक्ष्मीनारायण मन्दिर पुग्ने रथयात्रा कात्तिक २७ गते हसुलिया, राजापुर र गुलरिया हुँदै कोहलपुरस्थित श्रीरामजानकी मन्दिर पुग्नेछ।
कात्तिक २८ गते कोहलपुरबाट सुर्खेत हुँदै तुलसीपुरस्थित श्रीलक्ष्मीनारायण मन्दिरमा विश्राम गरिनेछ। कात्तिक २९ गते तुलसीपुर, घोराही, लमही, गोरुसिङ्गे र तौलिहवा हुँदै भैरहवा पुग्ने कार्यक्रम छ। अन्तिम दिन कात्तिक ३० गते भैरहवा नगर परिक्रमा गरी परासी हुँदै त्रिवेणीधामस्थित श्रीगजेन्द्रमोक्ष दिव्यधाममा रथयात्रा समापन हुनेछ।
रथयात्रा समापनपछि त्रिवेणीधाममा मङ्सिर १ गतेदेखि २९ गतेसम्म ‘श्रीगजेन्द्रमोक्ष नारायण वैभव विराट महायज्ञ-२०८३’ आयोजना हुनेछ।
साथै, धार्मिक आस्था, सांस्कृतिक परम्परा र राष्ट्रिय एकताको सन्देश बोकेको रथयात्राले देशभरका धार्मिकस्थलबीच सम्बन्ध विस्तार गर्नुका साथै धार्मिक पर्यटन प्रवर्द्धनमा योगदान पुर्याउने अपेक्षा गरिएको छ।
