चुनावअघि नेतान्याहुलाई ट्रम्पको समर्थन
काठमाडाैँ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अक्टोबर २७ मा हुने इजरायलको संसदीय चुनावअघि प्रधानमन्त्री बेन्जामिन नेतान्याहुलाई समर्थन गरेका छन्। उनको समर्थनले कडा चुनावी प्रतिस्पर्धामा नेतान्याहुको पुनःनिर्वाचन प्रयासलाई बल पुग्ने अपेक्षा गरिएको छ ।
ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा नेतान्याहुलाई बलियो, साहसी र प्रतिभाशाली नेता भन्दै उनको पुनःनिर्वाचन अभियानलाई पूर्ण समर्थन गर्ने घोषणा गरेका छन् । नेतान्याहुले पनि ट्रम्पलाई धन्यवाद दिँदै इरानको खतरा हटाउन आगामी दुई वर्षभित्र वा त्योभन्दा अगाडि नै मिलेर काम गर्ने बताए।
इरानमाथि अमेरिका र इजरायलले फेब्रुअरीको अन्त्यमा आक्रमण गर्दा ट्रम्पले नेतान्याहुलाई साथ दिएका थिए। तर, युद्धको विरोध र तेलको मूल्यवृद्धिबिच उनी अप्रिलमा युद्धविराम गर्न सहमत भएका थिए। इरानसँग कूटनीतिक सम्झौता सम्भव नभएको नेतान्याहुको भनाइ र ट्रम्पको वार्तामार्फत द्वन्द्व अन्त्य गर्ने प्रयासबिच मतभेदसमेत देखिएको थियो। इरानी विदेशमन्त्री अब्बास अराघचीले नेतान्याहुले अमेरिकालाई अर्को युद्धमा धकेल्न खोजेको आरोप लगाए।
सन् २०२३ अक्टोबर ७ मा हमासले गरेको आक्रमणपछि इजरायलमा हुन लागेको पहिलो चुनावमा नेतान्याहुले त्यसको जिम्मेवारी लिनुपर्ने विपक्षीहरूको माग छ । उनका प्रमुख प्रतिस्पर्धी गदी आइसेनकोटले इजरायलको नेता छान्ने अधिकार त्यहाँका नागरिकमा मात्रै रहेको बताए।
करिब ७० लाख मतदाता सहभागी हुने चुनावमा कुनै पनि पक्षले १२० सदस्यीय संसद्मा सरकार गठनका लागि आवश्यक ६१ सिट जित्ने स्पष्ट सङ्केत नदेखिएको सर्वेक्षणहरूले जनाएका छन् । यसैबिच कब्जा गरिएको वेस्ट ब्याङ्कमा इजरायली बासिन्दाको आक्रमणमा अमेरिकी फोटो पत्रकार घाइते भएपछि विदेशमन्त्री मार्को रुबियोले त्यहाँको अवस्थाप्रति चिन्ता व्यक्त गरेका छन्।
इजरायलको सबैभन्दा लामो समय प्रधानमन्त्री बनेका नेतान्याहु सन् २०२२ डिसेम्बरमा पुनः सत्तामा फर्किएका थिए । न्यायपालिकाको अधिकार सीमित गर्ने प्रयास र भ्रष्टाचारसम्बन्धी आरोपका कारण उनी विवादमा पर्दै आएका छन्। चुनावअघि ट्रम्पले नेतान्याहुबाहेक अरूलाई निर्वाचित नगर्न मतदातालाई आग्रह गर्दै उहाँका प्रतिस्पर्धी विजयी भए अमेरिकाले इजरायलका लागि आवश्यक काम आफैँ गर्नुपर्ने बताएका छन्।
