महानवमीमा भद्रकालीमा सवारीसाधन पूज्नेको घुइँचो
काठमाडौं । बडादसैँको महानवमीका अवसरमा काठमाडौंस्थित भद्रकाली मन्दिर परिसरमा सवारीसाधन पूजा गर्नेहरूको घुइँचो लागेको छ। बिहानैदेखि चालक तथा सवारीधनीहरू मोटरसाइकल, कार, ट्याक्सी र बसलगायतका सवारीसाधन लिएर पूजाआराधनाका लागि मन्दिर पुगेका छन्।
मन्दिर परिसरमा सवारीसाधनमा टीका लगाउने, फूल चढाउने, पूजा गर्ने र प्रसाद ग्रहण गर्नेहरूको चहलपहल देखिएको छ। महानवमीका दिन सवारीसाधनसँगै निर्माण, उद्योग, कलकारखाना तथा प्रविधिमा प्रयोग हुने औजार र मेसिनरी उपकरणको पूजा गर्ने परम्पराअनुसार भक्तजनहरू बिहानैदेखि पूजामा जुटेका हुन्।
त्यस्तै,हिन्दू धार्मिक मान्यताअनुसार महानवमीमा सवारीसाधन तथा काममा प्रयोग हुने औजारको पूजा गर्दा काममा सफलता मिल्ने, दुर्घटनाबाट सुरक्षा प्राप्त हुने र पेसा-व्यवसायमा प्रगति हुने विश्वास गरिन्छ। यही विश्वासका आधारमा यातायात व्यवसायी, चालक, मिस्त्री, प्राविधिक तथा विभिन्न पेसामा आबद्ध व्यक्तिहरूले आफ्ना सवारीसाधन र औजारको पूजा गर्ने गर्छन्।
सवारीसाधन पूजा गर्न आउने भक्तजनको संख्या बढेसँगै भद्रकाली मन्दिर आसपासका क्षेत्रमा बिहानैदेखि सवारी चापसमेत बढेको छ। साथै, महानवमीमा शक्तिस्वरूपा दुर्गा भवानीको आराधनासँगै सवारीसाधन र औजारको पूजा गर्ने परम्पराले मन्दिर परिसरमा दसैँको धार्मिक र सांस्कृतिक रौनक थपिएको छ।
