`

महानवमीमा बुढासुब्बा मन्दिरमा भक्तजनको भीड

Nepal One HD ४ कार्तिक २०८३ १२:५३
अध्यात्म
काठमाडौं । बडादसैँको महानवमीका अवसरमा सुनसरीको धरानस्थित बुढासुब्बा मन्दिरमा भक्तजनको चहलपहल बढेको छ। धरान उपमहानगरपालिका-१४ विजयपुरमा रहेको मन्दिरमा विशेष पूजाआराधना र भाले चढाउने परम्पराका कारण बिहानैदेखि दर्शनार्थीको आवागमन बाक्लिएको हो।

बुढासुब्बा मन्दिरमा भाकल गर्ने र मनोकामना पूरा भएपछि कुखुराको भाले चढाउने चलन छ। मन्दिरका पुजारी डम्बर आलेमगरका अनुसार भक्तजनले सुख, शान्ति, समृद्धि र पारिवारिक कल्याणको कामना गर्दै पूजाआजा गर्छन्। मनोकामना पूरा हुने विश्वासका साथ आउने भक्तजनले आफ्नो परम्पराअनुसार भेटी तथा पूजाका सामग्री चढाउने गरेका छन्।

धरान र आसपासका क्षेत्रका बासिन्दाको प्रमुख आस्थास्थलमध्ये एक रहेको यस मन्दिरमा पूर्वी नेपालका विभिन्न जिल्लासँगै भारतको सिक्किम, दार्जिलिङ र भुटानबाट समेत दर्शनार्थी आउने गरेका छन्। विशेषगरी दसैँका बेला मन्दिरमा भक्तजनको सङ्ख्या बढ्ने गर्छ। दर्शनार्थीको चहलपहल बढेसँगै मन्दिर परिसरमा व्यापार व्यवसायसमेत फस्टाउने गरेको छ।

त्यस्तै, बुढासुब्बा मन्दिर पूजाआजा र भाले चढाउने परम्परासँगै बाँसमा नाम लेख्ने चलनका कारण पनि चर्चित छ। प्रेम अमर हुने जनविश्वासका साथ प्रेमीप्रेमिकाले यहाँको बाँसमा आफ्नो नाम लेख्ने गर्थे। तर, बाँस सुक्न र मर्न थालेपछि मन्दिर व्यवस्थापन समितिले संरक्षणका लागि वरिपरि तारजाली लगाएको छ। त्यसपछि बाँसमा नाम लेख्ने चलन घट्दै गएको छ भने अहिले बाँसमा माला बाँध्ने परम्परा बढेको छ।

मन्दिरमा भाले, अण्डा र फलफूल चढाएर पूजा गर्ने गरिन्छ। धार्मिक मान्यताअनुसार बुढासुब्बामा भाकल पूरा भएपछि भाले चढाइन्छ भने नजिकैको गौरिनी मातालाई पोथी कुखुरा चढाउने चलन छ।

 


प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *