राष्ट्रपति पौडेलले शुभसाइतमा लगाए दसैँको टीका
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले यस वर्षको बडादसैँका अवसरमा शुभसाइतमा टीका, जमरा तथा प्रसाद ग्रहण गरेका छन्।
राष्ट्रपति भवन शीतल निवासमा बुधबार बिहान १० बजेर २६ मिनेटको शुभसाइतमा राष्ट्रपति पौडेलले गुरु–पुरोहितबाट दसैँको टीका, जमरा र प्रसाद ग्रहण गरेका हुन्।
राष्ट्रपतिले टीका ग्रहण गरेपछि प्रथम महिला सविता पौडेलसहित परिवारका सदस्यलाई पनि दसैँको शुभसाइतमा टीका र जमरा लगाइदिएका थिए।
राष्ट्रपति पौडेलले दसैँको टीका ग्रहण गरेको तथा परिवारका सदस्यलाई टीका र जमरा लगाइदिएको जानकारी राष्ट्रपतिको स्वकीय सचिवालयले दिएको छ।
विजयादशमीका अवसरमा मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्पराअनुसार राष्ट्रपति पौडेलले पनि दसैँ मनाएका हुन्। नेपाली समाजमा दसैँलाई पारिवारिक भेटघाट, आपसी सद्भाव र धार्मिक आस्थाको महत्त्वपूर्ण पर्वका रूपमा मनाउने गरिन्छ।
