‘जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म हामी प्रतिपक्षकै कुर्सीमा बस्नेछौं’ : रञ्जिता श्रेष्ठ


काठमाडौं । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता श्रेष्ठले रेशम चौधरीलगायतका बन्दीहरुको रिहाइ नभएकाले सरकारमा जान छेकबार भएको बताएका छन् । प्रतिनिधिसभाको जारी बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई विश्वासको मत दिन राखेको प्रस्तावमाथि धारणा राख्दै उनले प्रधानमन्त्री प्रचण्डले दिएको मौखिक वाचा पूरा भएको भए आफूहरु सत्तापक्षकै कुर्सीमा बस्ने बताएका हुन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने तर सरकारमा सहभागी नहुने उनले बताएकी छन् । ‘तपाईको सरकारलाई विश्वासको मत दिन्छौं, किनभने राष्ट्रपतिसमक्ष हस्ताक्षर गरेर समर्थन जनाइसकेपछि हामी झुटा हुन चाहदैनौं’ उनले प्रधानमन्त्रीलाई भनिन्, ‘धेरै माननीयलाई लाग्ला विश्वासको मत दिएर पनि किन प्रतिपक्षमा भन्ने, यसको उत्तर तपाईंसँगै छ ।’ जबसम्म हाम्रो माग पूरा हुँदैन, तबसम्म हामी प्रतिपक्षकै कुर्सीमा बस्नेछौं ।’
प्रधानमन्त्री नियुक्तिका लागि प्रचण्डलाई समर्थन गरेपछि आफूहरु निरन्तर मतदाताको सम्पर्कमा रहेको भन्दै उनले मतदाताले सरकारमा नजान खबरदारी गरेको पनि बताइन् ।