मुलुकलाई अघि बढाउने चुनौतीपूर्ण अवसर प्राप्त भएको छ : प्रधानमन्त्री प्रचण्ड


काठमाडौँ / प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालको इतिहासमा मुलुकलाई अघि बढाउने चुनौतीपूर्ण अवसर प्राप्त भएको बताउनुभएको छ ।
बुधबार काठमाडौँमा योङ कम्युनिस्ट लीग नेपालको तेस्रो पूर्ण बैठकलाई सम्बोधन गदै प्रधानमन्त्री प्रचण्डले संसद्को पहिलो अधिवेशनबाट असाधारण र अभूतपूर्व रूपमा विश्वासको मत प्राप्त भएको र नेपालको इतिहासमा मुलुकलाई अघि बढाउने चुनौतीपूर्ण अवसर प्राप्त भएको बताउनुभएको हो ।
उहाँले विगतमा क्रान्तिद्वारा गणतन्त्र स्थापना गर्ने र संविधानसभाबाट समावेशी र समानुपातिक संविधान निर्माण गर्ने चुनौतीपूर्ण काम माओवादी कै नेतृत्वमा भएको भन्दै अव मुलुकलाई अघि बढाउने अवसरलाई पनि पुरा गर्ने धारणा राख्नुभयो । माओवादी केन्द्रका अध्यक्ष समेत रहनुभएका प्रचण्डले पार्टी र सरकारलाई सफल बनाउन वाईसीएलको संस्थागत पहलकदमी आवश्यक भएको र सङ्गठन विस्तार गरेर पार्टीलाई सुदृढ बनाउन कार्यकर्तालाई निर्देशन दिनुभयो ।
उहाँले यसअघि माओवादी नेतृत्वको सरकारले सुरु गरेका कतिपय राम्रा कार्यक्रमलाई विभिन्न कारणले कार्यान्वयन गर्न नसकिएको भन्दै अव सङ्कल्पका साथ सबै कामलाई पुरा गर्ने दाबी गर्नुभयो ।
प्रचण्डले अहिले आर्थिक समृद्धिको यात्राको परिकल्पनालाई सफलतापूर्वक कार्यान्वयन गर्न सके समाजवादतर्फको यात्राको आरम्भ हुनसक्ने र नेपाल नयाँ युगतर्फ जाने जिकिर गर्नुभयो ।