`

पालुङटार विमानस्थल सञ्चालन र आरुघाट रोइला सडकखण्ड निर्माण गर्ने प्रधानमन्त्रीको प्रतिबद्धता

Nepal One HD २७ पुष २०७९ १५:५०
प्रमुख खबर

गोरखा ।   प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले साझा प्रधानमन्त्रीका रुपमा काम गर्ने ऐतिहासिक अवसर प्राप्त भएको बताएका छन् । गोरखा उद्योग वाणिज्य सङ्घको आयोजनामा सदरमुकाममा प्रदेशस्तरीय कृषि, पर्यटन तथा औद्योगिक व्यापार मेलामा सम्बोधन गर्दै यस्तो बताएका हुन् ।

प्रधानमन्त्री दाहालले यसलाई आफूले एउटा ठूलो चुनौती र अवसरका रुपमा लिएको बताएका छन् । प्रधानमन्त्री दाहालले अब देशको विकास र समृद्धिलाई गति प्रदान गर्नेसमेत बताएका छन् । उनले सार्वजनिक तथा निजी क्षेत्रको योगदान र पहल विना अर्थतन्त्रलाई गति दिन नसकिने भन्दै त्यसका लागि सहकार्य गरेर अघि बढ्ने बताए ।प्रधानमन्त्री दाहालले राष्ट्रिय गौरवको बूढीगण्डकी आयोजना, आरुघाट रोइला सडकखण्ड निर्माण, पालुङटार विमानस्थल सञ्चालन लगायतका कामलाई अगाडि बढाउने प्रतिबद्धता जनाएका छन् ।

प्रधानमन्त्री दाहालले भने, ‘विकासका अधुरा परियोजनालाई अगाडि बढाउने र देशलाई समृद्धिको दिशामा अघि बढाउने कुरा मेरो प्राथमिकतामा छ । ऐतिहासिक अवसरलाई पूरा गर्न निरन्तर अगाडि बढ्नेछु । निर्वाचन अभियान दौरानमा तपाइँहरुको अगाडि गरेको वाचा कबुलहरु राम्रैसँग सम्झना छ ।’ प्रधानमन्त्री दाहालले निर्वाचनका क्रममा आफूले गरेका प्रतिबद्धतलाई पूरा गर्ने बताए ।


प्रतिक्रिया