पोखरा विमान दुर्घटना : नवलपरासी कृषि प्रसार अधिकृत मोहनप्रकाश श्रेष्ठको मृत्यु भएको पुष्टि


पोखरा । पोखरामा भएको विमान दुर्घटनामा नवलपरासी कावासोती–६ विष्णुनगरका मोहनप्रकाश श्रेष्ठको पनि मृत्यु भएको पुष्टि भएको छ । विगत पाँच वर्षदेखि उनि कृषि ज्ञानकेन्द्र म्याग्दीमा कृषि प्रसार अधिकृतका रुपमा कार्यरत थिए । श्रेष्ठको परिवारले हिजो नै पोखरा पुगेर शव पहिचान गरिसकेका छन् । शव आजै परिवारलाई जिम्मा लगाउने तयारी भइरहेको परिवारले जनाएको छ ।
दुर्घटनामा हालसम्म ६८ जनाको शव भेटिएको छ भने ४ जनाको अवस्था अज्ञात छ । उनीहरुबारे खोजी कार्य तीव्र पारिएको जिल्ला प्रशासन कार्यालय कास्कीले जनाएको छ । आइतबार काठमाडौंबाट पोखराका लागि उडेको यती एअरलाइन्सको विमान पुरानो पोखरा विमानस्थल पछाडिको सेती खोंचमा दुर्घटनामा परेको थियो । उक्त विमानमा चालकदलका ४ जनासहित ७२ जना सवार थिए ।
उद्धारमा नेपाली सेना, नेपाल प्रहरी र शसस्त्र प्रहरी बल खटिएको छ । उद्धारमा खटिएका सुरक्षाकर्मीका अनुसार आइतबार साँझ ६३ र सोमबार बिहान ५ वटा शव बाहिर निकालिएको थियो ।