केपी ओली र रीमा विश्वकर्माको भान्छा-सम्वादले दिएको शक्तिशाली सन्देश

केपी ओली र रीमा विश्वकर्माको भान्छा-सम्वादले दिएको शक्तिशाली सन्देश

काठमाडौँ – पूर्व प्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्मा ओली र अभिनेत्री रीमा विश्वकर्माबीच ओली निवास बालकोटमा शुक्रवार भेट भएको तस्वीरहरुले सामाजिक सञ्जालमा चर्चा बटुल्यो । विश्वकर्मा र ओलीबीच भेट भएको, भलाकुसारी भएको, भान्छाकोठामा बसेर चिया पिएको र टेवलटेनिस खेलेको लगायत तस्वीर दुवैजनाले फेसबूक लगायत सामाजिक सञ्जालमा राखेका छन् ।

ओलीले रीमासँगको भेटका तस्वीरहरुलाई सामाजिक सञ्जालमा राख्दै लेखेका छन्, ‘कलाकार रीमा विश्वकर्मासँग आफ्नै घर बालकोटमा चिया पिउँदै गरेको यो तस्वीरसँगै सबैलाई नमस्कार, शुभ बिहानी । तपाईंहरू पनि चियाको आनन्द लिनुस् है ।’

यता अभिनेत्री विश्वकर्माले पनि ओलीसँगको तस्वीर फेसबूकमा राख्दै लेखेकी छिन्, खासमा सफल व्यक्तिहरूले सिकाउने संस्कार, सभ्यता र सरलता नै रैछ। नेता केपी वलीका धेरै परिप्रेक्ष्यसॅग मेरो सहमति नहोला तर व्यक्ति ‘केपी बा’ चै वास्तव मै प्रभावशाली लाग्यो १ परिवर्तन रूचाउने नयॅा पुस्ताले यी पाका नेता को अनुभव पनि आत्मसाथ गर्न सके नयॅा नेपाल साच्चै गज्जबको बन्थ्यो होला ।

तस्वीरहरुमा ओली र विश्वकर्माले टेवलटेनिस खेल्ने, कुराकानी गर्ने र भान्साकोठामा गएर चिया खाने काम गरेको देखिन्छ । त्यसो त लामो कम्यनिष्ट राजनीतिक पृष्ठभूमीबाट आएका केपी ओली हाम्रा समाजका कथित कुरीति र कुसंस्कारका विरुद्ध संघर्षरत नेता हुन् । समाज जति नै आधुनिक भएको भनिएपनि समाजमा व्याप्त जातीय, लैंगिक र भौगोलिक विभेद अझै कायमै छ । नयाँ नयाँ स्वरुपमा जातीय विभेदका घटनाहरु सुन्न पाइन्छ । पूर्व प्रधानमन्त्री ओलीको घरको भान्साकोठामा पुगेर चिया खाइसकेपछि ब्राम्हणवादी सत्ता र चरित्रकै एक निरन्तरताका रुपमा हेरिएका ओलीका बारेमा अभिनेत्री विश्वकर्माको धारणामा पनि केही परिवर्तन आयो होला सायद ।

त्यसो त रिमा विश्वकर्माले वा ओली दुवैले यसलाई जातीय रंग दिएका छैनन् र दिनपनि जरुरी छैन । भूमिगतकालमा नेवारसँग बिहे गरेका केपी ओली आफैमा भने ब्राम्हण समुदायका हुन् । उनी लगायत कम्युनिष्ट आन्दोलनमा लागेहरुले समयक्रममा सामाजिक कुरीतिका विभिन्न पर्खाल भत्काउँदा एकहदसम्म नेपालमा जातीय विभेदको जरा हल्लिएको हो । यद्यपी त्यसलाई अझै उखेलेर फाल्न सकिएको छैन ।

आजपनि मै हुँ भन्ने सामाजिक अभियन्ता होस् वा राजनीतिक नेतृत्व नै किन नहोस् कसैले पनि कुनै कथित दलित समुदायको मानिसलाई निर्धक्क आफ्नो भान्सामा लैजान सकेको छैन । चेतनाले जति नै क्रान्तिकारी भएपनि मानिसभित्र अजीवको संकीर्णता अझै छ । बाहिर एउटा भित्र एउटा सोच लिएर बाँच्ने मानिस कयौं छन् । भूमण्डलीकरण र इन्टरनेटको जमानामा पुगेपनि जति नै शिक्षित भएपनि हाम्रो अवचेतन मन र मश्तिष्कमा अझैपनि जातप्रथाका विभिन्न मान्यताहरु सुशुप्त अवस्थामा लुकेर बसेका छन् । त्यसलाई चिर्नका निम्ति राजनीतिक र सामाजिक नेतृत्वले विभिन्न रचनात्मक गतिविधिमार्फत एकता र समानताको सन्देश दिनुपर्छ । यसपाली ओली र रिमाको भेट र भान्साकोठासम्मको तस्वीरहरुले यस्तै अर्थ दिन्छ ।

ओलीका राजनीतिक गुण अवगुणमा मानिसले पक्षविपक्षमा तर्क गर्नसक्छन् । तर, उनको समाजको विकासक्रम, मानिसहरुको आकांक्षा र नयाँ पुस्ताको झुकाव र मनोविज्ञानलाई मनन् गर्नसक्ने अद्भूत गुण चाहीँ पक्कैपनि प्रशंसायोग्य छ । यस्तै चाहना र लगाव रिमासँगको भेटमा ओलीले प्रदर्शन गरे ।

मानिसका जम्मा दुई जाती छन् । त्यो हो महिला र पुरुष । तर, समाज र सभ्यताको विकास हुँदै गर्दा विभिन्न आधारमा मानिसबीच श्रेष्ठता र निचताका मापकहरु बने । जसले गर्दा कालान्तरमा मानिसहरु बीच उचो निचो हुने र भेदभाव हुनेजस्तो जघन्य आपराधिक संस्कार बस्न पुग्यो । जुन अहिलेको विज्ञानसम्मत समाजका लागि लज्जाको विषय हो । जातीय आधारमा हुने भेदभाव र विभेदलाई हटाउनका निम्ति कानुनी व्यवस्था भएपनि मानिसका सोच र व्यवहारमा वंशानुगत रुपमै विकास भएको सोचलाई परिवर्तन गर्न धेरै गाह्रो पर्छ ।

कथित उपल्लो जात र त्यसका अभिभावकले बच्चालाई सानैदेखि नजानिँदोगरि आफुहरु ठूलो जातको भएको भन्ने अहम भरिदिने र कथित तल्लो जातका मानिसले आफुहरु सानो भएको र अछुत जात भएको भन्ने लघुताभाष पालेर बस्दा जातीय विभेदको खाडल पुर्न सकिएको छैन । समाजको चरित्र र व्यवहार कानूनबाट भन्दा पनि परम्परागत मान्यताबाट निर्माण बढि निर्माण हुन्छ । सायद त्यसैले जातीय विभेद विरुद्ध कानुन बनेपनि यो अझै हटन् सकेको छैन ।

समाजमा व्याप्त जातीय, सामुदायिक, सांस्कृतिक र भौगोलिक विभेदले गर्दा देशको समानतामुलक र समतामुलक विकास र समृद्धि हुनसकेको छैन । यस्तो अवस्थामा केपी ओलीमात्र होइन सबैदलका नेता र सामाजिक अभियन्ताहरुले पनि जातीय विभेदका सबै परम्परागत मान्यताहरुलाई भत्काउने गरि भूमिका खेल्नुपर्छ । भाषणमा जातीय विभेदका ठूला कुरामात्र नगरेर आ आफ्नै चुल्होचौकोबाट विभेदका विरुद्ध बलियो सन्देश दिन आवश्यक छ । राजनीतिक प्रभाव बनाउनमात्र नभई भित्रैदेखि व्यवहारतः जातीय विभेदका मान्यताहरु हटाएर सबै मानिस समान भएको भावना छर्न जरुरी छ ।

दुईपटक प्रधानमन्त्री भैसकेका प्रमुख प्रतिपक्षी दलका नेता ओलीबाट हामीले जातीय विभेदका विरुद्ध मौन तर एकदमै सशक्त हातेमालोको सुरुवात भएको बुझ्न सक्छौं । सामासजक कुरीतिका विरुद्ध उभिने ओलीका हरेक हिम्मतको म खुलेर प्रशंसा गर्दछु ।

Monika Singh