तीव्र युवा पलायनका बीच युवा दिवसको लाजमर्दो उत्सव युवाका लागि खोई देश ?

तीव्र युवा पलायनका बीच युवा दिवसको लाजमर्दो उत्सव युवाका लागि खोई देश ?

मोनिका सिंह
अरु वर्षझैं यो वर्षपनि विश्व युवा दिवसको सेरोफेरोमा युवाका बारेमा औपचारिकतामा केही चर्चा उठेका छन् । सँधैझैं दैनिक आइरहने नयाँनयाँ घटनाक्रमका सन्दर्भमा एकदिन उठ्ने युवा अधिकार र सशक्तिकरणको विषय कति प्रभावकारी होला ? यो लेखमा यहि विषयमा चर्चा गर्न खोजिएको छ ।
सन् १९९९ देखि मनाउन थालिएको युवा दिवसले मूलतः युवा पुस्तालाई समाजका विभिन्न क्षेत्रमा स्थापित गराउने, क्रियाशिल बनाउने र परिवर्तनको संवाहक बनाउने बारेमा पैरवी गर्छ ।
नेपालमा पनि यो दिवस विभिन्न कार्यक्रम गरेर मनाइन्छ । दिवसको यो संस्करणमा पनि विभिन्न कार्यक्रमहरु भैरहका छन् भने त्यहाँ युवाको बारेमा जोडतोडले आवाजहरु उठिरहेका छन् । बढ्दो युवा पलायन र बेरोजगारीका विषयमा कुरा उठेका छन् । युवा देशको कर्णधार भएको गुलिया भाषण गर्दैगर्दा देशको युवाको समग्र अवस्था भने भयानक चिन्तादायी रहेको छ ।

देशमा चरम बेरोजगारीको अवस्था हुँदा प्रत्येक दिन युवाहरुको लस्कर सुरक्षित जीवनको खोजीमा पलायन भैरहेका बेला औपचारिकताका लागि हुने युवाका कुरामा मानिसको खासै रुची देखिँदैन । रोजगारीका अवसरको खोजीमा युवाहरु देश छोड्न बाध्य छन् वा न्यून पारिश्रमिक र श्रम शोषणको शिकार हुन बाध्य छन् । केन्द्रीय तथ्यांक ब्युरोको २०२१ को रिपोर्ट अनुसार नेपालमा ८६ लाख व्यक्तिले उनीहरूको योग्यता र सीपअनुरूप रोजगारी पाएका छैनन् । देशमा निरक्षर बेरोजगारी (बेरोजगार र अशिक्षित) १८ प्रतिशत छ भने साक्षर शिक्षित बेरोजगारीको दर ८ देखि ९ प्रतिशतसम्म छ । सर्वेक्षणका अनुसार करिब ७० हजार व्यक्तिले स्नातक वा मास्टर डिग्री गरेरपनि काम पाएका छैनन् । खाडी देश र अन्य मुलुकहरूमा रोजगारीका अवसरको खोजीमा गएका करिब आठ लाख युवामध्ये ७४ हजार स्नातकोत्तर, दुई लाख १६ हजार स्नातक, करिब चार लाखभन्दा बढी प्रमाणपत्र तह र १५ लाखभन्दा बढी एसएलसी पास गरेकाहरू रहेका छन् । युरोप, अमेरिकालगायतका विकसित मुलुकहरूमा जाने नेपालीहरूको दुःख पनि यहि हो ।
नेपालबाट प्रत्येक दिन करिब १ हजार ५ सय युवा विदेश पलायन भैरहेका छन् भने प्रत्येक दिन करिब २ वटा लास काठको बाकसमा बेरिएर नेपाल ल्याइएका छन् । यस्तो डरलाग्दो अवस्थामा हामी युवा दिवस र युवा सशक्तिकरणको नारा लगाइरहेका छौं । तीसौंवर्षदेखि सत्तामा रजाईं गरेका बयोवृद्ध नेताहरु आफैलाई युवा दावी गरिरहेका छन् । युवाहरुको राजनीतिमा कम सहभागिता, सहभागिता भएपनि नेतृत्वतहमा हस्तक्षेप गर्नु नसक्नुका कारण राजनीतिक रुपमा पनि साँचो अर्थमा युवाहरुको समग्र विकासमा टेवा पुगेको छैन ।

हुनत् नेपालले सन् २०३० सम्मको दिगो विकासको लक्ष्यमा पनि सहभागिता जनाएको छ । दिगो विकासको लक्ष्यले पनि युवालाई स्थापित गर्ने बताएको छ । नेपाल युथ भिजन २०२५ अनुसार पनि काम गरिरहेको छ । राष्ट्रिय युवा परिषद् लगायत संस्थापनि रहेका छन् । जति नै भएपनि युवाहरुको ठोस प्रगति हुननसक्नु भने दुःखद् छ ।

एउटा रोचक तथ्यांक छ । नेपालका करिब ३५ प्रतिशत युवा इन्जिनियरहरू विदेश पलायन भइसकेका छन् भने त्यसको १४ प्रतिशत संख्या खाडी मुलुकमा मात्र छन् । आइएलओको एउटा प्रतिवेदनका अनुसार नेपालका कामका १० प्रतिशत खाली पद मात्र विज्ञापन र निजी भर्ती कम्पनीहरूले भरिएको छ, बाँकी सबै आफन्त र चिनेजानेकालाई राखिन्छ । जसले गर्दा क्षमतावान युवा पलायन हुन बाध्य छन् भने भ्रष्टाचारकै साथै नातावाद कृपावादमा मुलुक नराम्रोसँग फसेको छ ।

आज एउटापनि युवा र किशोरकिशोरीलाई समेत यो देशमा केही परिवर्तन हुन्छ, विकास हुन्छ र भविष्य राम्रो हुन्छ भन्नेमा विश्वास छैन । विदेश जान लामवद्ध युवाहरुलाई सिंगो समाज उभिएर बधाई दिन्छ । अभिभावकले आफ्ना बच्चालाई विदेश पठाउेन एकमात्र सपना पालेर बसेका हुन्छन् । मेरा छोराछोरी युरोप, अमेरिका छ भन्दा मान्छे गौरवले छाती फुलाउँछन् । अनि यी तमाम पीडाहरुका बीच युवादिवसको निरस बाँसुरी बजिरहेको छ ।
साँच्चै युवा दिवस मनाउने हो भने यो देशका युवालाई यहाँ नै सीपको प्रयोग गरेर सुरक्षित जीवन जिउने अवस्था सिर्जना गर्नुपर्यो । बुढा नेताका लागि नारा लगाउनमात्र नभएर राजनीतिक नेतृत्व र नीति निर्माणपनि युवाको हस्तक्षेपकारी भूमिका हुनपर्यो । विश्वविद्यालय पढ्दै गरेको युवा विदेश जाने सपना नबोकेर आफ्नै देशमा पेशा वा उद्यम गर्ने बारेमा सोच्ने नेपाल हामीले कहिले बनाउने रु युवाका नाममा दुईचार थान पार्टीका युवा नेताकार्यकर्तालाई राजनीतिक नियुक्ति दिएर युवा सशक्तिकरणको आन्दोलन सफल होला त ?
युवा देशका कर्णधार हुन् । युवाको श्रम, सीप र सिर्जनाबिना समाजको विकास हुनसक्दैन । तर हामी युवाको प्रयोग होइन, निर्यात गरिरहेका छौं । विश्वमा धनि भएका देशहरुले आफ्ना नागरिकलाई देशभित्रै प्रशस्त अवसर र रोजगारी दिएका छन् । ठूलो संख्यामा युवालाई बेरोजगार बनाउने र विदेश धकेलेर कतिञ्जेल देशको अर्थतन्त्र जोगिन्छ ? युवाका नाममा विभिन्न कार्यक्रम गर्ने, राज्यको बजेट खर्च गर्ने तर असलमा राजनीतिक भर्तिकेन्द्रका रुपमा निकटस्थलाई अवसर दिने विकृति नेपालमा छ । खास राज्यको अभिभावकत्व चाहिने युवाहरु प्रत्येक दिन मृत्युवरण गर्न परिरहेको अवस्था छ । देशमै केही गरौं भनेर लागेका उद्यमी, उद्योगीहरुले आत्मदाह गर्नुपर्ने देशमा युवा सशक्तिकरणको नारा लगाउनु आफैमाथिको व्यंग्य हो ।
राजनीतिक परिवर्तनका नाममा विभिन्न शब्दहरु संविधान र कानुनमा लेखिएपनि समाजको अवस्था जहाँको त्यहीँ भएपछि यस्ता सबै नारा र भाषण मिथ्या लाग्छ । खाडीको ५० डिग्री तापक्रममा पिल्सिएको एउटा युवाको भावना बुझ्ने राज्य कहिले बन्ला ? साउदीअरबको मरुभूमीमा कठोर श्रम गरिरहेको युवा होस् वा युरोपमा ह्वाइटकलर जागिर गरेर बस्ने युवा नै किन नहोस् सबैलाई देश बनोस् भन्ने लाग्छ । देशका तमाम विकृतिहरु प्रवासी युवाहरुलाई पनि दुख्छ । युवाका नाममा दिवस होइन प्रत्येक वर्ष श्रम बजारमा आउने करिब १५ लाख युवाको निम्ति अवसरको सिर्जनामा मेहेनत गरौं । स्वदेशी उद्यमीहरुलाई लगानी योग्य वातावरण बनाउँ । आर्थिक, राजनीतिक सुरक्षाको प्रत्याभूति दिउँ । सीप, प्रशिक्षण र उत्पादनमा युवाहरुलाई जोडौं ।

Monika Singh