धरानबाट सुरु हुनसक्ने सम्भावित द्वन्द्वलाई रोकौं, धार्मिक सद्भाव कायम राखौं

धरानबाट सुरु हुनसक्ने सम्भावित द्वन्द्वलाई रोकौं, धार्मिक सद्भाव कायम राखौं

मोनिका सिंह

बसुधैव कुटुम्बकम अर्थात संसारका सबै मानव र प्राणीहरु एकै परिवार हो । यसलाई नेपालमा बसोबास गर्ने ८१ प्रतिशत जनताले मान्ने हिन्दु धर्मको सार भन्दा पनि हुन्छ । हिन्दुधर्मको विशालता र उदारतालाई विश्लेषण गर्दा यो उक्ति स्मरणयोग्य छ । हजारौंवर्षको हिन्दु धर्म र यसले विकास गरेको सभ्यताभित्र कयौं मौलिक धर्म र परम्पराहरु पनि अटाएका छन् । नेपालकै सन्दर्भमा हेर्ने हो भने बौद्ध, किराँत, जैन, बोन लगायत धर्म परम्पराको जरो हिन्दु धर्म नै हो भन्दा अतिसयुक्तिपूर्ण हुँदैन ।

तर, आधुनिक समाजको विकास र निरस भौतिकवादी राजनीतिको बहसले स्थान पाएसँगै पछिल्लो समयमा एउटा गौरवशाली सभ्यता बोकेका हाम्रा देशका सामाजिक, सांस्कृतिक मान्यतामा र सौहार्दपूर्ण अन्तरधर्म र समुदायको भाइचारामा खलल पुग्न थालेको भान भएको छ । धर्म, जात र परम्पराका नाममा विभक्त नभई सदिऔंदेखि मिलेर अ‍ैँचोपैँचो गरे, मेलापर्म गरेर, जन्तिमलामी आउजाउ गरेर बसेको समाजको एकत्वलाई धार्मिक, जातीय र सामुदायिक संकीर्णता बोकेका केही मानिसले बिथोल्न लागिपरेको देखिन्छ । जात र धर्मका नाममा जनतालाई लडाउने र आफुहरु देशदोहनमा लागिरहने दाउ यहाँकै शीर्ष भनिने नेताहरुमा पनि देखिन्छ ।

सामाजिक, आर्थिक प्रगति शुन्यमा हुँदापनि मौन बस्ने यहाँको बौद्धिक जमात धर्म र जातका नाममा विखण्डनकारी काम गर्न भने सदैव तत्पर देखिन्छ । जानीनजानी राज्यसत्ताका विभिन्न अंगमा बसेका मानिसहरु पनि धार्मिक द्वन्द्व गराएर आफ्नो राजनीतिक अभिष्ट पुरा गर्ने दाउमा देखिन्छन् । पछिल्लो समय धरानमा देखिएका गतिविधिले यस्तै मुठभेड तर्फ समाजलाई धेकेल्न चाहानेहरुको दुर्नियत प्रतित हुन्छ ।

धरानममा मन्दिरको अगाडी छद्म रुपमा चर्च बनाएसँगै हिन्दु समुदाय रुष्ट बनेको थियो । त्यहाँमाथि झुक्काएर, नक्सासमेत पास नगरी मन्दिरको ठ्याक्कै सामुन्ने चर्च बनाउन लाग्दा समेत धरानका मेयर हर्क साम्पांगले मौनता साँधे । त्यसलगत्तै केहीदिन अघि त्यहाँका आफुलाई किराँत धर्मावलम्वी बताउने एउटा जथ्थाले राष्ट्रिय जनावर एवं हिन्दुहरुले दैवीआस्थाका रुपमा गाईलाई काटेर खुलेयाम मासु खाएर गैरकानुनी र भड्काव ल्याउने खाले कार्य गरे । त्यसमा पनि न त राज्य न त लाखौं नेपालीले आशा गरेका नेता साम्पांग बोले । पछिल्ला दुईवटा गतिविधि नियतवश हिन्दु धर्मावलम्बीलाई भड्काउने र प्रतिकारमा उत्रन बाध्य बनाउनेखालका छन् ।

चर्च र गाई खाने विषय सँगसँगै हुनुले यो हिन्दु, क्रिश्चियन र किराँत धर्मावलम्बीबीच फुट सिर्जना गर्ने र द्वन्द्व निम्त्याउने प्रपञ्च भइरहेको अनुमान गर्न सकिन्छ । शनिवारका लागि धरानमा विभिन्न धार्मिक सांस्कृतिक संगठनले प्रदर्शनको तयारी गरिरहँदा धार्मिक सद्भाव खलवलिने र समाज नै मुठमेड तर्फ जाने संकेत गरेको छ । यसको गम्भीरतालाई बुझेर सम्भावित मुठभेड र सामाजिक द्वन्द्व निम्त्याउनु कुनैपनि हालतमा सहि हुँदैन सबैले यसतर्फ ध्यान दिन जरुरी छ ।

नेपाल बहुभाषिक, बहुधार्मिक, बहुसांस्कृतिक देश हो । नेपालको विशेषता भनेको नै सयौं थुंगा फुलको एउटै माला हो । सयौं वर्षदेखि बुनिएको बलियो र आत्मीय माला हो । तर, किन आज सबैको अस्तित्व स्वीकार गरेको समाजले कहिल्यै बहस नगरेको धर्म र जातको संकीर्णतातर्फ मानिसहरु उन्मुख छन् ? हामी हाम्रा सामाजिक आर्थिक अधिकारका निम्ति एकजुट भएर लड्नुपर्ने बेलामा हामीहरु आफुआफुलाई कसले लडाइरहेको छ ? कतै हामी भूपी शेरचनको कवितामा भनिएझैं क्यारमबोर्डका गोटी भएका हौं ? हामीलाई अरु कसैले पो चलाइरहेको छ की ? कि हामी शेरचनले भनेझैं पानीका फोका बराबर हैसियतविहीन हौं ?

नत्र, सयौंवर्षदेखि मिलेर बसेको हिन्दु, किराँत, बौद्ध र बोनजस्ता समान मौलिक धर्म र प्रकृतिपूजकबीच पनि द्वन्द्व निम्त्याउन खोजिएको छ ? कतै यसमा नेपालमा अशान्ति चाहाने विदेशीको हात छ ? यसका बारेमा हामी सचेत हुनुपर्ने बेला भएको छ ।
गाई हिन्दुहरुको आस्थामात्र नभएर हो देशकै राष्ट्रिय जनावर हो । यसलाई काट्न र खान कानुनले वर्जित गर्दागर्दै यसलाई उत्सवका रुपमा काटमार गर्नु कुन नियत हो ? यसका बारेमा पनि प्रश्न हुनुपर्छ । कुनै समुदाय वा धर्मले गाई खान छुट् दिएको छ भन्दैमा राष्ट्रिय जनावरलाई काटमार गरेर कानुन विपरित काम गर्ने र करौंडौं हिन्दु धर्मावलम्वीको आस्थामा प्रहार गर्नेहरुको नियत के हो ? यसमा पनि प्रश्न र चिन्तन हुनु जरुरी छ । यद्यपी हामीले यी विषयहरुमा हिंसा र द्वन्द्वभन्दा पनि वार्ता, छलफल र कानुनी निरुपणबाटै समाधान गर्नुपर्ने हुन्छ ।

धरानमा अहिले जसरी गौहत्या र चर्च निर्माणको विषयलाई लिएर विवाद भएको छ । यसका बारेमा राज्यले नै अग्रसरता लिएर यसको समाधान निकाल्नुपर्छ । राज्य मुकदर्शक बनेर बस्ने र मानिसलाई जात, धर्म र परम्पराका नाममा लडाउने कार्य भयो भने त्यो विडम्बनापूर्ण हुन्छ । गौहत्यामा संलग्नलाई कानुनी कठघरामा ल्याउने र चर्च बनाउने कार्यलाई कानुन अनुरुप गराएर बहुसंख्यक हिन्दुको पनि भावनाको सम्मान राज्यले गर्नुपर्छ । अन्य धर्म र समुदायको पनि धर्म र परम्परालाई संरक्षण गर्नु राज्यको दायित्व हो । तर, एउटाको रक्षाका नाममा अर्काको विनाश हुने काम नगरौं । जात र धर्मका नाममा हुनै कुनैपनि खालको हिंसा र युद्धलाई बहिस्कार गरौं ।

धरानमा गौहत्या र मांशसेवनको प्रदर्शन भएसँगै रुष्ट भएका हिन्दु धर्मावलम्वीले धरानमा जम्मा भएर त्यसको विरोध गर्ने भएपछि सुनसरी जिल्लाले फरक बहाना गरेर निषेधाज्ञा नै लगाउनुपर्ने पर्ने अवस्था आउनु धार्मिक, साम्प्रादायिक द्वन्द्वको खतराका रुपमा बुझ्न सकिन्छ । धरानका मेयर हर्क साम्पांग लगायत त्यहाँका नेता तथा राजनीतिक नेतृत्वले धार्मिक सद्भाव फैलाउन अपिल गरेपनि धार्मिक र साम्प्रदायिक दंगाको बिउ रोपिइसकेको छ । चर्चको प्रकरणलाई बिर्सन थालेका हिन्दुहरुले गाइ काटेको घटनलाई आक्रोश अभिव्यक्त गरिरहनुले त्यो संकेत गर्छ । तर, रोचक कुरा के छ भने धरानमा डेंगुको निहुँ गरेर निषेधाज्ञा लगाउनुपर्ने अवस्था आइसक्दा पनि मूल सरकारले यसबारेमा केही बोलेको छैन । धार्मिक र सामुदायिक सद्भाव कायम राख्न राष्ट्रिय नेतृत्वहरुले खेल्नुपर्ने भूमिका नेताहरुले खेलेको देखिँदैन ।

मिडिया तथा बौद्धिक वर्गले सम्भावित हिंसा र द्वन्द्व रोक्न अपिल गरिरहेको देख्न भने सकिन्छ । जे होस् नेपाल सदिऔंदेखि जातजाती र धर्मबीच सद्भाव कायम राखेर बसको समाज हो । यदाकदा जात र धर्मका नाममा विभेद भएको घटना भएपनि आमरुपमा नेपालमा त्यस्तो अवस्था छैन । यस्तो शान्त तलाउ जस्तो समाजमा ढुंगा हानेर यसको शालिनतालाई भंग नगरौं । यो देश र भूगोल हाम्रोमात्र होइन । हाम्रा अधिकारमात्र सुरक्षित हुने कुरा होइन । भावी पुस्ताले पनि यहि देशको नागरिक भएर बाँच्नका लागि हामीले एउटा सग्लो देश उनीहरुलाई दिनुपर्नेछ । फरक धर्म र जातीका बीचमा सौहार्दता भएको सुन्दर समाज हस्तान्तरण गर्नुपर्नेछ । यसर्थ कृपया कोही पनि धर्म र जातका नाममा नलडौं । राज्यले यस्तो प्रवृत्तिलाई निरुत्साहित गरोस् ।

Monika Singh