सामाजिक सद्भाव खल्बलाउने विरुद्ध गम्भिर हुन गृहमन्त्रीको निर्देशन


काठमाडौ– उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले धार्मिक सामाजिक सद्भाव खल्बलाउने क्रियाकलाप बिरुद्ध गम्भीर रुपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका छन् । ६८ औं प्रहरी दिवसको अवसरमा सोमबार काठमाडौंमा आयोजित अमर प्रहरीप्रति श्रद्धाञ्जली अर्पण कार्यक्रमलाई सम्बोधन गर्दै गृहमन्त्री श्रेष्ठले केही जिल्लाहरुमा देखिएको धार्मिक र सामाजिक सद्भाव खल्वलाउने घटनालाई संवदेनशील रुपमा लिनुपर्ने भन्दै यस्ता क्रियाकलापबिरुद्ध गम्भीर रुपमा लाग्न नेपाल प्रहरीलाई निर्देशन दिएका हुन् । यस्ता घटनाको नियन्त्रण र भविष्यमा दोहरिन नदिन सरकार र राजनीतिक पक्ष पनि गम्भीर हुनुपर्नेमा उनको जोड थियो ।
उनले अपराधका नयाँ प्रकृतिलाई निस्तेज पार्न र गहन रुपमा अनुसन्धान गर्न संगठनलाई थप प्रविधिमैत्री बनाउदै अघि बढाउनुपर्ने भएकाले प्रहरीलाई आवश्यक स्रोत साधान उपलव्ध गराउन सरकार प्रतिवद्ध रहेको बताए । नेपाल प्रहरीको आवश्यक भूमिका र कतव्र्यबोधले मात्रै मुलुकको समृद्धि, सुशासन र कानूनी राज्यको प्रत्याभूत हुने भएकाले यसतर्फ गम्भीर हुन पनि उनले निर्देशन दिए ।
यस्तै नेपाल प्रहरीका महानिरिक्षक बसन्त कुँवरले पारदर्शी, जवाफदेही, मानवअधिकारको संरक्षण लगायतमा संगठनको काम कारवाही उत्कृष्ट हुने प्रतिवद्धता जनाए । प्रहरी कर्मचारीको उत्प्रेरणा तथा मनोबल अभिवृद्धि मार्फत प्रहरी सेवा प्रवाहमा प्रभावकारिता वृद्धि गर्दै आन्तरिक सुदृढीकरण र शुद्धीकरणको लक्ष्य सहित नेपाल प्रहरी कार्ययोजना,२०८० तर्जुमा गरिएको उनले जानकारी दिए ।
कार्यक्रममा प्रहरी दिवस २०८० स्मारिका र नेपाल प्रहरीलाई निःशुल्क जग्गा प्रदान गर्ने जग्गादाताहरूको नामावली तथा अमर प्रहरीसँग सम्बन्धित स्थापना भएका अक्षयकोषहरूको विवरण पुस्तिका लोकार्पण समेत गरिएको थियो ।