जुम्लाबाट प्रसाईको सन्देश, ‘अवस्था बदल्न–व्यवस्था बदलौं’

जुम्लाबाट प्रसाईको सन्देश, ‘अवस्था बदल्न–व्यवस्था बदलौं’

मोनिका सिंह । विगत २ महिनायता केही शान्त रहेका मेडिकल व्यवसायी एवं ‘राष्ट्र राष्ट्रियता धर्म सँंस्कृति र नागरिक बचाउ महाअभियान’ नेपालका संयोजक दुर्गा प्रसाई महाअभियान अन्तरगतकै कार्यक्रम लिएर बिहीबार जुम्ला पुगे । देशका अन्य स्थानमा भन्दा दुर्गा प्रसाईको जुम्ला उपस्थितिको दृष्य केही फरक थियो । उनी जुम्ला बिमानस्थल ओर्लदा निकै भावनात्मक बनेका थिए । भावुक भएर उनले जुम्ला विमानस्थलमा विमानबाट झर्नसाथ धर्तीलाई ढोगेका थिए । यसबीचमा नेपाल र भारत आउजाउमै उनले समय खर्चिएका थिए । आफ्नो लगानीमा रहेको झापाको वी एण्ड सी अस्पताललाई हस्पिटललाई मेडिकल कलेज संचालनको अनुमति दिलाउन राजनीतिक दल र नेताका लागि संघर्ष र समय खर्चिएका उनलाई अन्ततः सर्वोच्च अदालतले न्याय दिएको छ ।
चैत १२ गते सर्वोच्च अदालतले दुर्गा प्रसाईको मेडिकल कलेजलाई लाइसेन्स दिन सरकारको नाममा आदेश दिएको हो ।
न्यायधीश कुमार चुडेल र सारंगा सुवेदीको संयुक्त इजलासले झापाको वी एण्ड सी अस्पताललाई कलेज संचालनको लाइसेन्स दिन आदेश दिएको थियो । सर्वोच्चको फैसलापछि केही हौसिएका र गम्भिर बनेका उनै प्रसाई आफ्नो लगानीको अस्पतालले मेडिकल कलेज संचालनको अनुमति पाएपछि पहिलो पटक ‘राष्ट्र राष्ट्रियता धर्म सँंस्कृति र नागरिक बचाउ महाअभियान’को कार्यक्रम लिएर जुम्ला पुगेका हुन् ।

बुधबार अभियानकर्मी, संचारकर्मी र सुभेच्छुकका साथ नेपालगंज पुगेका प्रसाई बिहीबार चार्टड फ्लाईटमार्फत जुम्ला पुगेका हुन् । उनले अहिले महाअभियान अन्तरगत कार्यक्रमका लागि जुम्ला नै किन रोजेका थिए त जुम्लादेखि मुलुकको राजधानी काठमाडौसम्मै चर्चा हुन थालेको छ । अरु समय बढी नै उत्तेजित भाषण गर्ने र हिँड्दासमेत आक्रमक जस्ता देखिने दुर्गा प्रसाई जुम्ला बिमानस्थल ओर्लदा भने निकै भावुक देखिएका थिए । उनले विमानस्थल ओर्लनेबित्तिकै धर्ती ढोगे र उत्साहकासाथ शान्तिको स्वास लिएका थिए ।

आफुलाई जुम्ली मार्सीले जनतामा परिचित गराएको संकेत र सम्मानमा जुम्लाको धर्ती ढोगेको धेरैले अथ्र्याए । प्रसाईको भावना यतिमा मात्रै रोकिएन । उनले मंच प्रवेश गर्दा स्वागत गर्न उभिएका पञ्चकन्यालाई दक्षिणा दिएर ढोगेका थिए । प्रसाईका यसअघिका कुनैपनि अभियानमा यस किसिमका दृष्य देखिएका थिएनन् । उनले किन ढोगे त पञ्चकन्यालाई, कार्यक्रम सकिएपछि संचारकर्मीलाई यस विषयमा खुलाउँदै जवाफ दिए, नारी देवीको स्वरुप हुन् अझ तुलनात्मक रुपमा कर्णालीका नारीहरु सामाजिक, आर्थिक र सांस्कृतिक मुल्य मान्यताको नाममा सधैं पछि पार्ने गरिएको छ । यसलाई चिर्न र उनीहरुको सम्मानका लागि पनि मैले पञ्चकन्याको खुट्टा ढोगेको हुँ, प्रसाईले स्पष्ट पारेका छन् ।

उनी जुम्ला पुग्नुको अन्तर्य एउटै हुनसक्छ– वि एण्ड सी कलेजलाई लाईसेन्स दिलाईदिन आग्रह गर्दै प्रसाईले तत्कालिन प्रधानमन्त्री तथा एमाले अध्यक्ष के.पी. शर्मा ओली र पूर्व प्रधानमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई धरमै बोलाएर मार्सी चामलको भोजन गराएका थिए । उनीसंगै दुई ठूला दलका अध्यक्षले मार्सी चामलको भोजन गरिरहेको तस्वीरले एक समय निकै तहल्का मच्चाएको थियो । त्यसपछि भने जुम्ला र आसपासमा मात्रै नाम सुनिएको मार्सीले एकाएक राष्ट्रिय र अन्तराष्ट्रिय क्षेत्रमै ब्राण्डको रुप लिएको थियो ।

खस भाषाको उद्गम स्थल र मार्सी धान उत्पादनको केन्द्र भएकोले पनि उनको मेडिकल कलेजले लाइसेन्स पाएपछि उनी जुम्लाबाटै पुनः महाअभियान थाल्नुपर्ने निष्कर्षमा पुगेका हुन सक्लान । त्यसको संकेत उनले बिहीबारको भाषणमा पनि भनेका छन् । अपेक्षा गरिएभन्दा सहभागीको निकै ठूलो उपस्थिति देखेपछि दुर्गा प्रसाई जुम्लाको कार्यक्रममा निकै उत्साहित देखिएका थिए । हजारौंको संख्यामा रहेको जनसहभागितामाझ उनले भने‘ जुम्लाको मार्सी मैले चिनाएको हुँ । ’ त्यसको अलवा अन्य स्थानमा जस्तै दलहरु प्रति रोष प्रकट गरेका प्रसाईले भ्रष्टाचारीको नाम सार्वजनिक गरे । सदा झै पूर्व राजाको गुणगान गाउने प्रसाईले जुम्लाको कार्यक्रममा भने केही दुखेसो गरेका थिए । उनले पूर्व राजाले हुन्छ गर्छु भन्ने मात्रै होइन केही गरेर देखाउनुपर्नेमा जोड दिए ।

त्यतिमात्रै होइन, लघुवित्तबाट ऋण लिएकाको २० लाखसम्मको ऋण मिनाहा गरिदिने आफ्नो अभियानमा जुम्लामै आउँदा साथ नदिएपछि राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता एवं जुम्लाबाट सांसद बनेका ज्ञानेन्द्र शाहीप्रति पनि उनी आक्रोसित बने । ‘हजारौंको संख्यामा उपस्थित सहभागीमाझ लघुवित्त र बैंकबाट पीडितको ऋण मिनाहा गर्छु भन्न सक्नुपथ्र्यो ज्ञानेन्द्र शाहीले यही मंचबाट,’ प्रसाईले भने ।

जुम्लामा प्रसाईले भाषण मात्रै गरेका थिएनन् सम्मृद्ध जुम्लाको परिकल्पना समेत अघि सारेका थिए । वर्तमान सरकारले कर्णालीबासीका लागि कुनै काम नगरेको आरोप लगाएका उनले आफु प्रधानमन्त्री भएमा कर्णाली राजमार्ग फराकिलो बनाउने र नेपालगंजबाट २ घण्टामै जुम्ला आइपुग्ने वातावरण बनाउन सक्ने योजना अघि सारेका थिए । नेपालगंगबाट दुरी छोट्याउनसाथ रारा ताल लगायतका प्राकृतिक सुन्दरताको अवलोकन गर्न भारतीय पर्यटकको ओइरो लाग्ने उनको विश्वास थियो ।
उनले जुम्लालाई आँखाको नानी जत्तिकै सुन्दर रहेको उपमा दिएका थिए ।

मंचमा त्यतिमै नरोकिएका प्रसाईले जुम्लाबासीलाई अर्को आश्वासन दिए–२ सय जुम्लीबासीलाई रोजगारी दिनेगरी केही नयाँ काम थाल्नेछु । जग्गाको प्रबन्ध मिलाउन उनले सोही कार्यक्रममा रेहकी रेनु शाहीलाई पनि आदेश दिए । तर, कस्तो नयाँ कामको थालनी हुँदैछ वा कस्तो प्रकृतिको उद्योग खोल्ने र जुम्लीबासीलाई रोजगारी दिने हो भन्नेबारे भने उनले खुलाएनन् । अधिकांश समय महाअभियानका अन्य कार्यक्रममा जस्तै उही पुरानै कुराहरु दोहोयार्एका प्रसाईले भनेजस्तै आगामी दिन उनले व्यवस्था परिवर्तनका लागि साँच्चिकै समय खर्चिन्छन् की नयाँ ढंगबाट फेरी व्यापार व्यवसायमा केन्द्रित हुन्छन् सर्वत्र चासोको विषय बनेको छ । कतिपयले प्रसाई लगानीको मेडिकल कलेजले लाईसेन्स पाएपछि उनी व्यापार, व्यवसाय र उद्योग क्षेत्रमै केन्द्रित हुन्छन् भन्ने विष्लेषण गरेका छन् । कतिपयले भने महाअभियान अन्तरगत पाएको जनताको साथ र उनीप्रति देखिएको जनविश्वासका कारण पनि प्रसाईको अबको यात्रा राजनीति नेतृत्वमै हो भन्ने ठोकुवा गरेका छन् । प्रसाईले आगामी दिनमा कुन धार समात्छन् केही समयपछि खुल्ने नै छ ।

Share Count 13.6k

Monika Singh