जनता जब जाग्नेछन्…


काठमाडौं । नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउने सरकारको निर्णयले यतिबेला सर्वत्र विरोधको लहर ल्याएको छ। सत्तापक्ष होस् वा विपक्ष-सबैतिरबाट सर्वसाधारणले खुलेर सरकारको कदमको विरोध गरिरहेका छन् । देशका विभिन्न भागमा सडक प्रदर्शन भइरहेको छ, जहाँ नागरिकहरू आक्रोशित देखिन्छन्।
कतिपयले नाराबाजीमार्फत विरोध जनाइरहेका छन् भने, कतिले गीत र कविताको माध्यमबाट आफ्ना भावना व्यक्त गरिरहेका छन् । आफूलाई सामाजिक अभियन्ता बताउने आशिका तामाङ पनि कुलमान घिसिङको पक्षमा सडकमा उत्रिएकी छिन्। । उनीहरूले दुर्गेश थापाको गीत ‘कता हिँडेको बिजुली मारेर, कुलमान फालेर’ भन्ने भावमा नाराबाजी गर्दै सरकारको निर्णयप्रति आक्रोश पोखिरहेका छन्।
त्यस्तै, विभिन्न राजनीतिक दलका भातृ संगठनहरू पनि विरोधमा उत्रिएका छन्। यता नेपाल क्रिकेट संघका केन्द्रीय सदस्य तथा सामाजिक अभियन्ता प्रदीप मजगैयाँले कवितात्मक शैलीमा सरकारको निर्णयको विरोध गर्दै जनभावनाको प्रतिनिधित्व गरेका छन्।
उनले लेखेका छन् :-
समय ! ………
जनता जब जाग्नेछन्
सत्ता काँप्नेछ, अपराधीहरू भाग्नेछन् !
मौनता छ आज,मानाैँ मृतशान्ति छ
भोलि यही मौनता जब गर्जनेछ
वेगवान् आँधी बनेर जब हुइँकिनेछ
अपराधी मैमत्ताहरूकाे सत्ता ध्वस्त हुनेछ,
सर्वशक्तिमान् रहेकाे उनकाे दम्भ,
अजेय रहेकाे भ्रम सबै टुट्नेछ !
विद्राेहकाे राँकाे बालेर
परिवर्तनकाे गीत गाउँदै
जनता जब अघि बढ्ने छन्
झूटका पर्खाल गर्ल्यामगुर्लुम ढल्ने छन्
अपराधीहरू भयभीत हुने छन्
लुटका महल खाली हुनेछन् ,
समय-सत्य बोल्नेछ !
अहिले मञ्चहरू शून्य छन्,
पवित्र मनहरू खिन्न छन्
अनुहार गुम्सिएका छन्,
बलपूर्वक क्राेध थामिएका छन्
तीव्र आँधी आउने लक्षण हाे याे !
सबै उथलपुथल हुन सक्नेछ
समय निर्मम हुन सक्नेछ !
सुन्दर परिवर्तन नै उसकाे चाहना,
सङ्केत पढ्ने गर,
नत्र रिसाउनेछ समय,
कठघरामा उभ्याउनेछ तिमीलाई
जिद्दी र अहङ्कारी बन्दै
समयकाे उपेक्षा गर्नेहरू
काे टिक्न सक्याे उसका सामु ?
आफ्नाे लक्ष्य पूरा नहुँदै
ऊ कहिल्यै राेकिने छैन,
कसैले राेक्न सक्ने पनि छैन,
माग्ने नै छ सबै अपराधकाे हिसाब,
दण्डित हुनै पर्नेछ तिमी !
इतिहास निर्माण गर्ने नै छ समयले सुन्दर सापेक्ष परिवर्तनकाे !!
घिसिङलाई नेपाल विद्युत प्राधिकरणकाे कार्यकारी निर्देशकबाट हटाएर हिजाे साेमबार बसेकाे मन्त्री परिषद् बैठकले हितेन्द्रदेव शाक्यलाई नियुक्ति गरेको हो । जुन विषयलाई लिएर काठमाडाैँमा प्रदर्शन भईरहेको छ ।