देशभित्रै स्वास्थ्यको जनशक्ति टिकाउन प्रोत्साहन र सहुलियत प्रदान आवश्यक छः स्वास्थ्यमन्त्री पौडेल


काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले मुलुकमा स्वास्थ्य जनशक्तिको अभाव नरहे पनि टिकाउनै चुनौतीपूर्ण रहेको बताएका छन् ।
चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)को २३औँ स्थापना दिवसका अवसरमा मंगलबार आयोजित कार्यक्रममा मन्त्री पौडेलले उपत्यकाभित्रका स्वास्थ्य संस्थामा जनशक्ति रहे पनि बाहिर अभाव रहेको बताए ।
मन्त्री पौडेलले भने, “काठमाडौँ उपत्यकाबाहिर नौवटा दरबन्दी भएको सङ्घीय अस्पतालमा एकजना मेडिकल सुपरिटेन्डेन्ट मात्र कार्यरत हुनुहुन्छ । जनशक्ति उत्पादन गर्ने, स्वदेशमै टिकाउने, दुरदराज खटिने स्थिति बनाउन पर्नेछ, त्यसका लागि कम खर्चिलो, नागरिकलाई आर्थिक दायित्व कम हुने जनशक्ति उत्पादनलाई सहज बनाउन जरुरी छ ।”
उनले स्वास्थ्य क्षेत्रमा जनशक्ति वृद्धि गर्ने देशको आवश्यकता भएकाले राज्यकै लगानीबाट जनशक्ति उत्पादन गरी देशभित्रै टिकाउन प्रोत्साहन र सहुलियत प्रदान आवश्यक रहेको बताए ।
मुटु, मिर्गौला र क्यान्सरजस्ता रोगका उपचारका लागि सबै प्रदेश अस्पतालमा सेवा विस्तार गरिए पनि लोक सेवाको परीक्षा दिई ती ठाउँमा गएर काम गर्छु भन्ने जनशक्तिको अभाव देखिएकाले न्याम्सले नीतिगत प्रस्टता लिनुपर्नेमा उनले बताए ।
मन्त्री पौडेलले भने, “वीर अस्पतालको जगमा उभिएको प्रतिष्ठानले थुप्रै जनशक्ति उत्पादन र स्वास्थ्य सेवा उपलब्ध गराएको छ । केही वर्षपछि नेपालमा सबैभन्दा बढी स्वास्थ्य क्षेत्रका जनशक्ति उत्पादन गर्ने संस्थाका रुपमा प्रतिष्ठान रहनेछ ।”
राष्ट्रिय योजना आयोगका सदस्य प्राडा आरपी विच्छाले सरकारद्वारा प्रस्तुत आगामी नीति र कार्यक्रममा बिमाको पुनःसंरचनादेखि प्रत्येक प्रदेशमा गम्भीर किसिमका रोगको विशिष्ट सेवा प्रदान गर्ने तथा बालबालिका र ज्येष्ठ नागरिकको स्वास्थ्य उपचार सुनिश्चित गर्ने विषय समेटिएको बताए ।
उनले भने, “जति नीति र कार्यक्रम ल्याएका छौँ, त्यसको कार्यान्वयन गर्ने अग्रणी संस्थाका रुपमा न्याम्स रहेको छ । कार्यान्वयन गर्ने हिसाबले यसपटक कार्यक्रम आएको छ । प्रतिष्ठानले १०० भन्दा बढी विधाका कार्यक्रम सञ्चालन गरिरहेको छ, यहाँबाट उत्पादित जनशक्ति देशका कुनाकुनामा छन् ।”
प्रतिष्ठानका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले प्रतिष्ठानले चिकित्सा शिक्षाको अनुसन्धान र स्वास्थ्य क्षेत्रको गुणस्तरमा महत्त्वपूर्ण योगदान पुर्याउँदै आएको बताए । उनले भने, “चिकित्सा शिक्षा आयोगको अनुमतिमा स्नात्तकोतर तहका सिटहरुमा उल्लेखनीय वृद्धि भएको छ, गत वर्षसम्म १२८ जना एमडी, एमएस, विडिएस, एमएस्सीमा सिट बढाएर यो वर्ष २५० पुर्याएका छौँ । विश्वका यस क्षेत्रका विशिष्टीकृत संस्थासँग अनुसन्धान र सहकार्य अघि बढाइएको छ ।”
प्रतिष्ठानबाट हालसम्म तीन हजार ६८० चिकित्सकले विशेषज्ञता हासिल गरिसकेका छन् । विसं २०५७ जेठमा गठन भएको कमिटीको प्रतिवेदनका आधारमा विसं २०५९ स्थापना भएको प्रतिष्ठानले चिकित्सा क्षेत्रमा अघि बढ्ने अवसर प्राप्त गरेको छ । १३५ वर्षअघि स्थापना भएको वीर अस्पतालको जगमा प्रतिष्ठान अघि बढिरहेको छ ।
प्रतिष्ठानका शिक्षाध्यक्ष प्राडा लोचन कार्कीले प्रतिष्ठान मातहत २४ वटा अस्पताल आबद्ध रहेको तथा १२ वटामा विभिन्न ‘फेलोसिप’ सञ्चालन भइरहेको बताए ।
वीर अस्पतालका निर्देशक प्राडा दिलीप शर्माले वीर अस्पतालले विभिन्न आरोह अवरोध पार गर्दै ७२ शय्याको आइसियूसहित ९६६ शय्यामार्फत सेवा प्रदान गरिरहेको जानकारी दिए ।
आधारभूत तथा विशिष्टीकृत सेवा प्रदान गर्दै आएको वीर अस्पतालले गत वर्ष बहिरङ्ग सेवामार्फत ६ लाख ३५ हजार २८६, आकस्मिकतर्फ करिब ३६ हजार १२२ तथा वार्डमा भर्ना भई उपचार गर्नेको सङ्ख्या २० हजारभन्दा बढी रहेको जानकारी उनले दिए ।