गभर्नर नियुक्तिको सकसकाबिच पहिलो महिला गभर्नर बन्ने पक्का !

NepalOne २५ वैशाख २०८२ १३:०५
प्रमुख खबर

कन्चन क्षेत्री

काठमाडौँ । कायममुकायमले गर्भनर चलाएको लामो समयपछि सरकारले आज नेपाल राष्ट्र बैँकको गभर्नर नियुक्ति गर्ने अन्तिम तयारी गरेको छ ।

सरकारले अर्थमन्त्री विष्णु पौडेलको अध्यक्षतामा गठन गरेको गभर्नर सिफारिस समितिको बैठकले भावी गभर्नरका लागि ३ जनाको नाम सिफारिस गरेर पठाएपछि मन्त्रिपरिषदले तीमध्ये एक जनालाई नियुक्त गर्नेछ ।

अर्थ मन्त्रालय उच्च श्रोतका अनुसार अर्थमन्त्री पौडेलको अध्यक्षतामा पूर्वगर्भनर महाप्रसाद अधिकारी र योजना आयोजका पूर्वउपाध्यक्ष विश्व पौडेल सदस्य रहेको समितिले नेपाल राष्ट्रबैँकका कामु गभर्नर निलम ढुंगाना, राष्ट्रबैँकका निर्देशक गुणकर भट्ट, राजीनामा दिएर बसेका अर्का निर्देशक प्रकाश श्रेष्ठ, नविल बैंकका पूर्व सिइओ ज्ञानेन्द्र ढुंगानालगायतको नाममा सहमति जुटाउन प्रयास गरिरहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले भर्खरै राजीनामा दिएका गुणाकर भट्टलाई गभर्नर बनाउन दबाब बढाइरहेका छन् भने एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी ओली डेपुटी गर्भनर तथा हालकी कामुगभर्नर निलम ढुंगानालाई नै गभर्नर बनाउन चाहन्छन् । एमाले र कांग्रेसबीच भावण्डामा समस्या भइरहेका बेला कांग्रेसले अघि सारेका उम्मेदवार भट्टको राजीनामा विवादमा आएपछि कांग्रेसले अर्को बलियो उम्मेदवार अघि सार्न सकेको छैन ।

भट्टले गभर्नर सिफारिस समिति बनेपछि बल्ल राजीनामा दिएको भन्दै छनौट प्रक्रिया सुरु भएपछि राजीनामा दिएका निर्देशक गभर्नर बन्ने नसक्ने भन्दै उनको नाममा विवाद छ । यो विषयमा सर्वोच्च अदालतमा रिट समेत परेपछि कांग्रेस पनि प्रधानमन्त्री ओलीलाई नै निर्णय गर्न दिने निष्कर्षमा पुगेको देउवाको सचिवालयका एक सदस्यको दाबी छ ।

उता गभर्नर सिफारिस समितिका सदस्य विजयनाथ भट्टराईले राजीनामा दिएपछि उनको स्थानमा थपिएका निवर्तमान गभर्नर महाप्रसाद अधिकारीको योग्यतामा समेत प्रश्न उठेको छ । आफू गभर्नर हुँदै गठन भएको सिफारिस समितिमा अवकास पाएपछि सदस्य बनेपछि निवर्तमान गभर्नर यो समितिमा बस्न नमिल्ने भन्दै विवाद सुरु भएको छ ।

यो विवाद अदालतसम्म पुग्ने देखिएपछि गभर्नर सिफारिस समितिले बाध्य भएर कामु गभर्नर ढुंगानाको नाम १ नम्बरमा राखेर नियुक्तिका लागि सिफारिस गर्ने तयारी गरेको छ । सिफारिस समितिका सदस्य विश्व पौडेल भने निलमको नाममा असहमत छन् । उनले अर्का डेपुटी गभर्नर बमबहादुर मिश्रको नाम सिफारिस गर्न दवाव दिइरहेको श्रोतको दावी छ । तर मिश्रमाथि राष्ट्र बैककै एकजना महिला कर्मचारीमाथि यौन दुव्यर्वहार गरेको भन्दै महिला आयोगले कारवाहीको सिफारिस गरेका कारण अन्य सदस्य यो नाममा सहमत हुन सकेका छैनन् ।

सिफारिस समितिले २ मध्ये एकजना डेपुटी गभर्नर सिफारिस गर्नैपर्ने कानुनी प्रावधान छ । यही प्रावधानका कारण मिश्र यौन हिंसामा मुछिएका कारण डेपुटीका तर्फबाट निलमको नाम सिफारिस गर्न समिति बाध्य हुने देखिएको छ ।

सिफारिस समितिले पठाएका ३ मध्ये एक जनालाई मन्त्रिपरिषदले भावी गभर्नर नियुक्त गर्ने र नियुक्तिमा प्रधानमन्त्रीको अडान अन्तिम हुने भएकाले पनि निलम गभर्नर बन्ने लगभग पक्का देखिएको छ । कांग्रेस सभापति देउवाले गुणकर भट्टको सट्टा अन्य कुनै उम्मेदवार अघि सारेको अवस्थामा भने आज सिफारिस समितिले नाम सिफारिस गर्न नसक्ने अवस्था आउने भएकाले मन्त्रिपरिषदबाट नियुक्ति हुन नसक्ने अर्थ मन्त्रालय उच्च श्रोतको दाबी छ ।


प्रतिक्रिया