समाचार

उपत्यकाव्यापी खुला मेयर कप फुटबलको उपाधि काठमाडौंलाई

NepalOne
३ जेठ २०८२ ८:३९

काठमाडौँ । काठमाडौँ महानगरपालिका ‘दोस्रो उपत्यकाव्यापी खुला मेयर कप फुटबल खेल’को विजेता भएको छ ।

फाइनल खेलमा आयोजक गोदावरी नगरपालिकालाई पेनाल्टीमा ८–७ गोलले पराजित गर्दै महानगरपालिका दोस्रो सृङ्खलाको विजेता भएको हो । जितसँगै महानगरपालिकाको टीमले नगद ५ लाख रुपैयाँसहित ट्रफी प्राप्त गरेको छ । उपविजेता आयोजक गोदावरीलाई नगद ३ लाख रुपैयाँसहित ट्रफी प्रदान गरिएको छ ।

गएको वर्ष सम्पन्न पहिलो खेलमा पनि महानगरपालिका विजेता भएको थियो । यस वर्षको फाइनल खेलको निर्धारित समयमा दुवै पक्षबाट गोल हुन नसकेपछि दुवै टीमलाई ५/५ पेनाल्टी गोलको अवसर दिइएको थियो । यसमा दुवै टीमले सबै गोल प्रहार गरे । त्यसपछि दिइएको ३’३ पेनाल्टी गोलको अवसरमा महानगरपालिकाले ३ र गोदावरी नगरपालिकाले २ गोल गरेको थियो ।

यस्तै मध्यपुर थिमीलाई फेयर प्ले टिमको उपाधि दिइयो । महानगरपालिकाका कोच सन्तोष न्यौपानेलाई वेस्ट कोच उपाधि प्राप्त भयो ।

सरोज तामाङ्लाई वेस्ट डिफेन्डर, सुदीप गिरीलाई प्लेयर अफ द फाइनल, गोदावरी नगरपालिकाका समीर तामाङ्लाई इनर्जिङ् प्लेयर, अरुण लामालाई हाइएस्ट गोल स्कोरर, पासाङ् लामालाई प्लेयर अफ द टुर्नामेन्ट र विवेक सिलवाललाई वेस्ट गोल किपर उपाधि प्रदान गरिएको थियो ।

गोदावरी नगरपालिकाको चापागाउँ, ताहाखेल खेल मैदानमा हिजो (शुक्रबार) फाइनल खेल भएको थियो । खेलमा महानगरपालिका ‘समूह बी’बाट र गोदावरी ‘समूह सी’बाट फाइनलमा पुगेका थिए ।

महानगरपालिकाले पहिलो खेल चाँगुनारायण नगरपालिकासँग खेलेको थियो । यस खेलमा चाँगुनारायणलाई महानगरपालिकाले ५–० गोलले पराजित गरेको थियो । खेलमा राजकुमार पौडेल, विराज महर्जन, अखिलेश कार्की, सरोज तामाङ् र मनिष सेढाईँले महानगरपालिकाका लागि १/१ गोल दिलाएका थिए । दोस्रो खेल मध्यपुर थिमीसँग खेलेको थियो । यस खेलमा सरोज तामाङ्ले गरेको १ गोलले महनगरपालिकालाई जिताएको थियो ।

महानगरपालिकाबाट प्रशिक्षक सन्तोष न्यौपाने र पूर्व राष्ट्रिय खेलाडी विराज महर्जनको कप्तानीमा खेलाडीहरु प्रतिस्पर्धामा उत्रिएका छन् । खेलाडीहरुको व्यवस्थापन खेलकुद विज्ञ नविन चित्रकारले गरेका थिए ।

प्रतियोगितामा काठमाडौँ जिल्लाबाट काठमाडौँ महानगरपालिका, चन्द्रागिरी नगरपालिका, तारकेश्वर नगरपािलका, दक्षिणकाली नगरपालिका, कीर्तिपुर नगरपालिका, कागेश्वरी मनोहरा नगरपालिका गरी ६ वटा स्थानीय तह प्रतिस्पर्धामा छन् ।

यस्तै ललितपुर जिल्लाबाट ललितपुर महानगरपालिका, आयोजक गोदावरी नगरपालिका, महालक्ष्मी नगरपालिका, कोन्ज्योसोम गाउँपालिका र वागमती गाउँपालिकासहित ५ वटा स्थानीय तह छन् । भक्तपुर जिल्लाको चाँगुनारायण नगरपालिका, मध्यपुर थिमी नगरपालिकाले भाग लिएका छन् ।


प्रतिक्रिया