संसदीय उपसमितिद्वारा शिक्षा समितिलाई विद्यालय शिक्षा विधेयकको प्रतिवेदन हस्तान्तरण

काठमाडौं । शिक्षा स्वास्थ्य तथा सूचना प्रविधि समितिले गठन गरेको उपसमितिले विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिमा पेस भएको छ ।
उपसमितिले दवाफार छलफल सकेर आइतबार प्रतिवेदन पेस गरेको हो । उपसमिति संयोजक विश्वकर्माले समिति सभापति अम्मरबहादुर थापालाई प्रतिवेदन हस्तान्तरण गरेका छन् ।
गत चैत ८ गते नेकपा एमालेका सांसद छविलाल विश्वकर्माको संयोजकत्वमा गठित उपसमिति करिब २ महिना लामो छलफलपछि विद्यालय शिक्षा विधेयकको प्रतिवेदन समितिलाई बुझाएको हो । उपसमितिलाई ३५ दिनभित्र प्रतिवेदन पेश गर्न समयसीमा दिइए पनि करिब दुई महिनामा काम सकिएको हो ।
विश्वकर्मासँगै उपसमितिमा सांसदहरू डिगबहादुर लिम्बू, देवेन्द्र पौडेल, महेन्द्रकुमार राय, रामप्रकाश चौधरी, रेखा शर्मा, बीना जैसवाल, विनिताकुमारी सिंह, सरिता भुसाल सदस्य थिए ।
उपसमितिले आधारभूत तहको कक्षागत तथा विषयत शिक्षकमा शतप्रतिशतसम्म खुला प्रतिष्पर्धाबाट शिक्षक छनोट गर्ने गरी कानुन बनाउन प्रतिवेदन तयार गरेको छ ।
आधारभूत तृतीय श्रेणी सत प्रतिशत खुला गर्ने, द्धितिय २० प्रतिशत आन्तरिक र ८० प्रतिशत आवधिक, प्रथम श्रेणीमा १० प्रतिशत आन्तरिक र ९० प्रतिशत आवधिक गर्न सुझाव दिइएको छ ।
त्यस्तै माध्यमिक र विषयगत शिक्षकमा पनि तृतीय श्रेणी ८० प्रतिशत खुला र २० प्रतिशत आन्तरिक, द्धितीयमा २० प्रतिशत आन्तरिक, ८० प्रतिशत आवधिक, प्रथम श्रेणीमा १० प्रतिशत आन्तरिक र ९० प्रतिशत आवधिकबाट छनोट गर्न उपसमितिको सुझाव छ ।