हाम्रो ध्यान सरकार ढलाउने तिर छैन : अध्यक्ष दाहाल

दैलेख, ४ जेठ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो पार्टीको ध्यान सरकार ढलाउने तिर नभएको बताउनुभएको छ । सरकार बनाउनेतर्फ पनि पार्टीले ध्यान नदिएको उहाँले बताउनुभयो ।
जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियानअन्तर्गत आज दैलेखमा आयोजित सभामा अध्यक्ष दाहालले सरकार गलत बाटोमा हिँडेको आरोप लगाउँदै आफ्नो पार्टीले सुरु गरेका कामलाई समेत भत्काएको उल्लेख गर्नुभयो । यसबारे निरन्तर खबरदारी गरिरहेको उहाँको भनाइ थियो ।
“बजेट अगाडि नै यो अभियान सकेर हामी यहाँका जनताका माग र आवश्यकता सरकार समक्ष राख्न चाहन्छौँ”, अध्यक्ष दाहालले भन्नुभयो, “तराई, मध्यपहाड र हिमाली क्षेत्रका बासिन्दाका माग सम्बोधन गर्न सरकारलाई आग्रह गर्दैआएको छु ।” तराइ मधेस जागरण अभियान सफल भएको उल्लेख गर्दै उहाँले मध्यपहाडी लोक मार्ग यात्रा पनि सफल हुने बताउनुभयो ।
मधेस आन्दोलन समाधानदेखि संविधान कार्यान्वयनसम्म माओवादी केन्द्रको भूमिका ऐतिहासिक रहेको उल्लेख गर्दै अध्यक्ष दाहालले वर्तमान सत्तालाई जनमुखी बनाउन पहल गरिने बताउनुभयो । मध्यपहाडी लोकमार्गको प्रस्ताव आफू प्रधानमन्त्री हुँदा नै राखेको र यो मध्यपहाड तथा हिमालमा बस्ने जनताको हितलाई विचार गरेर प्रस्ताव गरिएको बताउनुभयो ।
राष्ट्रिय एकतालाई सुदृढ गर्ने उद्देश्यद्वारा प्रेरित भएर, समृद्धिको नयाँ अभियान सुरुवात गर्न मध्यपहाड र हिमाली क्षेत्रमा भएको बसाइसराइको समस्या रोक्न सकिन्छ की भन्ने उद्देश्यले लोकमार्गको प्रस्ताव अघि बढाएको अध्यक्ष दाहालले बताउनुभयो । माओवादी केन्द्रलाई कुनै राजनीतिक पार्टीले नभई जनताको मतले सत्तामा पु¥याएको उहाँले बताउनुभयो ।
अध्यक्ष दाहालले भन्नुभयो, “जनताले नै तीन पटक सरकारको नेतृत्व गर्ने ठाउँसम्म पु¥याएका र जनताका पीरमर्का बुुझेर तिनलाई सम्बोधनको प्रयास गरिने बताउनुभयो । उहाँले सबै समुदायसँग संवाद गर्दै जनताको आवाज सरकार समक्ष पु¥याउने लक्ष्य लिएको उहाँको भनाइ थियो । मध्यपहाडी लोकमार्गले आर्थिक, सामाजिक तथा पर्यटकीय क्षेत्रमा परिवर्तन ल्याउने अध्यक्ष दाहालले बताउनुभयो ।
दैलेख ऐतिहासिक, सांस्कृतिक, आर्थिक, प्राकृतिक, विभिन्न जातजातिको उद्गम थलो भएको उल्लेख गर्दै उहाँले बसाइँसराइ रोक्न शिक्षा, स्वास्थ्य, कृषि, जडीबुटी तथा पर्यटन क्षेत्रमैत्री नीति आवश्यक रहेकामा जोड दिनुभयो । पेट्रोलियम पदार्थ उत्खननमा आफ्नो पार्टीले उल्लेखनीय भूमिका निर्वाह गर्ने अध्यक्ष दाहालले बताउनुभयो ।
कार्यक्रममा वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, उपाध्यक्षहरु नन्दकिशोर पुन, अग्नि सापकोटा र पम्फा भुसाल, महासचिव देव गुरुङ, उपमहासचिव जनार्दन शर्मा, कर्णाली प्रदेशका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही, पार्टीको कर्णाली प्रदेश इन्चार्ज कालीबहादुर मल्ललगायतका नेताहरुको उपस्थिति रहेको थियो । यही जेठ २ गतेदेखि बैतडीको पाटनबाट जनतासँग माओवादी (मध्यपहाडी लोकमार्ग) जनता जागरण अभियान सुरु भएको हो ।