पूर्वतयारी र सूचना प्रवाहले जनधनको सुरक्षामा निर्णायक भूमिका खेल्छ : ऊर्जामन्त्री खड्का

काठमाडौँ, ७ जेठ : ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले जलवायु पूर्वानुमानलाई केवल वैज्ञानिक दस्तावेजमा सीमित नराखी योजना निर्माणदेखि कार्यान्वयनसम्म प्रत्यक्ष उपयोगमा ल्याउनुपर्ने बताउनुभएको छ ।
राष्ट्रिय जल तथा मौसम विज्ञान विभागको आयोजनामा आज आयोजित ‘राष्ट्रिय मौसम फोरम–२०८२’ को उद्घाटन उहाँले जलवायु परिवर्तनका कारण मौसम चुनौती थप जटिल बन्दै गएकाले अबको नीति पूर्वानुमान र पूर्वतयारीलाई केन्द्रमा राखेर तयार गर्नुपर्ने बताउनुभयो ।
“पूर्व अनुमान र उचित सन्देश समयमै प्रवाह गर्न सकेमा ठूलो जनधनको सुरक्षा हुन्छ, केवल नीति निर्माण मात्र होइन, संरक्षण, उत्पत्ति र उपयोग सबै पक्षमा पूर्व तयारी आवश्यक छ,” उहाँले भन्नुभयो । मन्त्री खड्काले केही समयअघि सिस्नेरीमा भएको दुर्घटनाको स्मरण गर्दै पूर्वानुमान र समयमै सूचना प्रवाह गर्न सकेको भए विद्यार्थीहरूको ज्यान जोगिन सक्ने बताउनुभयो ।
हिमाल आरोहणमा गएका पर्यटक समयमै सूचना नपाएर अकालमा ज्यान गुमाउनु परेका घटनालाई उदाहरण दिँदै उहाँले यस्ता त्रासदी दोहोरिन नदिन प्रभावकारी पूर्वानुमान प्रणाली र सूचना सम्प्रेषणमा लाग्नुपर्ने उल्लेख गर्नुभयो ।
विपद् व्यवस्थापनमा सबैभन्दा छिटो प्रतिक्रिया स्थानीय तहको वडा कार्यालयबाट हुने भएकाले मौसमसम्बन्धी सूचना वडास्तरसम्म पुर्याउनु जरुरी रहेको उहाँको भनाइ थियो । उहाँले जल तथा मौसम विज्ञान विभागलाई सरकारले उच्च प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको उल्लेख गर्नुभयो ।
विभागका महानिर्देशक कमलराम जोशीले आगामी दिनमा अझ वैज्ञानिक र सहभागीपूर्वक तयारी अघि बढाइने बताउनुभयो । कार्यक्रममा ऊर्जा सचिव सुरेश आचार्य, जलस्रोत तथा सिँचाइ सचिव सरिता दवाडीलगायतको सहभागिता रहेको थियो ।