बर्डफ्लूले अर्को महामारीको रूप लिने वैज्ञानिकहरुको चेतावनी

NepalOne
८ जेठ २०८२ १०:१४
विश्व

बीबीसी । हजारौँ ’फार्महाउस’हरूमा महिनौँदेखि लुकिरहेको रोगले अर्को महामारी निम्त्याउने विषयमा वैज्ञानिकहरूले चेतावनी दिएका छन् । रोगहरूको विकासबारे खोज गरिरहेका अनुसन्धाताहरूले हामीले महसुस नै नगरी अमेरिकाले बर्ड फ्लू अर्को महामारी बन्न सक्ने तह पार गरिसकेकोबारे सचेत गराएका छन् ।

अझ स्पष्ट शब्दमा भन्नुपर्दा एभिअन इन्फ्लुएन्जाको उग्र रोगकारक प्रजाति एच५एन१ अहिले अस्ट्रेलियाबाहेक सबै महादेशमा पुगिसकेको छ। यो एन्टार्कटिकाका पेन्ग्विनहरूमा र मध्यपूर्वका उँटहरूमा पनि देखा परिसकेको छ । यो रोग अहिले अमेरिकाका सबै ५० वटा राज्यहरूका जङ्गली चरा र स्तनधारीमा जीवमा पनि देखिइसकेको छ ।

अमेरिकी कृषि मन्त्रालयका अनुसार यो देशमा अहिले बर्डफ्लू गोठहरूमा सरेर १,००० भन्दा धेरै गाईबस्तुहरूमा पुगिसकेको छ । अहिलेसम्म बर्ड फ्लू ७० जना मानिसहरूमा देखिएको छ र यसले एक जनाको ज्यान समेत लिएको छ । यसको फैलावट रोक्ने अवसर वर्तमान राष्ट्रपति डोनल्ड ट्रम्प र निवर्तमान राष्ट्रपति जो बाइडन दुवै नेतृत्वका प्रशासनले गुमाएको अमेरिकी महामारीविज्ञ तथा प्राध्यापक डा केट्लिन रिभर्स बताउँछिन् ।

महामारीविज्ञहरू अमेरिका मात्रै नभई विश्व नै यसको नियन्त्रणका लागि आवश्यक रूपमा तयार नभएकामा चिन्तित छन् । सन् २००३ यता एच५एन१ बाट ७०० जना भन्दा धेरै मानिसहरू सङ्क्रमित भइसकेको विश्व स्वास्थ्य सङ्गठनले जनाएको छ। यस्तो सङ्क्रमण १५ देशका मानिसहरूमा देखिएको थियो । त्यसमध्ये इन्डोनेशिया, भियतनाम र इजिप्टमा मानिसहरूमा सङ्क्रमण अन्य देशको तुलनामा उच्च देखिएको थियो।


प्रतिक्रिया