हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा रोक


बीबीसी । ट्रम्प प्रशासनले अमेरिकाको सबैभन्दा पुरानो विश्वविद्यालय हार्वर्डमा विदेशी विद्यार्थी भर्नामा रोक लगाएको छ ।
होमल्याड सेक्युरिटी डिपार्टमेन्टका सेक्रेटरी क्रिस्टी नोयमले कानूनको पालना गर्न असफल भएकाले हार्वर्डको विद्यार्थी र विनिमय आगन्तुक कार्यक्रमको प्रमाणपत्र खारेज गरिएको जानकारी दिएकी छन् ।
हार्वर्डले उक्त कदमलाई ‘अवैधानिक’ भनेको छ । उसले हार्वर्डमा १४० भन्दा बढी देशबाट आएका विदेशी विद्यार्थी र विद्वानहरूलाई कायम राख्न पूर्ण प्रतिबद्ध रहेको बताएको छ । ट्रम्प प्रशासनको यस निर्णयले विश्वविद्यालयमा अध्ययनरत हजारौं विदेशी विद्यार्थीहरूलाई असर पर्नेछ ।
विश्वविद्यालयका अनुसार अघिल्लो शैक्षिक वर्षमा ६ हजार ७०० भन्दाबढी विदेशी विद्यार्थीहरू भर्ना भएका थिए, जसले सम्पूर्ण विद्यार्थीहरूको २७ प्रतिशत हिस्सा ओगटेका थिए । बिहीबार यो खबर फैलिएपछि हजारौं विद्यार्थीहरु अन्योलमा परेका छन् ।
ट्रम्प प्रशासनले हार्वर्डलाई यहूदी विरोधी गतिविधिहरूको विरुद्ध लड्न भर्ना, नियुक्ति र पढाउने तरिकामा परिवर्तन गर्न माग गरेको छ। साथै, उसले विश्वविद्यालयको करमुक्त स्थिति खारेज गर्ने र सरकारी अनुदान रोक्ने धम्की पनि दिएको छ ।
हार्वर्डले यसअघि यहूदी विरोधी घटनाहरूविरुद्ध कदम चालिएको बताएको थियो, र सरकारी मागलाई विश्वविद्यालयको ‘बौद्धिक स्वतन्त्रता’ नियन्त्रण गर्ने प्रयास भनेको थियो ।
गत अप्रिलमा, नोएमले हार्वर्डलाई विदेशी विद्यार्थी सम्बन्धी अभिलेखहरू उपलब्ध गराउने माग राखेकी थिइन्, अन्यथा विद्यार्थी भिसा कार्यक्रमबाट हटाउने चेतावनी दिइएको थियो । बिहीबारको पत्रमा, नोएमले हार्वर्डलाई विदेशी विद्यार्थी भर्ना गर्ने अनुमति पुनः प्राप्त गर्न केही शर्तहरू पूरा गर्नुपर्ने बताइन् ।
यसमा हार्वर्डमा विगत पाँच वर्षमा भर्ना भएका गैर–अप्रवासी विद्यार्थीहरूको सबै अनुशासनसम्बन्धी अभिलेखहरू, साथै गैरआप्रवासी विद्यार्थीहरूद्वारा गरिएको ‘अवैध’ वा ‘हिंसात्मक’ गतिविधिको भिडियो, अडियो वा इलेक्ट्रोनिक अभिलेखहरू सरकारलाई बुझाउने माग गरिएको छ ।
ट्रम्प प्रशासनले विगतमा अन्तर्राष्ट्रिय विद्यार्थीहरूका लागि व्यक्तिगत भिसामा कटौती गर्ने प्रयास गरेको छ, जसले अमेरिकाभरका क्याम्पसहरूमा अन्योल सिर्जना गरेको छ र कैयौं मुद्दाहरू दायर गरिएका छन् ।