रास्वपाका नेता न्यौपाने भन्छन् -अब उपसभापति र महामन्त्री पद तत्काल पूर्ति गरौं


काठमाडौं । रष्ट्रिय स्वतन्त्र पार्टीका नेता यज्ञमणि न्यौपानेले अब उपसभापति, महामन्त्री, सहमहामन्त्री र केन्द्रीय सदस्यको पदपूर्ति गर्नुपर्ने बताएका छन् ।
शनिबार सामाजिक संजालमार्फत न्यौपानेले सर्वोच्च अदालतको आदेशले अब पार्टी सभापति रवि लामिछाने बाहिर आउने सम्भावना केही समयको लागि गाह्रो भएकाले पदपूर्ति गर्नुपर्ने बताएका हुन् ।
त्यस्तै उनले शुभेच्छुक संगठन सबै निकायमा अबिलम्ब निर्माण गर्ने र ती शुभेच्छुक संगठनहरु भातृ संगठनको रुपमा नरही स्वायत्त प्रकृतिका रहने, संसदीय दलको नेता चयन गर्ने, सम्पूर्ण विभाग तथा समितिलाई पूर्णता दिने, ७९ सालमा प्रतिनिधिसभाको निर्वाचन लडेका उम्मेदवारहरूलाई प्राथमिकताका साथ उचित प्रतिनिधित्व गराउनुपर्ने उल्लेख गरेका छन् ।
त्यस्तै उनले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीको माग संसद तथा सरकारमा राख्ने र जनमत संग्रह माग गर्ने जनमत संग्रहका लागि सदन तथा सडकबाट संघर्ष सुरु गर्ने, वैकल्पिक राजनीतिक दलहरू/नयाँ राजनैतिक दल/ वैकल्पिक राजनीतिक सोच भएका सम्पूर्ण शक्तिहरूसँग गोलमेच सम्मेलन गरी साझा एजेन्डा तय गर्ने र जनआन्दोलन भाग ३ को घोषणा गर्ने, विदेशमा रहेका नेपालीलाई राजदूतावास मार्फत मतदान गर्ने अधिकारको लागि सार्वजनिक महत्वको प्रस्ताव संसदमा पेश गर्ने र पास गराउन सडक आन्दोलन गर्ने, सामाजिक सञ्जाल आन्दोलनको समेत घोषणा गर्न पनि प्रस्ताव गरेका छन् ।
त्यस्तै उनले भारत, चीन, अमेरिका, युरोपियन युनियन भित्रका देशहरू लगायतका शक्ति राष्ट्रहरूसँग कुटनैतिक सम्बन्ध कायम गर्न छायाँ राजदूतको रुपमा प्रतिनिधित्व तोकी सम्बन्ध विस्तार गर्नुपर्ने उल्लेख गरेका छन् । न्यौपाने रास्वपामा यसअघि अनुशासन आयोगका कार्यवाहक प्रमुख थिए ।