सगरमाथा आरोहण गरेकी प्रहरी नायव निरीक्षक शेर्पालाई दर्ज्यानी चिन्ह प्रदान


काठमाडौँ । प्रहरी महानिरीक्षक दीपक थापाले सगरमाथाको सफल आरोहण गरेकी प्रहरी नायब निरीक्षक कुञ्जाङ छोपेल शेर्पालाई दर्ज्यानी चिह्न प्रदान गरेका छन् ।
प्रहरी प्रधान कार्यालयमा आइतबार आयोजित कार्यक्रममा थापाले प्रहरी सहायक निरीक्षकबाट प्रहरी नायब निरीक्षक पदमा विशेष बढुवा भएकी शेर्पालाई दर्ज्यानी चिह्न प्रदान गरेका हुन् ।
यही जेठ ६ गतेको नीति निर्माण समिति (पिसिसी) बैठकले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी सङ्गठनको गौरव बढाउन सफल भएको भन्दै शेर्पालाई विशेष बढुवा प्रदान गर्ने निर्णय गरेको थियो ।
सो अवसरमा प्रहरी महानिरीक्षक थापाले अदम्य साहसका साथ विश्वको सर्वोच्च शिखर सगरमाथाको सफलतापूर्वक आरोहण गरी प्रहरी सङ्गठनको श्रीवृद्धिका लागि गरेको कार्यको प्रशंसा गरे ।
प्रहरी सङ्गठनको प्रतिनिधित्व गर्दै प्रनानी शेर्पाले यही जेठ ५ गते सोमबार बिहान ८ः५६ बजे सगरमाथाको सफलतापूर्वक आरोहण गरेकी थिइन् ।
उनले सगरमाथा शिखरबाट नेपालको राष्ट्रिय झण्डा, नेपाल प्रहरीको झण्डा तथा ‘महिला र बालिकाविरूद्ध हुने हिंसा अन्त्य गर्न एकजुट हौँ’ भन्ने नारासहितको ब्यानर फहराएकी थिइन् ।