करुणा: दुःखलाई छिचोल्दै लेखिएको हिम्मतको कथा

मोनिका सिंह १४ जेठ २०८२ २१:४२
बिशेष

अरुको दुःख–कष्टलाई अनुभूत गर्न सक्ने गहिरो दया र कल्याणको भाव हो करुणा । करुणाको स्रोत चाहिँ के हो त ?

राधिका शाक्यको आत्मवृत्तान्त पढिसकेपछि निर्धक्क भन्न सकिन्छ,नारी । एउटी नारी, जसले आफैलाई रित्याएर अरुलाई परिपूर्ण परिदिन्छे । जसले आफैलाई लुकाएर अरुलाई प्रशिद्धि दिलाउँछे । जसले आफैलाई हराएर अरुलाई जिताउँछे ।

यस्तै महानताले लेखिएको त्याग र समर्पणको अर्को नाम हो, राधिका शाक्य । आफ्ना रहर, इच्छा र लक्ष्यहरुलाई थाँती राखेर सधै ‘आमा’को भूमिकामा बाँचिरहिन् उनी । चाहे छोरीको रुपमा होस् वा श्रीमतीको, कर्मले चाहिँ आमा बनिरहिन् ।

आमा । संभवत राधिका शाक्यलाई सम्बोधन गर्न सकिने सबैभन्दा सुन्दर उपमा यही हो । अभावले रित्तिएको र जिम्मेवारीले थिचिएको जिन्दगीमा उनले आफूलाई कहिल्यै सोधेनन्, मेरा खुसीहरु कहाँ छन् ?

किनभने उनले त दुःखसँगै बाँच्न सिकिसकेकी छिन् । पाटन महापालको साँघुरो घरदेखि सुरु हुने दुःखको शृंखला बालकोट र बालुवाटारसम्म पुग्दा पनि टुंगिदैन ।

अन्ततः जीवनको अनेकन आरोह–अवरोह पार गरेपछि उनी निचोडमा लेख्छिन्, ‘मलाई भने आफ्नो भोगाई र बुझाईको आधारमा जीवन पानी हो जस्तो लाग्छ । …एउटा मुहानबाट सुरु हुने पानीले खोल्सा, खहरे, नदी हुँदै अनेकौ अवरोहका पहाडहरु छिचोलेर समुन्द्रसम्मको यात्रा तय गर्छ । यात्राका दौरान पानीले धर्तीलाई सिञ्चित गरी उब्जनीमा सरिक हुँदै, तिर्खा मेटाउँदै अघि बढ्छ । समुन्दबाट फेरि बाफ बनेर धर्तीमा बर्सिन्छ ।

झरीलाई साहित्य र सिनेमामा दुई फरक बिम्वको रुपमा प्रयोग गरिन्छ । कहिले यो दुःखको बिम्व बन्छ, कहिले रोमाञ्चकताको । झरी त एकै हो, तर यसले कसरी दुई विपरित भाव प्रस्तुत गर्छ ?

राधिका शाक्यको जीवन–संगालो ‘करुणा’मा यसको पारदर्शी जवाफ छ । पुस्तकको तेस्रो अध्यायमा लेखिएको छ, ‘खियाले ढाकेको टिनको छाना थियो । हावाले नउडाओस् भनेर बा र ठूलाबाले छानामा ढुङ्गाले थिच्नुभएको थियो । पानी पर्दा चुहिन्थ्यो ।’

उनको घर–परिवारका लागि झरी कुनै रोमाञ्चक अनुभूति थिएन । बरु विपत्तीको सूचक थियो । ‘ओत बलियो भएको घरको झ्यालबाट हेर्दाखेरी झरीको दृश्य रमाइलो लाग्छ’ उनले लेखेकी छिन्, ‘तर, चुहिने छानोमुनी बसेर थाल–बटुका थाप्नुका बाध्यताबीच झरी रमाइलो लाग्दैन ।’

झरीको त्यो दुई भेदले मान्छे कुन कित्तामा छ भन्ने देखाउँछ ।

यही बर्गिय धरातल झल्काउने बिम्व नै पुस्तकको महत्वपूर्ण खण्ड हो, जहाँबाट राधिका शाक्यको जीवनरेखा कोरिएको छ । दुःख, अभाव, रोगव्याधि, अपहेलनाको सतहमा उँभिएर उनले कुन विन्दुबाट संघर्ष गरिन् ? पुस्तकले सिलसिलाबद्ध त्यसैको फेहरिस्ता सुनाउँछ ।

यद्यपि यो पुस्तक आँशुको कथा होइन । बरु निरासा, पीडा, कष्ट, अभावसामु नहारेको कथा हो । खासमा त सहास र संघर्षले कोरेको समुन्नतीको कथा हो ।

पुस्तकको शीर्षक छ, ‘करुणा’ । यो राधिका शाक्यको आत्मवृत्तान्त मात्र होइन, हिम्मत र आशा जगाइराख्ने पोषिलो क्याप्सुल पनि हो । किनभने उनले जीवनमा यति धेरै दुःख र समस्याहरुसँग पैठेजोरी खेल्दै सफलताको उचाई नापेकी छिन्, जुन भनिसाध्य छैन ।

झट्ट हेर्दा त के लाग्छ भने उनी अति विशिष्ठ घरानामा छिन् । मुलुककै कार्यकारी प्रमूखकी श्रीमती हुन्, जसको वरीपरी वैभव र विलासिता मात्र छ । त्यो पनि काठमाडौं जस्तो शहरमा जन्मी–हुर्केकी केटी । नेवार परिवारको छोरीचेली ।

तर वास्तविकता त्यस्तो छैन । दुःखको पिँधबाट उनको जीवन सुरु हुन्छ र संघर्षमय उतारचढावमै समयहरु गुज्रिन्छ । उच्च तहका नेता एवं पटक–पटक प्रधानमन्त्री भइसकेका विशिष्ठ व्यक्तिका श्रीमती भएर पनि उनको भागमा ऐश र आरमको जीवन छैन । न त सत्ता र शक्तिको प्रयोग गर्दै कुनै लाभ उठाएकी छिन् । कतिसम्म भने, श्रीमान परराष्ट्रमन्त्री भएर विदेश भ्रमण गइरहँदा उनी भने टेम्पु चढेर बैंकको जागिर खान ओहोर–दोहोर गरिरहेकी थिइन् । त्यसबेला उनलाई देखेर धेरैको टिप्पणी हुन्थ्यो, ‘तिमी त कस्तो मुर्ख मान्छे रहेछौं ।’

सरल र बोलीचालीको भाषामा लेखिएका पुस्तकले केपी सर (उनकै भाषामा)को जीवनलाई पनि अर्को पाटोबाट देखाइदिएको छ । पटक–पटक मृत्युको नजिक पुगेर फर्किएको प्रसंगहरु पढिरहँदा यस्तो लाग्छ, संसारमा भएभरको रोग जति केपी सरकै भागमा परेको छ ।

जति जति पुस्तकको पाना पल्टाउँदै गइन्छ, उत्तिनै उनको सरलता, सादगी र सहृदयी जीवन प्रकट हुँदै जान्छ । र, उत्कर्षमा पुगेपछि यस्तो लाग्छ, मानौं उनी संसारको सम्पूर्ण सुख–दुख समेटेर बसेकी एक विराट धर्ती हुन् । सहनसिलताको दृढ उदाहरण हुन् ।

त्यसो त आत्मवृत्तान्तको सबैभन्दा ठ्रूलो जोखिम भनेको त्यहाँ लेखकको बढाईचढाई हो । लेखकले आफूखुसी आफ्नै वृत्तान्त सुनाउन पाउने सुविधा भएकाले पनि उनीहरुले आफ्नो जीवनलाई शृंगारपटार गरेर प्रस्तुत गर्न सक्छन् । तर, राधिका शाक्यको यो पुस्तक गुणगानले भरिएको चिप्लो अक्षरहरुको थुप्रो होइन । बरु नवरसले युक्त सहास र संघर्षको पठनिय विवरण हो ।

पुस्तकले कहिले भावुक बनाउँछ, कहिले रोमाञ्चक पनि । कहिले गंभिर बनाउँछ, कहिले हिम्मतिलो पनि । सरल र बोलीचालीको भाषामा लेखिएका पुस्तकले केपी सर (उनकै भाषामा)को जीवनलाई पनि अर्को पाटोबाट देखाइदिएको छ । पटक–पटक मृत्युको नजिक पुगेर फर्किएको प्रसंगहरु पढिरहँदा यस्तो लाग्छ, संसारमा भएभरको रोग जति केपी सरकै भागमा परेको छ ।

दुखाई, रोग, औषधि, अस्पतालको चक्करमा केपी सरको जीवनले फन्को लगाइरहन्छ । जतिसुकै पीडाको क्षणमा पनि, जतिसुकै जटिलतामा पनि धैर्यता र आत्मविश्वास नगुमाउने कथाले पाठकलाई हिम्मत दिलाउँछ ।

केपी सरलाई पहिलो पटक मिर्गौला प्रत्यारोपणका लागि लैजादै गर्दाको प्रसंग उल्लेख गर्दै पुस्तकमा लेखिएको छ, ‘ह्विलचियरमा राखेर अपरेशन थिएटरभित्र लैजाँदै गर्दाको दृश्यले मन असाध्यै भारी भयो । ..जब म उहाँलाई डाक्टरहरुको जिम्मा लगाउँदै थिएँ, उहाँको अनुहारमा एक किसिमको निश्चलता थियो । आँखामा आत्मविश्वास थियो ।’

यो पुस्तकको एउटा खण्ड नै रोगब्याधि, शारीरिक पीडा, अस्पताल, उपचारको सेरोफेरोमा घुमेको छ । एउटा रोग निको भएर घर फर्किएको समय बित्न नपाउँदै अर्को रोगले गाँज्छ । आपतकालिन र शल्यक्रिया कक्षबाहिर उँभिएर डाक्टरको मुखबाट ‘सरी वा कङ्ग्य्राचुलेशन’ सुन्नुपर्ने भयले मन छटपटिएका छन् । कहिले काहीँ त के लाग्छ भने, राधिका शाक्यको जीवन नै पीडाहरुको अनन्त शृंखला हो ।

तर, यस्तो जटिलतामा पनि केपी सरको दृढ अनुहार देखेर उनले हिम्मत बटुलेकी छिन् । पुस्तकमा एक ठाउँ लेखिएको छ, ‘केपी सर जहिले पनि निर्भीक र आत्मविश्वासी मान्छे । हरेक अप्ठ्यारा परिस्थिती बितेर जान्छन् भन्नेमा उहाँ ढुक्क देखिनुहुन्छ ।’

प्रधानमन्त्रीकी पत्नी भएको नाताले उनको जीवन विलासीपूर्ण थियो कि भन्ने अनुमानलाई यो पुस्तकले पूर्णत खारेज गर्छ । आफ्नै दुःखसँग जुधेर बल्लतल्ल सरकारी जागिर खाएकी उनले केपी सरसँगको घरजामपछि अर्को दुःखको महाभारत खेपेकी छिन् ।

साँघुरो डेराको बास, राजनीतिक जीवनले खडा गरिदिएको अस्तव्यस्तता, प्रहरीसँगको लुकाछिपी आदिले गर्दा उनीहरुले कहिल्यै निजी जीवन बिताउने मौका पाएनन् । दम्पतीबीचको रसरंग पूर्ण क्षणहरु आएनन् । सन्तानसुख प्राप्त भएन । आफूलाई त्यागेर सार्वजनिक जीवन बाँच्नुपर्‍यो । आफ्ना खुसी, सुख, उमंग सबै त्यसैमा समाहित गर्नुपर्‍यो ।

राधिका शाक्या ‘भाग्यवादी’ होइनन् । तर, राज्यकै उच्च तहका व्यक्तिको श्रीमती भइरहँदा पनि उनको भाग्य बक्ररेखामा दौडिएको आभाष हुन्छ ।

पुस्तकको प्रारम्भ नै उनको रोगी शरीरबाट भएको छ । अभावग्रस्त परिवार, ओसिलो घर । त्यसमाथि जेठी छोरी ओछ्यानमा थलिएकी छिन् । अज्ञात रोगले उनको शरीरमा हाडछाला मात्र बाँकी राखेको छ । औषधि गर्ने खर्च त के साँझ–बिहान छाक टार्ने अन्न पनि छैन ।

यस्तो परिस्थितीमा एउटा विवश पिताले आफ्नो सम्पूर्ण दुःखहरु लुकाएर छोरीका लागि गरेको त्याग र समर्पणको कथाबाट यसको पहिलो अध्याय सुरु हुन्छ । चरम अभावका ती दिनहरुमा पनि एउटी छोरीको ज्यान बचाउन पिताले कहिले बैद्य, कहिले झांक्री, कहिले अस्पतालको फन्को लगाइरहन्छ । रोगी छोरीलाई काँधमा बोकेर यसरी हिँडिरहँदा उनका पैतला कति पोल्यो होला, मन कति पोल्यो होला ? त्यो बेहिसाब वर्णनले पाठकको मन पगाल्छ ।

उनका पिता लुगाफाटो सिलाएर जेनतेन छाक जुटाउथे ।

‘त्यसबेला बाको हात नचल्दा परिवारमा हातमुख जोड्नै समस्या हुनेरहेछ । दिनभरी चलाउनुपर्ने कल रोकेर मलाई पिठ्युँमा बोकेर उपचारका लागि बाले दौडधूप नगरेको भए मेरो ज्यानै जान सक्थ्यो । उहाँले जीविकाको साटो मेरो जीवन रोज्नुभयो’ पुस्तकमा पिताको स्मरण यसरी गरिएको छ, ‘रोगले सिथिल भएको मेरो शरीरका लागि बाको पिठ्युँ दर्बिलो आडभरोसा थियो । बाले मलाई बोकेर उपचारको लागि भौतारिदा म उहाँको पिठ्युँको न्यानो स्पर्शमा सुस्ताउथेँ । मेरो बिमार निको हुनुमा जति औषधिमुलोले काम गरेको छ त्योभन्दा बढी बाको माया, स्नेह र हेरचाहले गरेको छ ।’

यस्तै एउटा अध्यायमा उनले आफ्नी आमाको वर्णन गरेकी छिन् । आफ्ना गाँसहरु कटाएर सन्तानका लागि बाँचेकी आमा कति विवश र महान् थिइन् ? पुस्तकमा उल्लेख छ । चाडपर्व आउँदा आमाले आफ्नो कानको मुन्द्रा बेच्दै गर्जो टारेको प्रसंगले पाठकलाई भावुक बनाउँछ । उनले लेखेकी छिन्, ‘आफ्ना इच्छा आंकक्षा र चाहनालाई तिलाञ्जली दिएर आमाले बालाई साथ दिनुभएको हो । हामीलाई हुर्काउनुभएको हो । आमाको माया, समर्पण र बलिदानको वर्णन गर्ने शब्द मसँग छैनन् ।’

३ सय २ पृष्टको मोटो पुस्तकको सुरुवात राधिका शाक्याको सुसुपाल (सुकेको ज्यान) शरीरको कथाबाट हुन्छ । त्यसपछिका पानाहरु पल्टाउँदै जाँदा उनको संघर्ष र सफलताको चरणहरुमा प्रवेश हुन्छ ।
त्यो कस्तो जमाना भने, पढ्नुपर्छ भन्ने चेत नै नभएको । त्यसमाथि छोरी मान्छेका लागि शिक्षा वा विद्यालयको कुनै औचित्य नदेखेको युग । तर जीवन आफैमा अनौठो संयोगहरुको संग्रह हो । यस्तै संयोग जुर्छ, राधिका शाक्यलाई पनि ।

एकदिन भामा दिदीले उनका बालाई भन्छिन्, ‘ए चिरी दाई, तपाईंले छोरीलाई किन स्कुल नपठाएको ?’ भामा दिदीले यो प्रश्न नगरेको भए सायदै राधिका शाक्यले विद्यालयको आँगन टेक्ने थिइन् । सायदै अक्षर चिन्ने थिइन् । ‘जाँगर भएर होइन, भामा दिदीको कुरा काट्न नसकेर बाले मलाई भोलिपल्ट स्कुल लैजानुभएको थियो’ पुस्तकमा त्यस दिनको स्मरण यसरी गरिएको छ । तर, कक्षा ७ मा पुगेपछि उनलाई अज्ञात रोगले च्याप्न थाल्यो र विद्यालयको पढाईमा अल्पबिराम लाग्यो ।

लामो समयको दौडधूपपछि जसोतसो उनी निको भइन् । एकफेरी घरको भर्‍याङ उक्लदै गर्दा छिमेकीको घरबाट यस्तो आवाज आयो, ‘त्यो चिरिभाइको घरमा त कोही पढेको पनि छैन । पढेको मान्छे घरमा भए पो बुद्धि हुनू ।’

हुन त यो कसैको गाली थियो वा अपहेलनाको शब्द–बाण । तर, यसलाई राधिका शाक्यले जीवन–उर्जाको रुपमा प्रयोग गरिन् । ‘अब त पढ्नैपर्छ’ भन्ने दृढताले उनलाई विद्यालयतर्फ डोहोर्‍यायो । आदर्श कन्या निकेतन मङ्गलबजारमा भर्ना भएपछि उनले एकातिर पढाई जारी राखिन्, अर्कोतिर खर्चको जोहो गर्न ‘क्यूरिओ’को काम गर्न थालिन् । अन्ततः अभावको त्यो तहबाट उठेर लड्दै–पढ्दै अगाडि बढिन् ।
एसएलसीको नतिजा प्रकाशन भएपछिको प्रसंग यहाँ उल्लेख्य हुन्छ । ‘ए चिरिभाई एसएलसीको रिजल्ट भयो नि हिजो’ मोहनचन्द्र सरले परबाट बाको पसल अगाडि पुगेर भन्नुभयो ।

‘हाम्रो राधिका पास भयो त ?’ बाले सियोमा धागो छिराउँदै सोधे ।

शिक्षकको जवाफ यस्तो थियो, ‘पास ? पास हो त फस्ट डिभिजिन ल्यायो । फस्ट ।’

पास भयो भन्दा बाको मुहारमा खुसी छायो । स्कुलकै नाम राख्यो राधिकाले भन्दा बाका आँखामा आँसु आए । खै के सम्झिनुभो ? बा त हिक्कहिक्क गरेर रुन पो थाल्नुभयो । बा निकैबेर रुनुभयो त्यो दिन ।’

जति जति पुस्तकको पाना पल्टाउँदै गइन्छ, उत्तिनै उनको सरलता, सादगी र सहृदयी जीवन प्रकट हुँदै जान्छ । र, उत्कर्षमा पुगेपछि यस्तो लाग्छ, मानौं उनी संसारको सम्पूर्ण सुख–दुख समेटेर बसेकी एक विराट धर्ती हुन् ।

क्याम्पसे जीवन सुरु भएसँगै उनले राष्ट्र बैंकमा करार सेवामा नियुक्ती पाइन्, प्रतिस्पर्धाबाट । यसरी जागिर गरेपछि घरको आर्थिक बोझ केही हल्का त भयो तर यतिबेलासम्म उनको जीवनमा राजनीतिको रंग चढिसकेको थियो ।

अभाव र गरिबीसँग लाप्पा खेलिरहँदा उनमा बिद्रोहको भाव जागिसकेको थियो । त्यही बिद्रोही भावले उनलाई नजानिदो ढंगले राजनीतिमा उन्मुख गराएको थियो । पुस्तकको सातौं खण्डबाट उनको राजनीति र रोजगारी समानन्तर रेखामा अगाडि बढ्छ ।

पुस्तकमा अब एउटा नयाँ मोड आउँछ । त्यहाँ लेखिएको छ, ‘विसं. २०४४ साल फागुन १० गते प्रधान सहायकको पदमा लिखित परीक्षामा पास हुनेहरुको अन्तवार्ता थियो । त्यही दिन पार्टीको आयोजनामा कुपण्डोलमा हाम्रो बिहेको तयारी थियो । एकातिर बिहे हुँदैछ, अर्कोतिर त्यही दिन जागिरको अन्र्तबार्ता । म एकदम द्विविधामा थिएँ ।’

उनी नेवारकी छोरी, जसको विवाह खड्कप्रसाद ओलीसँग हुनेवाला थियो । त्यो पनि खास औपचारिकता, तामझाममा होइन । पार्टीका सहयात्रीहरुको उपस्थितीमा । उनीहरुले प्रेम गर्न पाएकै थिएनन्, परम्परा अनुसार मागी विवाह गर्ने फुर्सदै थिएन । अनायस जुरेको संयोग थियो यो ।

‘जीवनभर विवाह नै नगरी बस्छु’ भन्ने मनासयमा रहेकी राधिकालाई केपी ओलीको व्यक्तित्व होइन बोलीले एकै झमटमा प्रभावित बनाएको थियो । त्यो बोली यस्तो थियो, ‘मेरो नाम केपी ओली । ज्यान यही हो । मसँग सम्पतिको नाममा केहीपनि छैन । मैले तिमीलाई एउटा धागोको धरो पनि किनेर दिन सक्दिँन ।’

यति स्पष्ट र काँचो मान्छे देखेपछि संभवत उनी विवाहको निर्णयमा पुगिन् । १४ बर्ष जेल जीवन बिताएर भर्खरै फर्किएका केपी ओलीसँग केही नहुनु नै थुप्रै कुरा हुनु थियो । अन्ततः उनले राजीखुसीले केपी ओलीलाई जीवनसाथीको रुपमा अंगालिन् ।

केपी ओली श्रीमान भएपनि उनले ‘केपी सर’ भनी सम्बोधन गर्ने उल्लेख गरेकी छिन् । यस्तै केपी ओलीले पनि उनलाई ‘नानी’ भनेर बोलाउने गरेका रहेछन् । पुस्तकमा केपी ओलीको कतिपय आनीबानीबारे पनि लेखिएको छ, जुन बाहिर आएको थिएन । त्यसैले यो पुस्तक केपी ओलीलाई पारिवारिक आँखाले हेर्ने एउटा सानो आँखीझ्याल पनि हो ।

बालक जस्तो केपी ओली अफ्नै नीजि जीवनप्रति कति बेपर्वाह र लापरवाह छ भन्ने पनि यहाँ उल्लेख छ । समयमा खान खुवाउनु, समयमा सुत्न र उठाउनु, समयमा औषधि खुवाउनका लागि उनलाई निरन्तर निगरानी चाहिन्छ । बालबालिका भनेपछि हुरुक्कै हुने, सानो कुरामा पनि फुरुंग पर्ने, सधै जिज्ञासु रहने, हरेक कुरामा उत्तिकै निपूर्णतासाथ बोल्ने केपी ओली नयाँ लुगा हात पारेको दिन त्यही लुगा लगाएर सुत्ने गरेको रमाइलो कुरा पनि पुस्तकमा छ ।

विवाहपछि साँघुरो डेराको बास, मन्त्री निवासको अनुभव, राजनीतिक उथलपुथल, अस्पतालको चक्करको प्रसंगहरु जोडिएका छन् । पंञ्चायती व्यवस्था, दासढुंगा घटनामा पनि पुस्तकको केही खण्ड खर्चिएको छ ।

पुस्तकमा राधिका शाक्यले आफ्नी हजुरआमाको कथा पनि लेखेकी छिन्, जुन एकदमै मर्मस्पर्शी छ । सानो छँदा सेलरोटीलगायत खानेकुरा बोकेर आइरहने हजुरआमासँग उनीहरुको भावनात्मक गहिराई नबिर्सने खालको छ । एकदमै मायालु हजुरआमा घण्टौं हिँडेर उनीहरुको घरमा आइपुग्दा सुसी र उमंग एकसाथ भित्रिने गरेको बाल स्मृतिहरु पुस्तकमा छ । आफू जागिरे भएपछि उनले हजुरआमाको लागि एउटा स्विटर किनिदिएकी थिइन् । पहेंलो रंगको त्यो स्विटर हजुरआमाले एकदमै जतनसाथ लगाउने गरेकी थिइन् । ‘मेरी नातिनीले ल्याइदेको स्विटर कहिल्यै फुकाल्दिन’ भन्थिन् रे ।

उमेर ढल्कदै जाँदा स्वभाविक हो, उनको शरीर कमजोर र शिथिल भयो । एकदिन मुख धुनका लागि पोखरीको डिलमा पुगेको बेला उनी चिप्लिएर लडिन् । त्यही उनको निधन भयो ।

‘खबर सुनेपछि हामी हतार हतार गयौं । त्यहाँ हजुरआमाको पार्थिव शरीर निकालिदै थियो’ उनले पुस्तकमा लेखेकी छिन्, ‘त्यसबेला उहाँको शरीरमा उही पहेंलो स्विटर थियो ।’

जीवनमा यस्ता अनेकन वियोगको सामना गर्नुपर्‍यो, जसले आज पनि उनलाई अस्थिर र वेचैन बनाइरहन्छ । तर, जीवन कसको पो सोचेजस्तो हुन्छ र ? पुस्तकमा उनले लेखेकी छिन्, ‘मेरा जीवनमा पनि थुप्रै उतारचढाव आए । दुःख भोगियो । सुख पनि अनुभूत गरियो । धेरै कुरा चाहेर या नचाहेर सहन गरियो । सबै कुरा आफूले खोजेजस्तो, सोचोजस्तो भएनन् होला । ..कुनै कुरा पाउनु वा गुमाउनुभन्दा सहनशीलतासँग रमाउनु बढी हितकर भए ।’

पुस्तकको एउटा खण्डमा उनको सहृदयी मन उजागर हुन्छ । दुःख, विपतमा परेकाहरु देख्दा उनको मनमा आउने भाव र उठ्ने सहयोगी हातबारे लेखिएको छ । थुप्रै संघ संस्थामा गरेको सामाजिक योगदानको पाटो पनि यसमा समेटिएको छ ।

पुस्तकको भाषाशैली सहज छ । ससर्ती पढ्दै जाँदा त्यसका दृश्यहरु मस्तिष्कमा प्रकट हुँदै जान्छन् । जीवनको आरोह अवरोहमा एउटा घुम्ती पार भएपछि आउने अर्को घुम्ती कस्तो होला भन्ने उत्सुकताले पुस्तक छाड्नै मन लाग्दैन । हरेक पेजमा आउने नयाँ घटनाक्रमले मस्तिष्कलाई कसरत गराइरहन्ख्छ ।
यद्यपि कहिँ कतै साहित्यिक र विचारप्रधान भएजस्तो लाग्छ । राजनीतिक घटनाक्रम अलि बढी लेखिएको हो कि जस्तो लाग्छ । यद्यपि समग्रमा यो पुस्तक केवल राधिका शाक्यको जीवन वृत्तान्त मात्र नभएर संघर्ष, सहनसिलता, धैर्यता, जोश र हिम्मतको कथा पनि हो ।

पुस्तकः करुणा ।


प्रतिक्रिया