‘राइड सेयरिङ’ नियमावली खारेजीको माग गर्दै गण्डकीमा सार्वजनिक यातायात बन्द


गण्डकी । गण्डकी प्रदेश सरकारले ‘राइड सेयरिङ’ कम्पनीलाई वैधानिकता दिएको विरोधमा आज यातायात व्यवसायीले गण्डकी प्रदेशमा यातायात ठप्प पारेका छन् ।
सार्वजनिक यातायात बचाउ सङ्घर्ष समितिको आह्वानमा यातायात ठप्प पारिएको हो । प्रदेश सरकारले राइड सेयरिङ (नियमन र व्यवस्थापन) नियमावली स्वीकृत गरी यही जेठ १ गते प्रदेश राजपत्रमा प्रकाशन गरेको थियो । तर व्यवसायीले राइड सेयरिङ नियमावलीलाई प्रदेश सरकारले फिर्ता नलिएकाले गण्डकी प्रदेशमा सार्वजनिक यातायात सेवा बन्द गरिएको बताएका छन् ।
प्रदेश सरकारले सर्वोच्च अदालतको फैसलालाई आधार मानेर राइड सेयरिङ कम्पनीलाई वैधानिकता दिन नियमावली जारी गरेको जनाएको छ । सर्वोच्च अदालतले राइड सेयरिङ कम्पनीलाई उपभोक्ताको हक, श्रम र रोजगारीजस्ता मौलिक हकसँग जोड्दै कानुनी व्यवस्था गर्न आदेश दिएको थियो ।
यातायात व्यवसायीले भने सवारी तथा यातायात व्यवस्था ऐन २०४९ विपरीत रातो नम्बर प्लेट भएका सवारीसाधनले यात्रु बोक्न नपाउने भन्दै राइड सेयरिङको विरोध गर्दै आएका छन् ।
उनीहरूले नियमावली पूर्ण रूपमा खारेज, सार्वजनिक सवारी सञ्चालन विधि, आयात नीतिलगायत सम्बन्धमा प्रदेश सरकारको लिखित नीति ठोस हुनुपर्ने र सार्वजनिक यातायात क्षेत्रमा योगदानमा आधारित सामाजिक सुरक्षा कोष अनिवार्य लागू गर्नुपर्ने माग गरेका छन् ।