एनआरएनएद्वारा नयाँ बजेटको स्वागत, एनआरएनलाई नेपाली सरह लगानीको अधिकार दिन आग्रह

NepalOne १६ जेठ २०८२ १०:०८
प्रवास

काठमाडौँ, जेठ १६ — गैर आवासीय नेपाली संघ (एनआरएनए) ले आर्थिक वर्ष २०८२/८३ का लागि नेपाल सरकारले प्रस्तुत गरेको बजेटको स्वागत गरेको छ। संघले गैर आवासीय नेपालीहरूको पुँजी, ज्ञान र प्रविधिलाई नेपालको आर्थिक समृद्धिमा योगदान दिने दिशामा बजेटले सकारात्मक संकेत दिएको जनाएको छ।

उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले बिहीबार सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गरेको बजेटप्रति एनआरएनए आइसिसीले समर्थन जनाउँदै जारी विज्ञप्तिमा महासचिव बी.आर. लामाले विदेशमा बस्ने नेपाली मूलका व्यक्तिहरूलाई नेपालको धितोपत्र दोस्रो बजारमा कारोबार गर्न दिइने व्यवस्था स्वागतयोग्य रहेको बताए।

“यो नीतिले बैंकिङ, पर्यटन, जलविद्युत् लगायतका क्षेत्रमा लगानी विस्तार गर्न सहयोग पुग्नेछ, जसले नेपालको पुँजी बजारमा तरलता र आर्थिक स्थायित्व कायम गर्न मद्दत पुर्‍याउनेछ,” विज्ञप्तिमा उल्लेख गरिएको छ।

एनआरएनएका अनुसार बजेटमा गैर आवासीय नेपालीहरूको ज्ञान, सीप, पुँजी, प्रविधि र सञ्जाललाई राष्ट्रिय विकासमा उपयोग गर्ने, विदेशमा संकटमा परेका नेपालीहरूको उद्धार गर्ने, र कूटनीतिक पहललाई प्रभावकारी बनाउने जस्ता प्रावधानहरू प्रशंसनीय छन्।

तर संघले अझै सम्बोधन हुन बाँकी केही महत्त्वपूर्ण विषयहरूको पनि उल्लेख गरेको छ। विशेषगरी गैर आवासीय नेपाली नागरिकताको कार्यान्वयन, नेपाली सरह लगानी गर्न दिने व्यवस्था, श्रमिकहरूको सम्मान, बीमा तथा सुरक्षा जस्ता विषयहरूमा नेपाल सरकारले ठोस कदम चाल्नुपर्ने माग गरिएको छ।

“यी मुद्दाहरूमा सरकारसँग निरन्तर संवाद र सहकार्य गर्ने प्रतिबद्धता जनाउँदछौं,” विज्ञप्तिमा भनिएको छ, “बजेटको प्रभावकारी कार्यान्वयनका लागि एनआरएनएको साथ र समर्थन सधैं रहनेछ।”


प्रतिक्रिया