काँक्रोको बीउबाट मनग्य आम्दानी


पर्वत । पर्वतका विभिन्न गाउँमा काँक्रोेको बीउका लागि व्यावसायिक रुपमा खेती भइरहेको छ । किसानले काँक्रोको बीउबाट मनग्य आम्दानी लिन थालेका छन् । गत वर्ष फागुनको पहिलो साता लगाएको भक्तपुरे लोकल जातको काँक्रो पाकेर अहिले फाँटैभरि पहेँलपुर छ । अत्यधिक बढेको गर्मीसँगै कृषकलाई काँक्रोे टिपेर बीउ निकाल्न भ्याइनभ्याइ भएको हो ।
बिहादी गाउँपालिका–१ बाच्छा, फलेवास नगरपालिका–११ पाङराङ, वडा नं १० कुर्घा, वडा नं ७ लिमिठाना, वडा नं ६ देवीस्थान र वडा नं ५ खानीगाउँ तथा जलजला गाउँपालिका–४ खोलाखेत र वडा नं ७ धाइरिङका कृषकले व्यावसायिक रुपमा काँक्रोेको बीउ उत्पादन गर्दै आएका छन् । अनुकूल मौसम र हावापानीका कारण विगतका वर्षहरुमा भन्दा यस वर्ष काँक्रोेको उत्पादन वृद्धि भएको कृषि ज्ञान केन्द्र पर्वतले जनाएको छ ।
फलेवास नगरपालिका–११ पाङराङमा ७२ कृषकले व्यावसायिक रुपमा काँक्रोेखेती गर्दै आएका छन् । यो गाउँमा गत वर्ष बीउ बिक्रीबाट ६ करोड भित्रिएको र गत वर्षभन्दा यस वर्ष अझै उत्पादन बढ्ने स्थानीय बाबुराम भुसालले बताए ।
यस्तै बिहादी गाउँपालिका–१ बाच्छामा मात्रै कृषकले २०० रोपनी क्षेत्रफलमा बीउका लागि काँक्रोको खेती गरेका छन् । बाच्छामा बीउ काँक्रोको व्यावसायिक उत्पादनमा लागेको सिर्जनशील कृषक समूहले मात्रै १०० रोपनीमा काँक्रो लगाएको छ । कृषक समूहका अध्यक्ष शिवकुमार क्षेत्रीका अनुसार २८ कृषक उक्त समूहमा आबद्ध छन् ।
गत वर्ष काँक्रोको बीउ प्रतिकिलो १३ हजारका दरले बिक्री गरिएको थियो । अहिले पनि काठमाडौँ, पोखरा, बुटवललगायतका स्थानबाट काँक्रोको बीउको माग भइहेको छ । मूल्य भने तोकिएको छैन । कृषक क्षेत्रीले १७ रोपनी क्षेत्रफलको जग्गामा काँक्रोेको खेती गरी कम्तीमा पनि १०० किलोभन्दा बढी काँक्रोेको बीउ उत्पादन हुने बताए ।
यसैगरी जलजला गाउँपालिका–७ धाइरिङको सल्यानका कृषकले गत वर्ष काँक्रोेको बीउ बेचेर तीन करोड आम्दानी गरेका थिए । यस वर्ष अझै वृद्धि हुने अनुमान गरिएको स्थानीय टुङ्गनाथ आचार्यले बताए ।