आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने प्रधानमन्त्रीको दाबी

NepalOne १७ जेठ २०८२ १५:५३
बिशेष

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले व्यक्तिगत महत्वाकाङ्क्षा नभई राष्ट्रियहित, परिवर्तन र समृद्ध नेपाललाई ध्यान दिएर अघि बढेमा आगामी निर्वाचनमा एमालेको एकल बहुमत आउने बताएका छन् ।

नेपाल बुद्धिजीवी परिषद्को ११औँ राष्ट्रिय महाधिवेशनको शनिबार उद्घाटन गर्दै प्रधानमन्त्री ओलीले देशभित्र र बाहिरका अनेकथरी स्वार्थको टक्कर गर्नेहरुले मोर्चाबन्दी गरेर एमालेविरुद्धमा लागेर झण्डै दुई तिहाइमा पुगेको पार्टीलाई विभाजन गराए पनि त्यस स्थितिबाट अब पार्टी सुदृढ भइसकेको बताए ।

‘भविष्यमा पनि अयोग्य हुनेगरी प्रतिक्रियावादीहरुले मलाई साधारण सदस्यबाट पनि हटाएको घोषणा गरे । विचार र विकासको नायक पार्टीलाई सिध्याउँछु, धुलो चटाउँछु भने । यी सबै घेराबन्दी र मोर्चाबन्दीलाई पराजित गरेर एमाले फेरि मुलुकको लोकप्रिय पार्टी बन्यो’, अध्यक्ष ओलीले भने, ‘व्यक्तिगत महत्वाकाङ्क्षा छोडेर राष्ट्रिय हित र परिवर्तनको हित एवं समृद्ध नेपाललाई ध्यान दिएर अगाडि बढेमा एमालेको एकल बहुमत ल्याउन कसैले रोक्न सक्दैन । विभाजन हुँदा पनि हामी लोकप्रिय पार्टी बन्न सकेका छौँ । आज एमालेलाई सिध्याइदिन्छु र भित्तामा लगेर टाँसिदिन्छु भन्ने कसैको हैसियत छैन । त्यसकारण हामी मिसन २०८४ मा अघि बढेका छौँ । यसमा जो जहाँ छौँ, त्यहाँबाट योगदान गरौँ ।’

उनले देशमा सङ्क्रमणकालमा रहेको र देशले सही निकास खोजिरहेकाले देशको परिस्थितिमा सुधारका लागि बुद्धिजीवीको भूमिका रहने भएकाले त्यसअनुसार सक्रिय हुन आग्रह गरे । प्रधानमन्त्री ओलीले सही कुराको समर्थन गर्दा कसैले झोले भनेर आलोचना गरे पनि परिवर्तन र जनताको झण्डा बोक्न नछोड्न आग्रह गरे ।

‘म एमालेको झोले हुँ । यतिभन्दा एमालेको विरोधीहरुलाई चित्त बुझ्छ होला । म यो झोलामा देश र जनताको परिवर्तनको चाहनालाई बोकेर हिँड्छु । यसमा मलाई गर्व छ’, अध्यक्ष ओलीले भने ‘जेमा पनि खोट देख्ने तथा कथित आलोचनात्मक चेतबाट माथि उठ्नुस् । ढुक्क भएर राष्ट्रिय एकता र परिवर्तनको सही विचारलाई गौरवका साथ बोकेर हिँड्नुस् । तपाईंहरु बुद्धि बेचेर खाने वर्गमात्रै होइन, बौद्धिक वर्ग हो । देशलाई नोक्सान पार्ने र बेठिक गर्नेहरुको विरोध गर्नुस् । सही विचार बोक्नेहरुलाई अझ सुधारका लागि उपयुक्त सुझाव दिनुस् ।’

एमालेले राष्ट्रिय एकतालाई सर्वाेपरी ठान्ने स्पष्ट गर्दै उनले लोकतन्त्र र संविधानको रक्षा गर्नुपर्ने समयमा पृथ्वीपथका नाममा राजतन्त्र पुनःस्थापाको कुरा उठाउनु अप्रसाङ्गिक हुने टिप्पणी  गरे ।


प्रतिक्रिया