भूमि आयोगले कञ्चनपुरमा नापी गर्न थाल्यो


दोधारा चाँदनी (कञ्चनपुर), १८ जेठः भूमि समस्या समाधान आयोगले भूमिहीन र अव्यवस्थित बसोबासीको जग्गा नापीको काम सुरु गरेको छ ।आयोगले कञ्चनपुरका सबै पालिकामा नापी टोली गठन गरेर जग्गा नापीको काम गरिरहेको भूमि समस्या समाधान आयोगका अध्यक्ष नेत्रप्रकाश पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले नापीका लागि सबैै पालिकामा टोली खटिएको छ । नापी टोलीमा आयोगका २० जना अमिन र १३ जना सर्वेक्षक छन् भने स्थानीय पालिकाका २७ अमिन र छजना सर्वेक्षकले जग्गा नापजाँचको काम गरिरहेको उहाँले बताउनुभयो ।
“हामीले असारसम्ममा चार हजार लालपूर्जा वितरण गर्ने गरी काम गरिरहेका छौँ”, अध्यक्ष पन्तले भन्नुभयो, “यहाँका सबै पालिकामा नापी टोली गठन भएर जग्गा नापीको काम भइरहेको छ ।” उहाँले लालपूर्जाका लागि भूमिहीन दलित, भूमिहीन सुकुम्वासी र अव्यवस्थित बसोवासी गरी ७२ हजार ९३० निवेदन परेको बताउनुभयो । अध्यक्ष पन्तले यसअघि विघटन भएको आयोगले चार हजार ६५ सेतो लालपूर्जा बनेको बताउनुभयो । “असअघिको आयेगले बनाएको सेतो लालपूर्जाको अधूरो काम पनि गरिरहेका छौँ”, उहाँले भन्नुभयो, “सीमित स्रोत र साधनका बाबजुद पनि हामीले तीव्र काम गरिरहेका छौँ ।”
भीमदत्त नगरपालिकामा भूमिहीन दलित, नौ सय २२, भूमिहीन सुकुम्वासी आठ सय ८७ र अव्यवस्थित बसोवासी ६ हजारको लगत सङ्कलन गरिएको छ । त्यसैगरी बेदकोट नगरपालिकामा भूमिहीन दलित तीन सय ६, भूमिहीन सुकुम्बासी दुई सय पाँच र अव्यवस्थित बसोबासी नौ हजार २१ जनाको लगत सङ्कलन गरिएको छ । कृष्णपुर नगरपालिकामा भूमिहीन दलित ९९, भूमिहीन सुकुम्बासी एक सय र अव्यवस्थित बसोबासी पन्ध्र हजार ९६२ छन् ।
शुक्लाफाँटा नगरपालिकामा भूमिहीन दलित एक सय ९३, भूमिहीन सुकुम्बासी एक सय ५४ र अव्यवस्थित बसोबासी एघार हजार ४८९ जनाको लगत सङ्कलन गरिएको छ । आयोगका अनुसार दोधारा चाँदनी नगरपालिकामा भूमिहीन दलित एक सय ७६, भूमिहीन सुकुम्बासी दुई सय ६० र अव्यवस्थित बसोबासी तीन हजार ५६१ छन् । त्यसैगरी बेलौरी नगरपालिकामा भूमिहीन दलित एक सय १८, भूमिहीन सुकुम्बासी एक सय ८८ र अव्यवस्थित बसोबासी पाँच हजार तीन सय गरी पाँच हजार छ सय ६ को लगत सङ्कलन गरिएको छ ।
पुनर्वास नगरपालिकामा भूमिहीन दलित सात सय ७१, भूमिहीन सुकुम्बासी आठ सय ७५ र अव्यवस्थित बसोबासी ६ हजार ७६० रहेका छन् । बेल्डाँडी गाउँपालिकामा भूमिहीन दलित एक सय ९७, भूमिहीन सुकुम्बासी एक सय ९५ र अव्यवस्थित बसोबासीको चार हजार ४०३ छन् । आयोगका अनुसार लालझाडी गाउँपालिकामा भूमिहीन दलित २२, भूमिहीन सुकुम्बासी ९० र अव्यवस्थित बसोबासी चार हजार ४६९ जना छन् ।
यीमध्ये तीन सय सात परिवारले जग्गाधनी प्रमाण पूर्जा प्राप्त गरेका छन् । जसमा बेदकोट नगरपालिकाका ८५, कृष्णपुर नगरपालिकाका ९०, बेलौरी नगरपालिकाका २१, दोधारा चाँदनी नगरपालिकामा २४ र शुक्लाफाँटा नगरपालिकाका ८७ परिवारलाई यसअघि विघटित भूमि आयोगले जग्गाधनी प्रमाण पूर्जा वितरण गरिएको अध्यक्ष पन्तले बताउनुभयो । उहाँका अनुसार, आयोगले भीमदत्त नगरपालिकाका–४, १४, १५, ११ र १७ मा जग्गा नापजाँच गरेको थियो । त्यसैगरी बेदकोट नगरपालिकाको सबै वडामा एक हजार ९२४ हेक्टर जग्गा नापी गरिएको छ । कृष्णपुर नगरपालिकाका वडा नम्बर १, २, ४, ८ र ९ मा दुई हजार ३० हेक्टर जग्गा नापी भएको छ । शुक्लाफाँटा नगरपालिकामा वडा १, २, ३, ९ मा आठ सय १६ दशमलव ३८ हेक्टर जग्गा नापी भएको छ भने वडा १२ र १० मा नापी हुन बाँकी छ ।
दोधारा चाँदनी नगरपालिकामा–८ मा पाँच सय ५२ हेक्टर जग्गा नापी गरिएको छ भने वडा ५, ३, ९ र १० मा नापीको काम भइरहेको आयोगले जनाएको छ । त्यसैगरी बेलौरी नगरपालिकामा वडा ४, ८ र १० मा नापी सम्पन्न गरिएको छ । पुनर्वास नगरपालिकामा एक सय २४ हेक्टर जग्गा नापी भएको छ । बेलडाँडी गाउँपालिकाका सबै वडामा एक हजार चार सय हेक्टर जग्गा नापी भएको छ भने लालझाडी गाउँपालिकामा वडा ४, ५ र ६ मा २१ हेक्टर जग्गा नापी भएको छ ।