कमल थापालाई यहीँ ल्याएर छाड्नु भएन भने भोलिदेखि काठमाडौं उपत्यका बन्द सुरु गर्छौंः अध्यक्ष लिङ्देन

NepalOne १८ जेठ २०८२ १६:०४
प्रमुख खबर

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई तत्काल रिहा नगरे आन्दोलनको स्वरुप परिवर्तन गर्ने चेतावनी दिएका छन् ।

आइतबार दिउँसो काठमाडौंको नक्सालबाट राप्रपा नेपालका अध्यक्ष थापालाई पक्राउ गरेपछि अध्यक्ष लिङ्देनले ससम्मान रिहा नगरे भोलिदेखि आन्दोलन चर्काउने चेतावनी दिएका हुन् ।

उनले भोलिदेखि बन्दलगायतका विरोधका कार्यक्रम गर्ने घोषणासमेत गरेका छन् । उनले भने, ‘भर्खरै राप्रपा नेपालका अध्यक्ष कमल थापालगायतलाई पक्राउ गरिएको सुनेको छु । म नेपाल सरकार, गृहमन्त्री वा यहाँ कमाण्ड गरिराखेका प्रहरी प्रमुखसँग भद्रतापूर्वक मेरो आग्रह छ, तपाईंहरुले कमल थापालाई यहीँ ल्याइदिनुस् । होइन भने अरु साथीभाइलाई पनि काठमाडौं बाहिरबाट बोलाउँछौं । खास लडाईं यहीँबाट सुरु हुन्छ । अब हामी एक ठाउँमा भेला भएर होइन, ५० ठाउँबाट निस्किन्छौं ।
कमल थापालाई यही ल्याएर छाड्नु भएन भने भोलिदेखि काठमाडौं उपत्यका बन्द सुरु गर्छौंः अध्यक्ष लिङ्देन।’

उनले अब आफूहरु लाठी खानबाठ नडराउने बताए । उनले गणतन्त्रलाई जसरी पनि ढाल्ने बताए । राप्रपा, राप्रपा नेपालसहितका राजावादी दलहरुले राजसंस्था र हिन्दू राज्य पुनस्र्थापनाको माग गर्दै यही जेठ १५ गतेदेखि निरन्तर काठमाडौंमा प्रदर्शन गर्दै आएका छन् ।

नक्साल नारायण चौरमा पुगेको राजवादीको जुलुसमा प्रहरीले हस्तक्षेप गरेको थियो । जुलुस नारायण चौरबाट प्रधानमन्त्री निवास बालुवाटार क्षेत्र घेर्ने योजनासहित अघि बढ्न थालेपछि प्रहरीले हस्तक्षेप गरेको हो । त्यसक्रममा प्रहरीले राप्रपा नेपालका अध्यक्ष कमल थापालाई पक्राउ गरेको छ ।


प्रतिक्रिया