नेकपा एमालेले चलायो ‘म झोले’ अभियान


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले गत शनिबार काठमाडौंमा बुद्धिजीवी परिषद्को महाधिवेशनलाई सम्बोधन गर्दै जनता र राष्ट्रका हित बोकेर हिँड्ने ‘झोले’ हुनुमा गर्व रहेको बताएका थिए ।
उनले आफू जनताका झोला बोकेर हिँड्ने मान्छे भएको उल्लेख गर्दै जनताका झोला बोकेर हिँड्दा अलिकति पनि अप्ठ्यारो नलाग्ने बताएका थिए । आफूले कुनै सामन्तको झोला नबोकेको र कुनै सामन्तको दुई कौडी लिएर त्यसका पछाडि स्तुति गान गर्न नकुदेको भन्दै नेकपा एमालेको झोले भएको बताएका थिए ।
प्रधानमन्त्रीको भनाई थियो, ‘इतिहास नमर्काउने, नबंग्याउने, इतिहासलाई जस्ताको त्यस्तै राख्ने, इतिहासलाई सही बाटोमा अघि बढाउँदा म नेकपा एमालेको झोले हो । म यस देशका जनताको झोले हो । अब भयो चित्त बुझ्यो प्रतिक्रियावादीहरूलाई । म कबुल गर्छु, झोले हो । झोले हुनुमा गर्व छ, तर राम्रा कुरा बोकेर हिँड्नुमा गर्व छ ।’
प्रधानमन्त्रीको यो भनाईपछि एमालेले सोमबारदेखि सामाजिक सञ्जालमा ‘झोले’ अभियान चलाएको छ । अभियानअन्तर्गत प्रधानमन्त्री ओलीले आफ्नो तस्बिरमा ‘म झोले हो’ लेखेर फेसबुकमा राखेका छन् । प्रधानमन्त्रीसहित महासचिव शंकर पोखरेल, विष्णु रिमाल, विष्णु पौडेललगायत एमाले नेताहरुले आफ्नो तस्बिरमा म झोले अभियान चलाएका छन् ।
प्रधानमन्त्रीले लेखेका छन्, ‘हिजोआज एउटालाई भगवान बनाउनु पर्यो भने सामूहिकतामा विश्वास राख्नेहरुलाई पहिले झोले भनेर लखेटिन्छ र समाजलाई भीडमा बदलिन्छ । भीडसँग बल अवश्य हुन्छ, तर सत्य नहुन सक्छ। सामाजिक सञ्जालमा झोले भनेर खेदियो भन्दैमा सत्य अँगाल्न नछोडौं । सामूहिक र संगठित आक्रमणबाट हरेकले आफ्नो निजत्व जोगाउनु पर्छ।’