‘राजावादीविरुद्ध गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्छ’

NepalOne २० जेठ २०८२ १५:४३
प्रमुख खबर

काठमाडौं । राष्ट्रियसभाका सदस्यहरुले जनताको त्याग र बलिदानबाट स्थापित सङ्घीय लोकतान्त्रिक गणतान्त्रिक व्यवस्थाका विरुद्धमा भइरहेको व्यवस्था विरोधी गतिविधिप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका छन् ।

राष्ट्रियसभाको मंगलबारको बैठकको विशेष समयमा बोल्दै उनीहरुले केही व्यक्ति र समूहले विस्थापित भइसकेको व्यवस्थालाई फर्काउने दुस्प्रयास गरिरहेको भन्दै त्यसका विरुद्धमा गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्नेमा जोड दिए ।

नेपाल कम्युनिष्ट पार्टी (एमाले) का सांसद तुलसाकुमारी दाहालले व्यवस्था विरोधी प्रश्न उठाउर मित्थ्या आरोपप्रति प्रश्न उठाइनु सामान्य कुरा नभएको बताइन् । उनले समाजमा समय समयमा प्रकट हुने नकारात्मक सोच, संविधान व्यवस्थाप्रति फैलाइएको अफवाह सङ्घीय लोकतान्तिक गणतन्त्रको विरुद्धमा मित्थ्या आरोप लगाउने काम भइरहेकोप्रति गम्भीर ध्यानाकर्षण गराइन् ।

उनले भनिन्,’व्यवस्थाप्रति प्रश्न उठाइनु सामान्य कुरा हैन । विगतमा परिवर्तनका लागि आन्दोलन गर्ने दल, सत्ताको विभिन्न समयमा रही काम गर्ने राजनीतिक दल गम्भीर हुन, चिन्तन मनन गर्न आवश्यक छ, एक आपसमा हिलो छ्याप्न थाल्यौँ भने प्राप्त उपलब्धिको रक्षा गर्न सकिँदैन ।’

सांसद दाहालले सरकारले सदनमा बजेट प्रस्तुत गरिसकेको र अति आवश्यक विधेयक पनि यसै सदनमा ल्याउने प्रतिवद्धता जनाएकाले यसलाई सकारात्मक रूपमा लिनुपर्ने धारणा राखिन् ।

नेपाली कांग्रेसका सांसद कृष्णबहादुर रोकायाले सङघीय लोकतान्त्रिक गणतन्त्रान्त्रिक व्यवस्थाका विरुद्धमा सदन र सडकका माध्यमबाट कमजोर बनाउने प्रयास भइरहेको भन्दै व्यवस्था विरोधीका विरुद्ध एकजुट हुनुपर्ने बताए ।

उनले भने, ‘व्यवस्था ल्याउन कुनै योगदान र भूमिका नभएका व्यक्ति र समूहबाट बदनाम गराउने तथा वर्तमान संविधानलाई नै असफल बनाउने प्रयास भइरहेको छ । यसका विरुद्धमा गणतन्त्रवादी शक्ति एकजुट हुनुपर्छ ।’

सदनमा जिम्मेवार प्रतिपक्षीलगायत अन्य दलले सदन अवरोध गरिरहेको भन्दै उनले जनताको आवश्यकता र जिविकासँग जोडिएका विषयलाई सम्बोधन गर्न सहमति तथा सहकार्यबाट अगाडि बढनुपर्नेमा जोड दिए ।

सांसद रोकायाले त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयका एक कर्मचारीको विषयलाई लिएर गृहमन्त्री रमेश लेखकको राजीनामाको विषय ल्याइनु दुःखद् पक्ष हो भन्दै आरोपित व्यक्ति विरुद्ध उजुरी नै नपरेको विषयमा अनावश्यक राजनीतिकरण गरिएको आरोप लगाए । कर्मचारीले गल्ती गरेको आरोपमा मन्त्रीले राजीनामा दिँदै जाने हो भने कस्तो संस्कार बस्ला भनी उनले प्रश्न गरे ।


प्रतिक्रिया