उद्योगमन्त्री भण्डारीसँग जोर्डनका गैरआवासीय राजदूत घानीको भेट


काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारीसँग नेपालका लागि जोर्डनका गैरआवसीय राजदूत युसुफ अब्देलघानीले शिष्टाचार भेट गरेका छन् ।
मंगलबार भएको भेटका क्रममा मन्त्री भण्डारीले सन् १९६५ मा कुटनीतिक सम्बन्ध स्थापना भए देखिनै नेपाल र जोर्डनबीच मैत्रीपूर्ण सम्बन्ध रहँदै आएको र राजदूत घानीको कार्यकालमा थप प्रगाढ हुने अपेक्षा व्यक्त गरे ।
उनले नेपाल र जोर्डनबीच भइरहेको सिमित व्यापार र नेपालको व्यापार घाटाका विषय उल्लेख गर्दै भविष्यमा व्यापार तथा लगानी बढाउन नेपालबाट कृषिजन्य वस्तुहरू निर्यात गर्ने र जोर्डनबाट मल आयात गर्न सकिने विषयमा सहकार्य हुन सक्ने विचार व्यक्त गरे ।
साथै, सन् २०२६ सम्म नेपाल अल्पविकसित राष्ट्रको सूचीबाट स्तरोन्नति हुने तयारी भइरहेकाले नेपालमा विदेशी लगानीको प्रचुर सम्भावना रहेको र नेपाल सरकारले लगानी प्रवद्र्धनका लागि विभिन्न नीतिगत, कानूनी तथा प्रकृयागत सुधार गरी लगानीमैत्री वातावरण निर्माण गरेको उल्लेख गर्दै जोर्डनबाट नेपालमा थप लगानी भित्र्याउन आह्वान गरे ।
नेपालले हालै मात्र सफलतापूर्वक सगरमाथा सम्वाद सम्पन्न गरेको विषय उल्लेख गर्दै मन्त्री भण्डारीले सम्वादको मुख्य सन्देश विश्वव्यापि साझा वस्तुको संरक्षणका लागि सबैको सामुहिक कार्य जरूरी रहेको र जोर्डनको समेत यो एक प्राथमिकताको क्षेत्र भएकाले दुई देशबीच यो विषयमा पनि सहकार्य र सहयोग हुनेसक्ने बताए ।
छलफलका क्रममा नेपालका लागि जोर्डनका गैरआवसीय राजदुत अब्देलघानीले नेपाल र जोर्डनबीच धेरै आयाममा समानता रहेको र आफ्नो कार्यकालमा द्विपक्षीय सम्बन्धमा बलियो बनाउन प्रयास गर्ने बताए ।
दुई देशबीच कुटनीतिक, व्यापारिक तथा लगानी सम्बन्धलाई थप प्रगाढ बनाउन सरकारी र व्यापारिक प्रतिनिधिबीच आदानप्रदान भ्रमणहरू, सांस्कृतिक भ्रमण आदान प्रदान, व्यापार तथा लगानी प्रवद्र्धनका लागि संयुक्त समितिको स्थापना गर्नु पर्नेमा जोड दिए ।
नेपालको लागि जोर्डन श्रम बजारको एक प्रमुख गन्तब्य हुनसक्ने आँकलन गरी निर्माण उद्योग, तयारी पोशाक लगायत क्षेत्रमा प्रचुर सम्भावना रहेको समेत औंल्याए । दुई देशबीचको सम्बन्धलाई थप प्रगाढ बनाईराख्न मन्त्रालयले पूर्णरूपमा सहयोग गर्ने विश्वास समेत व्यक्त गरे ।
मन्त्री भण्डारीले द्विपक्षीय सम्बन्धलाई थप सुदृढ बनाउन र व्यापार तथा लगानीको दायरा बढाउन राजदुत घानीको महत्वपूर्ण भूमिका रहने अपेक्षा गर्दै सफल कार्यकालको शुभकामना व्यक्त गरे ।