स्वदेशी उत्पादन वृद्धि गरी निर्यात बढाऔँ: उद्योगमन्त्री भण्डारी

NepalOne २२ जेठ २०८२ २२:०५
राजनीति

बैतडी, २२ जेठः उद्योग, वाणिज्य आपूर्तिमन्त्री दामोदर भण्डारीले सीमावर्ती क्षेत्रका उद्यमीले स्वदेशी उत्पादन वृद्धि गर्दै भारत निर्यात गर्नुपर्नेमा जोड दिनुभएको छ । आज बैतडीको देहिमाडौँमा आयोजित इण्डो–नेपाल अन्तरराष्ट्रिय व्यापार मेला उद्घाटन गर्दै उहाँले उद्यमीलाई उत्पादन वृद्धि गरी निर्यातमा जोड दिन आग्रह गर्नुभयो ।

सरकारले उद्योगमैत्री नीतिहरू लागू गरिरहेको बताउँदै युवा तथा महिला उद्यमीका लागि सहुलियतका कार्यक्रम ल्याएको उहाँको भनाइ थियो । सीमावर्ती भारतीय बजारबाट सामान प्रशस्त आयात भइरहेकामा सोहीअनुरूप निर्यातजन्य उत्पादनमा जोड दिन उद्यमीलाई आग्रह गर्नुभयो ।

मन्त्री भण्डारीले विकास निर्माणका आयोजना सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । नेपाल–भारत सिमानाका झुलाघाटस्थित महाकाली नदीमा मोटरेबल पुल निर्माणको प्रक्रिया अघि बढेको र आगामी दिनमा हुने प्रधानमन्त्री केपी ओलीको भारत भ्रमणका बेला थप प्रक्रिया अघि बढ्ने बताउनुभयो ।

उहाँले जिल्लाको आर्थिक, भौतिक तथा पर्यटकीय विकासका लागि आफ्नो ध्यान केन्द्रित भएको बताउनुभयो । आफूले जिल्लावासीसँग गरेका प्रतिबद्धता पूरा गर्न लागिपरेको मन्त्री भण्डारीको भनाइ छ ।

उहाँले बैतडीसहित सुदूरपश्चिम प्रदेश सम्भावनाको खानी भएको बताउनुभयो । “प्राकृतिक स्रोतसाधन, जैविक विविधता, पर्यटन सम्भावना, कृषि, ऊर्जा र पूर्वाधार विकासमा अपार सम्भावना बोकेको प्रदेश हो”, उहाँले भन्नुभयो, “स्रोतसाधनको उपयोग र जनसाङ्ख्यिक लाभांशका हिसाबले सुदूरपश्चिम प्रदेश अत्यन्त सम्भावनापूर्ण क्षेत्र हो, प्राकृतिक स्रोत र मानव स्रोतसँग सम्बन्धित विविध र आकर्षक लगानीका अवसर विद्यमान छन् ।”

यहाँ प्रशस्त वन स्रोत, वन उत्पादन, जडीबुटी तथा औषधिजन्य वनस्पति, खानी, जलस्रोत, कृषि क्षेत्रका लागि खेतीयोग्य जमिन र पशुपालनका सम्भावना छन् । यसको उपयोग गर्दै आर्थिक विकासमा जोड दिनु जरुरी छ । सरकारले उद्योगमैत्री बजेट ल्याएको मन्त्री भण्डारीको दाबी छ । इण्डो–नेपाल अन्तरराष्ट्रिय व्यापार मेला यही जेठ २६ सम्म सञ्चालन हुनेछ ।


प्रतिक्रिया