११३औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन श्रममन्त्री भण्डारी जेनेभा प्रस्थान


काठमाडौँ, २३ जेठ : श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारी ११३औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन जेनेभा प्रस्थान गर्नुभएको छ । आज साँझ नेपाली टोलीको नेतृत्व गर्दै मन्त्री भण्डारी अन्तरराष्ट्रिय श्रम सङ्गठनको आयोजना ११३औँ अन्तरराष्ट्रिय श्रम सम्मेलनमा भाग लिन त्यसतर्फ प्रस्थान गर्नुभएको हो ।
जेठको १९ देखि ३० गतेसम्म जेनेभामा ११३औँ अन्तरराष्ट्रिय श्रम सम्मेलन सञ्चालन हुँदै छ । यस अन्तरराष्ट्रिय श्रम सम्मेलनमा मन्त्री भण्डारीले प्लेनरी सत्रमा सम्बोधनका क्रममा अनौपचारिक श्रमलाई औपचारिकीकरण, सामाजिक न्याय प्रवर्द्धन, मर्यादित रोजगारी, नेपालको दसवर्षे आन्तरिक रोजगारीको योजना साथै मुलुकको दीर्घकालीन लक्ष्य र प्राथमिकताका विषयहरूलाई प्रस्तुत गर्नुहुने छ ।
सचिवालयका अनुसार मन्त्री भण्डारीले जेठ २६ गते प्लेनरी सेसनलाई विशेष सम्बोधन गर्ने कार्यक्रम छ । सोही दिन अन्तरराष्ट्रिय श्रम सङ्गठनका महानिर्देशक गिल्बल्र्ट एफ हाउङवो र मन्त्री भण्डारीबीच द्विपक्षीय छलफल गर्ने कार्यक्रम छ ।
त्यसैगरी, साउदी अरेबियाको अन्तरराष्ट्रिय मामिला उपमन्त्री डा तारिक अल हमदसँग नेपाल र साउदी अरबको श्रमसम्बन्धी विषयमा द्विपक्षीय छलफल गर्ने कार्यक्रम रहेको छ । जेठ २९ मा हुने सामाजिक न्यायसम्बन्धी विश्वव्यापी गठबन्धनको मञ्च कार्यक्रममा सहभागी हुने र विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ । जेठ ३० गते सभाको प्लेनरी सेसनको समापन सत्रमा सहभागी भई भ्रमण टोली स्वदेश फिर्ता हुने कार्यक्रम रहेको छ ।