नागरिकताको विषय खुला मनले समाधान गर्न एनआरएनएको आग्रह

NepalOne २६ जेठ २०८२ १५:२६
बिशेष

काठमाडौं । गैरआवासीय नेपाली संघले ‘नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक’ माथि आफ्ना सुझाव पेश गरेको छ ।

सोमबार संसदको राज्य व्यवस्था तथा सुशान समितिको बैठकमा संघले आफ्नो सुझाव पेश गरेको हो । बैठकमा संघका संस्थापक अध्यक्ष डा. उपेन्द्र महतोले नेपालीलाई नेपालसँग जोडिराख्न नागरिकता अतिआवश्यक रहेको बताए ।

डा. महतोले गैरआवासीय नेपालीहरू र ब्रिटिस गोर्खा सैनिकहरूलाई आफ्ना सन्तानहरूले नेपाललाई ‘विदेश’ नठानून् भन्ने गम्भीर चिन्ता रहेको उल्लेख गरे ।

उनले आफ्ना छोरा–छोरीहरूको मनमा नेपाललाई मातृभूमिको रूपमा स्थापित गर्न र आमाबुबाको जन्मभूमिप्रति भावनात्मक नाता कायम रहोस् भन्ने उद्देश्यले नागरिकताको व्यवस्था सहज ढंगले गरिनुपर्छ भन्ने विश्वास व्यक्त गरे ।

उनले गैरआवासीय नेपालीहरूलाई नागरिकता दिँदा कुनै अप्ठ्यारो नपर्ने स्पष्ट पार्दै भने, ‘हामीले हाम्रो जीवनकालमै नेपाल समृद्ध बनोस् भन्ने चाहना राखेका छौँ । गैरआवासीय नेपाली साथीहरू, ब्रिटिस गोर्खा साथीहरू सबैलाई एउटै चिन्ता छ — अब हामी २०–२५ वर्ष बाँच्छौँ होला, तर त्यसपछिका पुस्ताले नेपाललाई ‘विदेश’ नभनी, ‘यो मेरो मातृभूमि हो, मेरा आमाबुबा यहीँ जन्मनुभएको हो’ भनेर अनुभूति गरून् भन्ने चाहना हो । त्यसका लागि नागरिकताको विषय खुला मनले सहज रूपमा समाधान होस् भन्ने विश्वास लिएका छौँ ।’

डा. महतोले आर्थिक समृद्धि बिना सुशासन र दिगो विकास सम्भव नरहेको उल्लेख गर्दै, नेपाललाई समृद्ध बनाउन गैरआवासीय नेपालीको भूमिका महत्वपूर्ण हुने बताए । उनले भने, ‘त्यसका लागि गैरआवासीय नेपाली नागरिकताको पूर्ण कार्यान्वयन र सुनिश्चितता अपरिहार्य छ।’

यो विधेयक १५ माघ २०८१ मा प्रतिनिधि सभामा दर्ता गरेपछि प्रतिनिधि सभाले दफावार छलफलका लागि राज्य व्यवस्था तथा सुशासन समितिमा पठाएको थियो । दफावार छलफल अगाडि राज्य व्यवस्था समितिले एनआरएनएसहित सरोकारवालासँग छलफल गरेको हो ।

यसअघि गैरआवासीय नेपाली संघले आयोजना गरेको एनआरएन ग्लोबल कन्क्लेभ–२०२५मा समिति सभापति रामहरि खतिवडाले गैरआवासीय नेपाली नागरिकता सम्बन्धि छुट्टै विधेयक ल्याउने प्रतिबद्धता जनाएका थिए ।

छलफलमा संस्थापक अध्यक्षसहित गैरआवासीय नेपाली संघका सहकोषध्यक्ष कृष्ण प्रसाद तिमल्सेना समेत सहभागी थिए । त्यस्तै एनआरएनए अभियन्ता आरके शर्मा, रविना थापा, चिन्तामणि सापकोटा, संघका प्रमुख कार्यकारी अधिकृत (सिइओ) राजेन्द्रकुमार राउत र नागरिकता निरन्तरता कार्यदलका फोकलपर्सन सरोज दाहालको उपस्थिति थियो ।

यसैबीच संघका अध्यक्ष डा. बद्री केसीले समितिलाई संघका तर्फबाट लिखित रुपमै आफ्नो सुझावहरु पेश गरेकोले यसपटक सरकारले प्रतिबद्धता जनाएअनुरुप सकारात्मक प्रतिफल आउनेमा आफू विश्वस्त रहेको बताए ।


प्रतिक्रिया