बागलुङका सबै पालिका पूर्णखोप सुनिश्चित घोषणा

NepalOne २८ जेठ २०८२ २०:१६
जीवनशैली/स्वास्थ्य

 

ढोरपाटन । बागलुङका १० वटै स्थानीय तह पूर्णखोप सुनिश्चितता तथा दिगोपना भएको घोषणा गरिएको छ । चार नगरपालिका र छ गाउँपालिका रहेको बागलुङमा सबै पालिका पूर्णखोप घोषणा भएका हुन् ।

बागलुङ नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ६६३ जना नियमित खोप लगाइरहेको र १६ देखि २४ महिना उमेर समूहका चार ४४९ जनालाई खोप दिएपछि नगर पूर्णखोप सुनिश्चित नगर बनेको स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए । नगरपालिकाका १४ वटै वडाका स्वास्थ्य संस्थामा खोपको सुविधा रहेको उनको भनाइ छ ।

गलकोट नगरपालिकामा जन्मेदेखि १५ महिनासम्मका ४२७ जना बालबालिका र १६ देखि २३ महिनाका ३२७ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चित नगर घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख सुशील पौडेलले जानकारी दिए । पालिकामा १४ वटा स्वास्थ्य संस्था रहेको र ती सबै संस्थाबाट खोप दिने व्यवस्था मिलाइएको उनको भनाइ छ ।

त्यस्तै ढोरपाटन नगरपालिका पनि पूर्ण खोप घोषणा भएको छ । जन्मेदेखि १५ महिना उमेर समूहका ६०८ जना र १६ देखि २३ महिना उमेर समुहका ४५४ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको स्वास्थ्य संयोजक भूमिश्वर शर्माले बताए ।

गत माघ १ गतेदेखि खोजपड्ताल कार्यक्रम सुरु गरिएको र चैत र वैशाख महिनामा नौवटै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरिएपछि पालिका घोषणा गरिएको उनको भनाइ छ ।

जैमिनी नगरपालिकामा जन्मेदेखि १५ महिना उमेर समूहका ३१३ जना बालबालिका र १६ देखि २३ महिना उमेर समूहका २२६ जना बालबालिकालाई खोप दिएपछि नगरपालिकालाई पूर्णखोप सुनिश्चितता पालिका घोषणा गरेको स्वास्थ्य संयोजक गोविन्दप्रसाद शर्माले जानकारी दिए ।

जिल्लाको ताराखोला गाउँपालिकामा १५ महिना उमेर समूहका १२३ जना नियमित खोप लगाइरहेका र १६ देखि २३ महिना उमेर समूहका ७० जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित घोषणा गरेको स्वास्थ्य शाखा प्रमुख उदीत थापाले जानकारी दिए । पलिकामा छ वटा स्वास्थ्य संस्था रहेको र ती सबैबाट खोप सेवा दिइरहेको उनको भनाइ छ ।

बरेङ गाउँपालिकामा १५ महिना उमेर समूहका १३६ जना नियमित खोप लगाइरहेका र १६ देखि ५९ महिना उमेर समूहका ५०९ जनालाई खोप दिएपछि गाउँपालिकालाई पूर्ण खोप सुनिश्चित घोषणा गरेको स्वास्थ्य शाखा पदमबहादुर पुनःजानकारी दिए । गाउँपालिकाभर १० वटा स्वास्थ्य संस्था छन् ती सबैबाट बालबालिकालाई खोप दिने गरेको उनको भनाइ छ ।

त्यस्तै जिल्लाको सबैभन्दा दुर्गम मानिने तमानखोला गाउँपालिकालाई पूर्णखोप सुनिश्चित तथा दिगोपना पालिका घोषणा गरिएको छ । जन्मेदेखि १५ महिना उमेर समूहका १६३ जना र १६ देखि २४ महिना उमेर समूहका ११४ जना बालबालिकालाई खोप दिएपछि गाउँपालिकालाई पूर्णखोप सुनिश्चित पालिका घोषणा गरिएको हो ।

गाउँपालिकाका छवटै वडाका स्वास्थ्य संस्थाबाट बालबालिकालाई खोप दिँदै आएको स्वास्थ्य शाखा प्रमुख तिलबहादुर छन्त्यालले बताए । सुरुमा सबै वडालाई पूर्णखोप सुनिश्चितता घोषणा गरेको उनको भनाइ छ । राष्ट्रिय खोप तालिकाअनुसार तोकिएका उमेर समूहका बालबालिकाले सबै खोपकोमात्रा पूरा गरेको छन्त्याल बताउँछन् ।

काठेखोला गाउँपालिका पनि पूर्णखोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका २२७ जना र १६ महिनादेखि २३ महिना उमेर समूहका २०७ जना बालबालिकाले पूर्ण खोप लगाएसँगै काठेखोला गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरेको स्वास्थ्य शाखाका प्रमुख सोमराज पाण्डेयले बताए ।

जिल्लाको निसीखोला गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका ४५२ जना र १६ महिनादेखि २३ महिना उमेर समूहका ३७६ जना बालबालिकाले पूर्ण खोप लगाएसँगै काठेखोला गाउँपालिका पूर्णखोप सुनिश्चितता घोषणा गरेको स्वास्थ्य शाखाका प्रमुख जुनी घर्तीमगरले बताइन् ।

बडिगाड गाउँपालिका पनि पूर्ण खोप सुनिश्चितता तथा दिगोपना पालिका घोषणा भएको छ । गाउँपालिकाभित्रका जन्मेदेखि १५ महिना उमेर समूहका ४४० जना र १६ महिनादेखि २३ महिना उमेर समूहका ३५५ जना बालबालिकाले पूर्णखोप लगाएसँगै काठेखोला गाउँपालिका पूर्ण खोप सुनिश्चितता घोषणा गरेको स्वास्थ्य शाखाका प्रमुख विपेन्द्र केसीले जानकारी दिए । पालिकाभरका बडिगाडमा १५ वटा स्वास्थ्य संस्थाबाट बालबालिकालाई खोप दिने गरिएको उनको भनाइ छ ।

यही जेठ ३० गते बागलुङ जिल्लालाई नै पूर्ण खोप जिल्ला घोषणा गरिने प्रदेश जनस्वास्थ्य कार्यालय बागलुङका प्रमुख घनश्याम सापकोटाले जानकारी दिए । जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा गर्न तयारी भइरहेको उनको भनाइ छ ।


प्रतिक्रिया