नेपाल विद्युत् प्राधिकरणलाई खण्डीकरण वा निजीकरण दुवै गर्न नहुनेमा जोड

NepalOne ३० जेठ २०८२ २१:४२
अर्थ समाचार

काठमाडौँ, ३० जेठः नेपाल विद्युत् प्राधिकरणलाई खण्डीकरण वा निजीकरण दुवै गर्न नहुनेमा जोड दिइएको छ । आज यहाँ आयोजित प्राधिकरण कर्मचारी सङ्घको १३औँ अधिवेशन उद्घाटन समारोहका वक्ताले प्राधिकरणलाई खण्डीकरण वा निजीकरण गर्न नहुने धारणा राखेका हुन् ।

नेपाल ट्रेड युनियन कांग्रेसका कार्यवाहक अध्यक्ष तेजेन्द्र कार्कीले खानेपानी संस्थानलाई चार टुक्रा बनाउँदा अहिले काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल)का कर्मचारीले तलब पाउन नसक्ने अवस्था आएकाले प्राधिकरणलाई खण्डीकरण वा निजीकरण गर्न नहुने बताउनुभयो । साझा प्रकासनका कर्मचारीले तीन वर्षदेखि तलब नपाएको उल्लेख गर्दै उहाँले प्राधिकरणलाई सबल बनाएर लैजानुपर्नेमा जोड दिनुभयो ।

दुग्ध विकास संस्थान, उदयपुर सिमेन्ट कम्पनीलगायतले अहिले पनि अवकाश पाएका कर्मचारीलाई उपदान दिन नसकेको कावा अध्यक्ष कार्कीले बताउनुभयो ।

सार्वजनिक सेवा कर्मचारी सङ्घका अध्यक्ष राजेन्द्र दाहालले अहिले प्रभावकारी रूपमा सञ्चालन भइरहेका सार्वजनिक संस्थानलाई निजीकरण गरेर धरासायी बनाउन खोजिएको भन्दै आपत्ति जनाउनुभयो ।

ट्रेड युनियन कांग्रेसका उपाध्यक्ष राधिका कुइँकेल, महासचिव अजयकुमार राई, प्राधिकरण राष्ट्रिय कर्मचारी युनियनका अध्यक्ष रामेश्वर पौडेल, प्राधिकण कर्मचारी युनियनका अध्यक्ष रामकुमार थेवे, सङ्घका सहअध्यक्ष टङ्क अधिकारी, महासचिव धीमन्तराज न्यौपानेलगायत वत्तलाले प्राधिकरणलाई खण्डीकरण वा निजीकरण गर्न नहुने, यही जेठ ५ गतेसम्म सम्पन्न भइसक्नुपर्ने आधिकारिक टे«ड युनियनको निर्वाचन अहिलेसम्म हुन नसकेको, स्थायी कर्मचारीलाई पनि दुईथरि सेवा सुविधा दिइएकोलगायत विषयमा व्यवस्थापनको ध्यानाकर्षण गराउनुभएको थियो । अधिवेशनले नयाँ नेतृत्व चयन गर्ने जनाइएको छ ।


प्रतिक्रिया