पहिचानमा आधारित सङ्घीयता समावेशी र सशक्त राष्ट्र निमार्णको आधार होः अध्यक्ष यादव

NepalOne १ असार २०८२ २१:५१
राजनीति

धरान (सुनसरी), १ असारः जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादवले पहिचानमा आधारित सङ्घीयता सशक्त समावेशी र न्यायपूर्ण नेपाल निर्माणका लागि अनिवार्य रहेको बताउनुभयो ।

धरानमा आज जनता समाजवादी पार्टी लिम्बुवान् राष्ट्रिय समिति एकताको प्रथम अधिवेशनको उद्घाटन कार्यक्रममा अध्यक्ष यादवले विविधतामा एकता बोकेको नेपालको सफल भविष्य सुनिश्चित गर्न सबै जातजाति, भाषाभाषी र समुदायको समान सहभागिता आवश्यक रहेको धारणा राख्नुभयो । शासन प्रणाली, शिक्षा, प्रशासन र न्यायालयजस्ता राज्यका अङ्गहरुमा विविध समुदायको समानुपातिक प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने उल्लेख गर्दै समान अवसर र समावेशितामा आधारित शासन व्यवस्था नै सुदृढ लोकतन्त्रको जग रहेको बताउनुभयो ।

अझै पनि खस भाषाको एकाधिकार सरकारी कार्यालय र शिक्षण संस्थानमा कायम रहँदा सीमावर्ती अल्पसङ्ख्यक र ऐतिहासिक रुपमा पछाडि पारिएका समुदायको समुन्नति सुस्त भइरहेको जिकिर गर्दै उहाँले यसलाई समावेशी र पहिचानमूलक संरचनाबाट मात्र सुधार गर्न सकिने स्पष्ट पार्नुभयो । अध्यक्ष यादवले किरात लिम्बुवान् क्षेत्रको ऐतिहासिक पृष्ठभूमि नेपालको वर्तमान सीमाङ्कनभन्दा पुरानो रहेको उल्लेख गर्नुभयो ।

उहाँले भन्नुभयो, “राज्यको नीति तथा निर्णय प्रक्रियामा विविध समुदायका प्रतिनिधि उपस्थित हुनुपर्छ । जबसम्म सबै समुदायको आवाज प्रतिनिधत्व हँुदैन तबसम्म लोकतन्त्र अधुरो हुन्छ ।”


प्रतिक्रिया