उत्पादकत्व वृद्धि गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्छः उद्योगमन्त्री भण्डारी


ललितपुर । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उत्पादकत्व वृद्धि र रोजगारी सृजना गरेर मुलुकको अर्थतन्त्रमा योगदान दिन सक्नुपर्ने बताएका छन् ।
ललितपुर महानगरपालिकाद्वारा सोमबार एकान्तकुनामा आयोजित चौथो महिला उद्यमी सम्मेलनको उद्घाटन गर्दै मन्त्री भण्डारीले अरु देशका बजार नेपाल बन्ने समस्यालाई हामीले नेपालभित्रै साना, लघु र घरेलु उद्योगको प्रवद्र्र्धनबाट समाधान गर्नुपर्ने बताए ।
“हामी मेड इन नेपालको उत्पादनलाई खरिद गर्नेछौँ, हरेक जनप्रतिनिधि र कर्मचारीले पाउने पोसाक भत्ताले नेपाली उत्पादनहरु खरिद गर्नुपर्छ, हाम्रो दैनिक जीवनमा नेपालका उत्पादनले प्राथमिकता पाउनुपर्छ, हाम्रो उत्पादनको ब्राण्डिङ पहिलो प्राथमिकता हो, बजेटमा उद्यमशीलतालाई प्राथमिकतामा राखिएको छ, कानुन, विधि र नीतिगत रुपमा सम्बोधन गरेर उपलब्धि हासिल गर्नुछ, थुप्रै कानुनका सुधारहरु सरकारले गरेको छ, लगानीमा क्षेत्रहरु पहिचान गरेर प्राथमिकतामा राख्न सरकारले जोड दिएको छ ।”
मन्त्री भण्डारीले महिलाले सञ्चालन गर्ने उद्योगमा सरकारले कर छुटको सहुलियत दिएको छ भन्दै उद्योग मन्त्रालय नेपालको जिडिपीमा उद्योगको योगदान बढाउन नीति र कानुनमा सहुलियत दिने कुरामा ध्यान दिएर लागेको बताए ।
“बजेटमा रोजगारी सृजना गर्ने, उद्यमशीलता वृद्धि गर्ने, राष्ट्रिय आवश्यकता पूरा गर्ने विषयलाई समेटिएको छ, स्टार्टअप र रचनात्मक उद्यमशील परियोजनालाई रु २५ लाखसम्म दिने कार्यक्रम समावेश गरेका छौँ, महिलालाई उद्यमशीलतातर्फ आकर्षित गर्नुपर्छ”, उनले भने ।
ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले नेपालकै सबैभन्दा जेठो स्थानीय पालिकाले गर्ने काम अरु स्थानीय तहले अनुसरण गर्ने खालको हुनुपर्छ भन्दै यसका लागि सबै कर्मचारीले ध्यान दिएर कार्यसम्पादन गर्न आग्रह गरे ।